थेवेको अचार !

थेवेको अचार !


✍ ज्ञानमणि भुर्तेल

काङ्ग्रेस अभिलेखअनुसार प्रनेका झापाको पहिलो सभापति रणकेशर बुढाथोकी हुनुहुन्थ्यो रे ! पङ्क्तिकारको ‘कुतर्क’अनुसार पञ्चायतकाल काङ्ग्रेसका लागि स्वर्णकाल थियो ! स्वर्णकाल यस अर्थमा कि त्यस समय काङ्ग्रेसको ईज्जत थियो, प्रतिष्ठा थियो ! काङ्ग्रेस हुनुमा गर्व थियो !

बुढाथोकीसँग हाम्रो संगत हुन पाएन ! काँधमा एउटा झोला भिरेको कुर्ता-पाइजामाभित्र एउटा खिरिलो ज्यान यदाकदा देखिएको सम्म चैँ हो ! उहाँको बारेमा हामीले बोल्नु भनेको अहिलेको हल्दार काङ्ग्रेसले ‘बीपीले भन्नुभएको थियो…’ भनेर गफ दिनु र दृष्टिविहीनले हात्ती छामेर निबन्ध लेख्नु उस्तै हुन्छ !

बुढाथोकीपछि सभापतिको जिम्मेवारी रामबाबुमा सऱ्यो ! रामबाबुसँग चैँ काम गर्ने मौकासमेत मिलेकोले उहाँको स्वभावसँग नजिकबाट परिचित हुने मौका पनि पाइयो ! जेलभित्र कसैले ‘रामबाबु तपाईंको सियो दिनुस् न’ भनेर सियो माग्दा धागो निकालेर सियो मात्रै दिनेदेखि किशुनजीले चार जनालाई दाल-भात पकाएर राख्नु भन्ने सन्देश पठाउँदा भान्सामा पाँचौं ब्यक्ति प्रवेश निषेध गर्दै अचार-तरकारीबिनाको दालभात मात्रै ख्वाउने जस्ता अनेकौँ कथाका सर्जक रामबाबुमा पार्टीप्रतिको निष्ठा पर्याप्त थियो ! बेइमानी छलकपट थिएन ! प्रष्ट वक्ता हुनुहुन्थ्यो !

रामबाबुपछि सभापतिका रूपमा भरतबाबु आउनुभो ! भरतबाबु काङ्ग्रेसभित्रका बौद्धिक ब्यक्ति भएकाले उहाँको विचार सुन्न बुझ्न साथै सभापतिको निर्देशन लिन समेत हामी सबै उहाँको निवास पुग्दथ्यौँ ! पार्टी प्रतिबन्धित भएकोले त्यस समय नेताको घर नै पार्टी अफिससरह हुन्थ्यो ! भरतबाबुको पञ्चायतकालिन काठको टाँडेघर काङ्ग्रेसका लागि मन्दिरझैँ थियो ! बिना रोकटोक सबैको प्रवेश सहज ! उसबेला काङ्ग्रेसको संगठन भनेकै कोठेभेला र गफ नै हुन्थ्यो ! दुई चार पञ्चायती पर्व बहिष्कार गर्दा संगठन आफैं हुन्थ्यो !

भरतबाबुपछि सभापतिको जिम्मेवारी पुर्णानन्द शर्माले पाउनुभो ! शारीरिक रूपमा अपाङ्ग देखिए तापनि मानसिक रूपमा शर्मा जत्तिको सवलाङ्ग काङ्ग्रेस बिरलै भेटिन्छन् ! दुई कार्यकाल बिताएपछि जिम्मेवारी फेरि रामबाबुमा सऱ्यो ! पछिल्लोपटकको रामबाबु समितिमा कृष्ण सिटौलालाई उप सभापतिको जिम्मेवारी दिइयो ! त्यसै समय ०४६ को जनआन्दोलन सुरु भो ! कार्यकर्तासँग खासै घुलमिल नहुने र आफ्नै आदर्श बोक्ने सभापति आन्दोलनको सुरुमै गिरफ्तारीमा परेपछि आन्दोलन हाँक्ने दायित्व उपसभापतिमा पुग्यो ! भूमिगत आन्दोलनले सिटौलाको चर्चा चुलियो ! अघिल्ला सभापतिभन्दा सिटौलाको कार्यकर्ता सगको घुलमिल र सक्रियता बढी नै थियो ! त्यसमाथि आन्दोलनताकाको सक्रियताले सिटौलालाई झापा काङ्ग्रेसको अग्रभागमा स्थापित गरिदियो !

