श्रावणमै ब्रत र ध्यान किन ?

श्रावणमै ब्रत र ध्यान किन ?


सनातन धर्म-संस्कृतिसँग जोडिएका ब्रतलाई हामीले महत्व दिन छाड्दै गर्दा र ब्रत बसेपनि भन्न अप्ठ्यारो मान्दै गर्दा पछिल्ला दिनमा विदेशीहरूले अभ्यासमा ल्याएको ‘१६ घण्टे फास्टिङ’को भने हामी ठुलो प्रशंसक र अभ्यासकर्ता हौँ । हामीमध्ये कतिले बडो गर्वका साथ ‘म त अहिले सिक्स्टीन आवर फास्टिङमा छु’ भन्छौँ ।
✍ बबिता बस्नेत

वर्षभरीका १२ महिनामध्ये श्रावणलाई विशेष मानिन्छ । श्रावणलाई लिएर शास्त्रदेखि साहित्यसम्म सिर्जना गरिएका छन् । श्रावण महिनालाई भगवान् शिवको महिनाको रूपमा मानिन्छ । शिवका धेरै नाममध्ये एक सोम हो । सोमको अर्थ हुन्छ आफैमा मदहोस हुनु, हराउनु । श्रावणमा सूर्य दक्षिणायनमा जाने हुँदा प्रकृतिमा यसको बेग्लै महत्व छ । मानवजीवन र प्रकृतिबीच गहिरो सम्बन्ध छ । मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ- जल, वायु, पृथ्वी, अग्नि र अकाश । यसको अर्थ सारा ब्रह्माण्ड हाम्रो शरीरभित्रै छ । हाम्रो शरीरमा पानी ७२ प्रतिशत, पृथ्वी १२ प्रतिशत, वायु ६ प्रतिशत, अग्नि ४ प्रतिशत र बाँकी अकाश अर्थात् मष्तिष्कले भरिएको हुन्छ भनिन्छ । यी पाँच तत्वको सन्तुलन नै मानिसको शरीर हो । शरीर, मष्तिष्क, मन, भावना र उर्जा फरक कुरा हुन्, मष्तिष्कले यी सबैलाई निर्देश गरिरहेको हुन्छ । स्वस्थ शरीरका लागि जीवनशैली महत्वपूर्ण कुरा हो । हामी के खान्छौँ मात्र होइन हामी के सोच्छौँ भन्ने कुराले पनि ठुलो अर्थ राख्छ । साउन महिना यही जीवनशैलीसँग सम्बन्धित छ ।

प्रायः माछामासु बिना खाना नै नखाने कतिपय मानिसहरू पनि श्रावणमा साकाहारी बन्छन् । ‘साउन महिनाभरी माछामासु नखाउँ भनेर…, अरुबेला मुख छाडिन्छ त्यसैले साउनको बहानामा मुख बारुँ भनेर…, साउनभरी त नखाने…’ श्रावण महिना लागेपछि आफन्त र साथीभाइले यस्तो भन्ने गरेको हामीले सुन्दै आएका छौँ । अरुबेला बार्नुनपर्ने.. साउनमै किन त ? कतिले थाहा पाएर र कतिले थाहै नपाइ साउन महिना बार्ने गरेका छन् । कतिले चाहिँ साउन बार्नेहरूलाई परम्परावादी भन्दै खिसिट्युरी पनि गर्ने गरेका छन् । साउनको सोमबारलाई विशेष महत्वका साथ लिएर ब्रत बस्ने गरिएको छ । साउनको सोमबार नै किन त ? यसका बारेमा खासै चर्चा नभएपनि साउनको सोमबार गरिने शिवलिङ्गको पूजाको भने आलोचनात्मक चर्चा गर्ने गरिएको छ ।

