एकपटक सामान्य सम्झाइबुझाइले नमान्ने यो भुतको समाजलाई लातले नठोकेसम्म मानवसमाज बन्ने निश्चितता छैन । यस्तै अवस्थामा हामीले यो समाजलाई छोडिदियौँ भने भविष्यका हाम्रा सन्ततिलेले हामीलाई नै थुक्ने छन्, सराप्ने छन् । त्यसैले बातले नमान्ने भुतलाई सबै मिलेर लातले ठोकौँ ।
✍ कृष्णराज शर्मा
‘लातको भुत बातले मान्दैन’ भन्ने लोकोक्ति अग्रजहरूले त्यसै रचेजस्तो लाग्दैन । अर्थात्, जत्ति सम्झाए पनि नसम्झेपछि भौतिकरूपमा ठोकेपछि मात्र उसले सम्झन्छ अथवा अनुशरण गर्छ भन्नको लागि यो भनाइ अत्यन्त सान्दर्भिक छ ।
यो कुरा त्यतिबेलाको माओवादीलाई भलिभाँती थाहा थियो । चन्दा माग्ने बेलामा चिट्ठी पठायो वास्ता गर्दैन, फोनमा कुरा ग¥यो वास्तै छैन । सट्याकसुटुक अनेक उपाय गऱ्यो टेर्दै टेर्दैन । त्यसपछि उसले भौतिकरूपमै ठोक्न थाल्यो । फोन र चिट्ठीको भरले नमान्ने भुतहरूलाई ठोकेरै मान्न माओवादीले बाध्य बनायो । त्यसपछि त स्थानीय सुदखोर, दुई नम्बरीहरू, फटाहा र भ्रष्टहरूले माओवादीका लोकल प्युसाहरूलाई खोजी-खोजी डाँडाकाँडामा पुगेर पैसा बुझाउन थाले । त्यसपछि उसले जे भन्यो त्यहि मान्न थाले । कस्तो हुन्छ लातको कमाल देख्नुभयो ? कसरी भुतहरू ठेगानमा आउँछन् ?
वर्तमानमा सभ्य र सुसंस्कृत समाज भएका देशहरू पनि यस्तै हुन् । सबै विकसित देशहरूले अहिलेपनि उत्तिकै ठोक्ने गरेकाले ति देशहरू उदाहरणीय भएका छन् । शुरुमा कानुन पालना गराउँदा त ति देशले आफ्ना भुतहरूलाई कति ठोके.. ठोके । ठोक्नुसम्म ठोकेपछि ति देशका हरेक नागरिकको मनमा डर पस्यो । शासकको शासन र शासितहरू त्राहिमाम बनेको बेलामा हरेक थिति बसाले । भुतको समाजलाई मानव समाजमा बदले । अशिक्षित समाजलाई शिक्षित बनाए । अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सेजस्तै हरेकको मनमा तर्सो पस्यो । जसले गर्दा आज ति देशका प्रत्येक नागरिक अनुशासित बनेका छन्, साथै सबैले नियमकानुनको पूर्ण पालना गरेका छन् ।
यसरी आफ्ना नागरिकलाई ठोक्नसम्म ठोकेर ठाउँ-ठेगान लगाएपछि यसो गर्न हुन्न, उसो गर्नु हुन्न भन्दै उल्टै मानवअधिकारका कुरा सिकाउँछन् । नारीअधिकार, बालअधिकार, पशुअधिकारलगायत अनेक थरिका अधिकारका कुरा उनैले अरुलाई सिकाउँछन् । ठोक्नुसम्म ठोकेपछि न यतिकुरा भएका हुन् ! जहाँको समाज अनुशासनहीन र अराजक हुन्छ, त्यहाँ ठोकेरै लाइनमा ल्याउनुपर्ने रहेछ त !