सम्झनुपर्ने कुरो के छ भने, रणकेशर बुढाथोकीदेखि रामबाबु युगसम्म काङ्ग्रेस हाँक्ने सदस्यहरू त्यागले खारिएका र निष्ठाले पुरिएका थिए ! अहिले जस्तो बिष्टाले रङ्गिएका थिएनन् ! दबाबले नै सही त्याग-तपस्याको मुल्याङ्कन थियोे त्यस समय ! ०४५ सालतिर हुनुपर्छ- आलोक साप्ताहिकको प्रसङ्ग कतिपय स्तम्भमा भरत भूर्तेलको एउटा दनक छापियो- ‘तपाईं रामप्रसाद तिम्सिनालाई चिन्नुहुन्छ ?’ या ‘शनिश्चरेको लिलक सिटौला चिन्नुहुन्छ ?’

यस लेखबाट नेताको चेत खुल्यो या दबाब पऱ्यो ? निष्ठाका पर्याय यी दुवै जिल्ला सदस्य मनोनित भए ! कुनै समयका यी हरामी काङ्ग्रेस आज बिरामी काङ्ग्रेसको कित्तामा छन् !

बहुदल आयो ! प्रनेकाको ‘प्र’ हटेर नेका लेख्ने स्वतन्त्रता प्राप्त भो ! पार्टी प्रतिबन्ध हटेसँगै मनोनित प्रथाको अन्तभइ पार्टी निर्वाचन प्रणालीमा गयो ! लुकिछिपी समिति गठन युगको अन्त भो ! प्रतिबन्धितकालका पुर्वसभापतिहरूले इच्छा नदेखाएपछि खुल्ला प्रतिस्पर्धाको सभापति निर्वाचनमा हामी अधिकांशले अम्बिका रिजाल भन्दा सिटौला योग्य देख्यौँ ! जनआन्दोलन ताकाको उहाँको भूमिका र सक्रियता हेर्दा त्यो स्वभाविक पनि थियो ! सिटौलाको दौडाहाबाट प्रभावित भएर सभापति बनाउनेहरूले निकैपछि ब्रम्हज्ञान प्राप्त गरे कि स्थिर भैंसीको तुलनामा लैनोपाडोको दौडाइ सक्रिय देखिए तापनि बाली नास गर्नेमा भैंसीभन्दा पाडो खतरनाक हुनेरैछ !

प्रतिबन्धित कालमा खोजी-खोजी राम्रा मान्छे राखिन्थ्यो ! खुल्ला कालमा खोजी-खोजी हाम्रा मान्छे भर्ती सुरु भो ! काङ्ग्रेस स्वर्णकालबाट सकुनीकालमा प्रवेश गऱ्यो ! उहाँको कार्यकाल यस्तो रह्यो कि उहाँले चाहँदा उचालिने र नचाहँदा वार्डमै पछारिने भए ! जितबहादुर पुरी र अम्बिका रिजाल जस्ता हरामी काङ्ग्रेस महासमिति सदस्य बन्न सिटौलाको निगाह अनिवार्य हुनु त्यस समयको तितो सत्य हो ! भद्रपुरमा दिब्य भूर्तेल, रामप्रसाद तिम्सिना, उत्तर चापागाईंहरू वार्डमै पछारिनु र जगदीश काफ्लेलाई वार्डमै शहीद बनाउने निर्देशन अनि भक्ति सिटौलाको काङ्ग्रेस पलायन जस्ता जिल्लाभरिका पीडा लेख्न बस्दा निकै ठूलो महाकाब्य बन्छ ! यसका बाबजुद एउटा सत्य चैँ के हो भने- सुन्यमा रहेको काङ्ग्रेस संसदीय सिटलाई संख्यात्मक हिसाबले तीन सम्म पु¥याउनुमा उहाँको ठूलो योगदान मान्नुपर्छ ! सँगसँगै यो लेख्न बाध्य पनि हुनुपर्छ कि उहाँको त्यो योगदान र फन्टुस किसानले आँगन खनेर बारी पुर्नु उस्तै हुनपुग्यो ! काङ्ग्रेस निष्ठा मासेर बिष्टा बटुलेर बढेको संख्याको कुनै महत्त्व थिएन !