साउनमा ब्रत बस्ने, शाकाहारी खाना खाने कुरालाई महत्व दिइएको छ । लामो समय पेट खाली राख्नु नै ब्रत बस्नु हो । हाम्रो हिन्दु धर्म-संस्कृतिमा ब्रतको महिमा ठुलो छ । विभिन्न पर्व, तिथि र अवसरमा ब्रत बस्ने गरिएको छ । सनातन धर्म-संस्कृतिसँग जोडिएका ब्रतलाई हामीले महत्व दिन छाड्दै गर्दा र ब्रत बसेपनि भन्न अप्ठ्यारो मान्दै गर्दा पछिल्ला दिनमा विदेशीहरूले अभ्यासमा ल्याएको ‘१६ घण्टे फास्टिङ’को भने हामी ठुलो प्रशंसक र अभ्यासकर्ता हौँ । हामीमध्ये कतिले बडो गर्वका साथ ‘म त अहिले सिक्स्टीन आवर फास्टिङमा छु’ भन्छौँ । शब्दको अर्थ उही हो, ‘फास्टिङ’ भन्दा हामीलाई सभ्य र आधुनिक लाग्छ, ब्रत भन्दा पुरातन र धार्मिक ! त्यसैले ब्रत बसेको छु भन्नुभन्दा ‘म त फास्टिङमा..’ भन्न हामीलाई सहज लाग्छ । अहिले पश्चिमाहरूले ल्याएको ‘फास्टिङ’ हाम्रो त शिव-पार्वतीकालमै थियो । कथाअनुसार, ‘पार्वतीले ब्रत बसेर शिवजीलाई प्राप्त गरेकी थिइन् ।’ अहिलेको भाषामा यसलाई ‘पार्वती ब्रत बसेर स्लिम फिट भइ आकर्षक बनेकी थिइन्’ भन्न पनि मिल्छ होला । यसको अर्थ स्लिम फिट हुनेहरू मात्रै आकर्षक हुन्छन् भन्नेचाहिँ होइन । तथापि, स्वस्थ रहनका लागि तौल घटाउनु राम्रो मानिन्छ । अहिले १६ घण्टे फास्टिङ मानिसहरूले प्रायः स्लिम फिट हुनकै लागि गरेको देखिन्छ । यस्तो फास्टिङ गर्नेमा महिला, पुरुष, अन्य लिङ्गी सबै छन् । मानिस आफूले आफैलाई स्वनियममा बाँध्नका लागि ब्रतको अवधारणा आएको हो भनी बुझ्न गाह्रो पर्दैन । स्वनियममा बाँधिनु र स्वनियमनमा रहनु जीवनमा सदा राम्रो कुरा हो ।

साउन महिना ब्रत बस्ने या साकाहारी भएर आफ्नो शरीरलाई सहज बनाउने मात्र नभइ ध्यान गरेर आफूलाई शान्त राख्ने महिना पनि हो । अल्पहार, ब्रत, ध्यान जस्ता कुरा भगवानका नाममा गरिएपनि यी मान्छेकै लागि राम्रो हुने कुरा हुन् । तिम्रा लागि राम्रो हुन्छ भन्दा कसैले गर्नेवाला थिएन त्यसैले ब्रत बस्दा भगवान खुशी हुन्छन् भनियो । आफू के कुराले खुशी हुन्छु भन्ने कुरामा मानिसलाई खासै चासो छैन । त्यसैले आफूभन्दा पनि भगवान् के गर्दा खुशी होलान् भन्ने ध्याउन्न बढी हुने हुँदा भगवान्लाई खुशी पार्नकै लागि भएपनि मानिसहरू स्वनियममा बस्ने गरेको देखिन्छ । खासमा हाम्रा शास्त्रहरूमा भगवान् र दानवलाई जसरी ब्याख्या गरिएको छ यी दुवै मानिसभित्रै छन्, हामीभित्रै छन् । मानिस आफ्नो शत्रु र मित्र उ आफैं हो । भगवान् र दानव दुवैको चरित्र मानिसभित्र हुन्छ, कुन चरित्रलाई घटाउने र कुनलाई बढाउने भन्ने पनि मानिसमै निहित छ । आफूले आफैंलाई चिन्ने प्रक्रिया ‘ध्यान’ का प्रवर्तक भगवान शिवलाई मानिन्छ । साउन महिना बार्नुको अर्थ तामसी भोजनबाट मुक्त भइ ध्यानमार्फत आफूले शून्यको अनुभूति गर्नु हो । शिवको अर्थ सत्य हो, शून्य र अनन्त हो ।

आफ्नो सोच र मनोभाव या भावनालाई वशमा राख्न सक्ने केही छ भने त्यो ध्यान नै हो । शिव भगवानका अनेक महिमा बाहिर आए पनि योग र ध्यानको यो महत्वपूर्ण पक्षलाई हामीकहाँ धेरै चर्चा गर्ने गरिएको छैन । श्रावणमा शिवको पूजा आराधनासँगै शिवलिङ्गको पनि चर्चा गर्ने गरिएको छ । कतिले शिवलिङ्गलाई पुरुषको निजी अङ्गसँग तुलना गरेर हिन्दु धर्म-संस्कृतिको मजाक पनि उडाउने गरेका छन् । संस्कृतमा लिङ्गको अर्थ प्रतीक हुन्छ । स्त्रीलिङ्ग महिलाको गोप्य अङ्ग नभइ महिलाको प्रतीक हो र पुलिङ्ग पुरुषको प्रतीक । शिवलिङ्गको अर्थ शिवको प्रतीक, सृष्टिकर्ताको प्रतीक जसको कुनै अन्त्य हुँदैन अर्थात् अनन्त । सृष्टि अन्त्यको परिकल्पना गरिएको छैन, यो अनन्त छ । शिवलिङ्गको पूजाको अर्थ प्रकृतिको पूजा हो, अनन्तकालसम्म रहने सृष्टिको पूजा हो ।