‘इण्डिया’मा जति अनुशासन ‘हिन्दुस्थान’मा भएन, हिन्दुस्थानमा जति भारतमा भएन । किनकि बृटिशहरूले भुतहरूलाई ठोकठाक गर्दै अनेकौँ संरचना निर्माण गर्नेदेखि बलियो इण्डिया बनाए र, छाडिदिए । त्यहि बृटिश ठोकठाकको अवशेष भारतमा बाँकी नरहेको भए अहिलेको इण्डिया भेटाउन अझै कति पापड बेल्नुपर्थ्यो होला, अनुमान मात्र गर्न सकिन्छ ।
चीनले विश्वबजारमा मारेको छलाङ उसको उत्कृष्ट ठोकठाकको कमाल हो । सन् १९८९ मा तियानआन मेन स्क्वाएरमा नठोकेको भए चीनले आजको चमत्कार प्रदर्शन गर्न सक्ने थिएन । अहिलेको अमेरिकालाई आच्छु-आच्छु पार्न पनि सक्ने थिएन । अमेरिकाले त भुतलाई सम्झाएर काम गर भन्थ्यो । नठोक भन्थ्यो । तर चीनले त्यतिखेर लातले ठोक्यो र संसारमा आजको चीन बनेर जमजमाइरहेको छ । उसको मानवअधिकार उसैसँग छ । चीनको मावअधिकार चीनसँगै छ । छैन त ?
यति लामो बसाइ कामाण्डुमा मेरो जीवनमा कहिल्यै भएको थिएन; यसपालि भयो । हप्ता, दुई हप्ता, तीन हप्ताभन्दा बढी शायदै बसेँ हुँला ! यसपालि विदेशबाट आएर सिधै काठमाण्डुको लामो बसाइ बनेको छ । यसो पैदल घुम्छु कहिलेकाहीँ बसाइको वरिपरि । बाटोपारी बालेन नगरी छ, बाटोवारी अस्तव्यस्त छ । बालेन नगरीतिर धेरै कुरा सुध्रेको देख्छु । बालेन नगरीका सवारीमा केही थिति बसेजस्तो लाग्छ । सवारीको अन्धाधुन्धमा बौरने गाडीहरू केही हदसम्म ठेगानमा चलेजस्ता लाग्छन् । अन्य-अन्य धेरै कुरा पनि सुधारिएको लाग्छन् । सडकपेटीका उल्झनमा पनि उल्लेख्य कमी आएको रहेछ ।
यी नगरपिता बालेनको उपस्थितिले मात्रै यसो भएन । उनले ठोकठाक गर्ने काममा कठोर नबनेका भए यति पनि हुन असम्भव हुन्थ्यो । उनी नक्कली सुकुम्बासीदेखि विविधखाले भुतहरूसँग भिडे । नगरप्रहरीको टाउकै फुटाइयो । बालेन वेपर्वाह भुतहरूसँग भिडिरहे । लात बजाइरहे । अनि भुतहरू डराउन थाले । फलस्वरूप अहिले कंक्रिटमा गमला फुल्दैछन् । तिनै फूलमा सेल्फी झुल्न थालेका छन् । लाग्छ- बालेनको निर्भययुक्त दृढताले भरिएको एक्लो ‘बहादुरी’ले पक्कै केही गर्ला ! नगरभित्र पन्पिएका थुप्रै विकृति-विसङ्गति र भाँडभैलोका विरुद्ध ठोकठाक चलाइरहेकै छन् । प्रचलित कानुनबमोजिम पालन गर्नु र पालना गराउन पछि नपर्नु नै उनको ठोकठाक हो । कानुनमा मोलाहिजा नगर्नु पनि अर्को कठोर लात हो । बज्रप्रहार हो । हेर्दै जाऊँ, उनको बाँकी कार्यकालसम्म काठमाण्डुमा खास केही अवश्य हुनेछ ।
यसरी घुम्दाघुम्दै बाटोमा अरू पनि देखिन्छन् । बडे-बडे क्षेत्रफल ओगटेका सैनिक छाउनी, बाहिनी, गण तथा सैनिक स्मारक पनि भेटिन्छन् । स्वच्छ सफा हरियाली वाताबरणमा को रमाउन चाहन्न र ! यिनै सैनिक क्षेत्रवरपर पैदलयात्रामा घुम्दा ढुक्क र रमाइलो लाग्छ । यहाँ सुन्दर अनि लोभलाग्दा बाटिका देखिन्छन् । जति पनि बाटिका देखिन्छन् भेटिन्छन् संधै एकनासका हुन्छन् । बाटिकामा हुर्के-बढे-फुलेका बोटबिरुवामा कसैले छुस्स छोएका छैनन् । आर्मीको पोशाक नै यस्तो छ कि कसैले पनि झ्याप्प आँखा जुधाउन सक्दैन । ठोकठाकमा एक नम्वरमा आर्मी पर्छ भन्ने आम भुतनाथहरूलाई राम्रै थाहा छ । त्यसैले उनको उपस्थिति जहाँ–जहाँ छ हरकेही सुरक्षित हुन्छ । ठोकठाकको तर्सो नहुँदो हो त यस्ता सुन्दर हरियाली बाटिकाहरूलाई यी भुतहरूले के बाँकी राख्थे !?