उहाँपछि उहाँकै चाहनाअनुसार सुधीर सिवाकोटी त्यसपछि उद्धव थापाको आगमन भो ! सिटौलाले जस्तो मन्त्र पढ्नुभो सोहीअनुसार स्वाहा… भन्नु आगन्तुक सभापतिको परम कर्तव्य थियो त्यसै गर्नुभो ! काङ्ग्रेस पलायन र निर्मुलको क्रम जारी नै रह्यो ! माले-मण्डले मशाले वरिष्ठ काङ्ग्रेसमा दरिने क्रम बढ्दै गयो !

अहिले हामी निर्वाचित थेवेयुगमा घिस्रिँदै छौँ ! यस युगमा कोही राम्रा आए ! कति हाम्रा ल्याइए ! केही राम्रा छुटे ! हरामी काङ्ग्रेसको सबैभन्दा ठूलो दुर्गुण भनेकै पार्टीप्रतिको लगाव र चिन्ता हो रैछ ! लुतो कन्याउन हात सल्बलाएझैँ पार्टीको चिन्ताले थुतुनो सल्बलाइहाल्ने ! मेरो थुतुनो पनि सल्बलायो- पार्टीको लागि उपयुक्त एउटा मान्छे छुट्यो ! मनोनित गरौँ !

निर्वाचित जिल्ला सदस्य रमेश पोख्रेललाई मौखिक बिन्ती बिसाएँ ! भेटेसम्मका वरिष्ठलाई बिन्ती बिसाउने क्रममा भद्रपुरका गणेश पोख्रेल, मनोज सुब्बा, भक्त खवासदेखि उपसभापति केशव पाण्डे, जिल्ला सचिव नवीन बिमली, कृष्ण हुमागाइँ हुँदै मेचीनगरका महामन्त्री विश्वप्रकाश शर्माका कानभित्रै पसेर ‘फलानो राम्रो मान्छे हो ! मनोनीत गर है’ भन्न भ्याइयो ! एकपटक काङ्ग्रेस कोटाबाट वडाध्यक्षसमेत भैसकेका भद्रपुर काङ्ग्रेसलाई एक कठ्ठा जमीन दान दिने दाता भद्रपुर निवासी काङ्ग्रेस धनजुजु श्रेष्ठका लागि सिफारिस गर्दा सभापति स्वयमले- ओहो ! उहाँ त सारै असल काङ्ग्रेस ! ल्याउनैपर्ने हो तर क्षेत्रिय प्रतिनिधि नभएकोले ल्याउन विधानले मिल्दैन ! अर्को अधिवेशनमा बेलैमा विचार गरौँला भन्दा सभापतिप्रति नतमस्तक हुनाको साथै गर्वले छाती फुल्यो । आहा !! कस्तो आदर्शवादी सभापति ! विधान भन्दा बाहिर पटक्कै नजाने ! मनमनै बीपीसँग तुलना गर्न गर्दै अनि बीपीको समाजवाद पछ्याउने सभापति पाएकोमा हर्षको बिस्कुन समेत फिँजाइयो ! यस्तो सदाचारी सभापतिलाई स्थानीय निर्वाचनताका कुनै उम्मेदवारसँग जोडेर गाडी उपहार लिएको निराधार हल्ला मच्चाउने छुचुन्द्रे काङ्ग्रेसप्रति आक्रोश जाग्यो ! निष्कलंक सभापतिलाई खुइल्याउने पाखण्डीहरूलाई मनमनै धिक्कारियो ! एउटा निष्ठावान सभापति जो भोलि यो जिल्लाको सांसद हुँदै मुलुकको मन्त्री भएर हाम्रो भाग्य कोर्ने भाग्यविधाताका विरुद्धको यो कुप्रचारले मन मस्तिष्क सबै गलायो ! प्रजातन्त्र रक्षार्थ लडेको प्रजातान्त्रिक सेनानीले यस्तो घृणित कार्य गर्नै सक्दैन !! नाथे करोडको गाडिमा लोभ गर्ने मान्छे हैन उहाँ ! मेरो मनले किमार्थ मानेन !