अल्पहार, ब्रत, ध्यान जस्ता कुरा भगवानका नाममा गरिएपनि यी मान्छेकै लागि राम्रो हुने कुरा हुन् । तिम्रा लागि राम्रो हुन्छ भन्दा कसैले गर्नेवाला थिएन त्यसैले ब्रत बस्दा भगवान खुशी हुन्छन् भनियो । आफू के कुराले खुशी हुन्छु भन्ने कुरामा मानिसलाई खासै चासो छैन ।

मानिस पदले शक्तिशाली हुने होइन, सोचले शक्तिशाली हुने हो । तपाईं मनभित्रबाट डर–त्रासमुक्त हुनुहुन्न भने वरिपरि बन्दुक बोकेका सुरक्षाकर्मीले केही गर्न सक्दैनन् । आफूभित्र शान्ति र आत्मविश्वास बढाउने एक मात्र माध्यम ध्यान नै हो । शान्ति जीवनको अन्तिम लक्ष्य होइन, आधारभूत कुरा हुनुपर्छ भनेर सद्गुरुले बारम्बार भनेको सुनिन्छ । यो आधारभूत कुराको खोजीको सुरुवात महादेवबाट भएको हो । शिवकथामा पार्वतीले जे माग्यो त्यही बरदान शिवजीले दिएको, तर ध्यानचाहिँ तिमी आफैँ गर भनिएको उल्लेख छ । ध्यान अरूले गरिदिएर हुने भए जिन्दगी बुझेका कति मानिसले वरिपरिका मानिसलाई आफूजस्तै बनाउने थिए होलान्, तर यो सम्भव छैन ।

जब साउन लाग्छ, कतिपय महिलाहरूकै प्रतिक्रिया हुने गर्छ- साउनमा हरियो चुरा लाएर होइन हरियो खाएर स्वास्थ्य राम्रो हुन्छ, चुराले छिमेकीको ब्यापार बढायो आदि । खासमा हरियो सागसब्जी साउनमा मात्र होइन पाएसम्म सधैं खानुपर्छ र, छिमेकीको ब्यापार त हामीले चुराले मात्र होइन खाद्यान्नदेखि सवारसाधन, इन्धन, पहिरन हुँदै मच्छड धपाउने धुप र झुलसम्मले बढाइरहेकै छौँ । हरियो चुरालाई लिएर कतिले पितृसत्तात्मक सोच भनि आलोचना गरेको पनि सुनिन्छ । महिलाले हरियो चुरा या रातो सारी लगाएका कारण हामीकहाँ पितृसत्ताले जरा गाडेको होइन, न त यस्ता कुरा नलाउँदैमा महिलाहरू पूर्ण स्वतन्त्र हुन्छन् भन्ने सही हो । स्वतन्त्रता र विचारधारासँग पहिरनको सम्बन्ध छैन । कतिपय अवस्थामा मानिसको सोचको ‘रिफ्लेक्सन’चाहिँ पहिरनमा देखिन सक्छ । क्रान्ति या परिवर्तन चुरा या पहिरनमा नभइ मानिसको सोच, दृष्टिकोण र ब्यवहारमा देखिने कुरा हो । श्रावणमा गेरुबस्त्र लगाउने पुरुषहरूको सङ्ख्या ठुलो हुने गर्छ । हरियो, सेतो, गेरु यी सबै शान्तिका प्रतीक हुन् ।

हिन्दूधर्म धर्म मात्र नभएर संस्कृति र जीवन पद्दति पनि हो । हिन्दूधर्ममा पुजिने हरेक देवीदेवताका आ-आफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन् । साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिना हो । शिव सृष्टि र शून्यका प्रतीक हुन् । जीवन शून्यबाट सुरु भएर शून्यमा अन्त्य हुन्छ । बीचका अनेक तामझाम सीमित समयका लागि हुन् । जीवनको यो सत्यलाई स्वीकार गर्दै आगामी साताबाट सुरु हुने श्रावणलाई आफू परिमार्जित र रूपान्तरित हुने उत्सवका रूपमा मनाऔँ, भगवानको नाममा आफ्नो लागि राम्रो हुने ब्रत मात्र होइन ध्यान पनि गरौँ । परिवर्तनको सुरुवात आफैबाट गरौँ !