काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गरेको महोत्सव यही असार २५ गतेसम्म चल्नेछ ।
‘नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो महोत्सव उपयोगी हुने विश्वास छ, कला र संस्कृतिको आदानप्रदानसँगै यस्ता महोत्सवले एकअर्काको चलचित्र हेरेर सिक्ने अवसरसमेत दिन्छ’, अध्यक्ष केसीले भनेका छन्, ‘यस्ता कार्यक्रम र गतिविधिमा बोर्ड सदैव सहयोगी भूमिका निर्वाह गर्न तत्पर छ, हामीले विश्वको चलचित्र हेरेर आफूलाई अझै परिस्कृति गर्नु जरुरी छ ।’
महोत्सवमा १० अफ्रिकी र नेपालका १२ सहित कूल २२ चलचित्र सहभागी छन् । उद्घाटनसँगै जर्मनी चलचित्र ‘वाटु वाटो’ प्रदर्शन गरियो । यसका साथै पहिलो दिन शनिबार रोशनकुमार श्रेष्ठको चलचित्र ‘भाग्य’, परिच्छेद सेनको चलचित्र ‘प्रेमगञ्ज’, सुमन दाहालको चलचित्र ‘परिवार’ र अफ्रिकन वृत्तचित्र ‘कलिङ अफ डेड’ प्रदर्शन गरियो ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिइन् । दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिएको उनको भनाइ छ ।
महोत्सवमा एकदिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिएका छन् ।
प्रतिक्रिया