राजाले अहिलेका मसाने भुतले जस्तै भारतसँग घुँडा टेकेका भए यी भुतले अहिलेसम्म बीस वटा पिण्ड चाखिसकेका हुन्थे । त्यसैको प्रतिफल बदमास भुतहरू आजसम्म जागा रहे, देश र जनतालाई दुःख दिइ नै रहे । देशको अस्तित्व नै संकटापन्न अवस्थामा पुऱ्याए । यिनै पिण्ड चाख्न नसकेका भुतका पिशाचहरू देशैभरि उत्पात मच्चाइरहेका छन् । कसैले जनप्रतिनिधिका नाममा उधुम मच्चाएका छन् त कसैले दलको ‘गाँस्य’बनेर सताइरहेका छन् । गुण्डा ठेकेदार डाइबरले वडा–वडामा सताएका छन् । यिनीहरको लुटपाटको रजाइँ जनताले चुपचाप पचाइरहेका छन् । शासनमा रहनेले आफूअनुकुलका अपराधीहरूलाई जस्तासुकै अपराध गरेपनि दण्डसजाएको साटो थप प्रोत्साहन गरेको छ । दण्ड सजाए त परको कुरा दुरुत्साहनसम्मको पहल गर्दैन । सहने भुत र मनपरी गर्नेका विरुद्ध यस्तो परिस्थितिबाट छुटकारा पाउन ठोकठाक गर्ने अवस्थाको श्रृजना नगर्ने हो भने अझ छिटो देश रित्तिने छ । ठुलासाना भुतहरूलाई राम्रैसँग लातले नठोकेसम्म देश र जनताले कहिल्यै सुख पाउने छन्द जुनसुकै कोणबाट हेर्दा पनि भेटिँदैन ।
अन्तमा, जसरी सामान्य वागबगैँचा बाटिका उद्यानहरूको सुरक्षामा पनि सैन्यशक्तिको डरले मात्र संरक्षित हुने अवस्था छ भने दशकौंदेखिको देशको बेथितिलाई अनुशसित र थिति बसाल्न पनि निश्चित अवधिका लागि राज्यले कठोर रूपमा ठोकठाक गर्नुको विकल्प छैन । नत्र देश झन्-झन् सङ्कटमा फस्दै जानेछ । त्यसैले एकपटक सामान्य सम्झाइबुझाइले नमान्ने यो भुतको समाजलाई लातले नठोकेसम्म मानवसमाज बन्ने निश्चितता छैन । यस्तै अवस्थामा हामीले यो समाजलाई छोडिदियौँ भने भविष्यका हाम्रा सन्ततिलेले हामीलाई नै थुक्ने छन्, सराप्ने छन् । त्यसैले बातले नमान्ने भुतलाई सबै मिलेर लातले ठोकौँ । आगे यहाँहरूकै मर्जी !
प्रतिक्रिया