विडम्वना !

मेरो धिक्कार पुराणको पन्ना त्यसबेला च्यातियो जब हामिसँगै घुस माग्ने मालपोतको खर्दार सभापतिबाट क्षेत्रीय प्रतिनिधि मनोनित हुँदै जिल्ला सदस्यको पगरी गुथ्न पुग्यो ! जागिर अवधिभर काङ्ग्रेस कुट्ने अर्को हल्दार पनि जिल्ला सदस्य मनोनित हुँदै जिल्लाको मिटिङमा बीपी सम्झाउँदै समाजवाद पढाउने मास्टर हुन पुग्यो ! आफ्नो पक्षमा ल्याप्चे लाउने हल्दार बैदार खर्दार सबै अटाए ! आफ्नो भजन गाउने माले मण्डले मशाले सबैले वरिष्ठ काङ्ग्रेसको खोल ओढ्न भ्याए ! कोषाध्यक्ष मनोनित गर्दा निर्वाचितमध्येबाट गर्नुपर्ने विधान महामन्त्रीको आदेशले धोती लाएको चर्चा समेत चल्यो !

विरक्त लाग्यो ! मौखिक आक्रोश समेत पोखियो ! बीस प्रतिशत मनोनीत गर्न पाउने विधानको अधिकारविपरीत जिल्लाभरिका घाँसपराल बटुलेर जिल्लासदस्य नामको मवेशी-मेलाको तुक के ? एउटा चम्चाको तर्क थियो- घण्टीप्रकोप रोक्न अर्को उपाय थिएन दाइ ! घण्टी पार्टीमा जान्छन् भनेर परेवालाई चारो बाँडेझैँ जिल्ला सदस्य बाँडेको रे ! तर्क हो कि कुतर्क ? बुझ्नै कठिन ! वार्ड समितिमा समेत आउने हैसियत नभएकाले जिल्ला सदस्य भेटेपछि लाटाले मामा भेटेझैँ दङ्ग ! विधानविपरीत मनोयनविरुद्ध बोल्ने थुतुनोमा जिल्लासदस्यको टालो कोचर्दिएपछि बुझो लागिगो ! धन्न एउटा भरत प्रसाईं नामको नैतिक पिलो निस्केर ‘यस्तो गाई-गोरुको बथान जस्तो अवैधानिक समितिमा बस्दिनँ’ भन्दै बहिष्कार गर्न भ्यायो ! बहिष्कारलाई बक्तब्यबाजी नगरी गुपचुप राख्न एउटा स्वघोषित वरिष्ठले गरेको अनुनयविनयको रमाइलो कथा बेग्लै पाटो हुनेछ ! समग्रमा – धनजुजु अटेनन् !

खैर ! जेसुकै होस् !

जिल्लाभरिका गाईबस्तु बटुलेरै भएपनि थेवेले गोबरको अचार बनाउनुभएको छ ! जसलाई मीठो मानेर ग्रहण गर्दै सेवन गर्नु हामी ‘दास काङ्ग्रेस’को परम कर्तव्यभित्र पर्दछ !

तर एउटा कौतुहलता चैँ जीवितै छ- विधानको परिधिभित्र रहेर १४ जना मनोनित गर्ने क्षेत्राधिकार मिचेर विधानविपरीत गोठ निर्माण गर्दै गोबरको पकवान बनाउनुको बाध्यता कि रहर ?

अनि विधि विधानका कुरा गर्दै प्रजातान्त्रिक समाजवादका ठेकेदार ठान्ने काङ्ग्रेसजन यो अवैधानिक नौटङ्कीका मुकदर्शक भएर किन ? कसरी ? बसेका छन् ! काङ्ग्रेसभित्र मौलाउँदै गरेको दास मानसिकता भोलिका दिनमा काङ्ग्रेसको मलामी हुने निश्चित छ ! बेलैमा चेत खुलोस् !

जय नेपाल !!