समाजवादी केन्द्रको अन्तर्य र डा. भट्टराईको रोदन

समाजवादी केन्द्रको अन्तर्य र डा. भट्टराईको रोदन


✍ डा. केशव देवकोटा

था प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष पहलमा गठन गरिएको चार पार्टीसम्मिलित ‘समाजवादी मोर्चा’का बारेमा विभिन्न किसिमका टीकाटिप्पणीहरू भइरहेका छन् । जो मोर्चा बन्यो, यसको रचनाकार शुरुमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई मानिएको थियो । नेपालको राजनीतिमा विभिन्न किसिमका प्रयोग गर्न रुचाउने भएकाले उहाँलाई प्रयोगवादी नेताकारूपमा पनि लिने गरिन्छ । आश्चर्यको विषय यो रह्यो कि मोर्चा घोषणा हुँदा बाबुराम नै सो मोर्चामा अटाउनुभएन ।

त्यसो त उहाँले आफू समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रष्टिकरण पनि दिइसक्नुभएको छ, जसमा उहाँले ‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक र राजनीतिक विषयप्रतिको अरुचि, अनिच्छा, केवल तत्कालीन संसदीय अंकगणितप्रतिको अतिसय लिप्साको प्रतिफलस्वरुप रहस्यमय ढङ्गले सो मोर्चा एकतर्फी किसिमबाट घोषणा हुनपुगेको’ खुलासा गर्नुभएको छ । उहाँले स्पष्ट शब्दमै ‘समाजवादी मोर्चासँग नयाँ युगको नयाँ ढङ्गको समाजवादबारे कुनै स्पष्ट सोच नभएको, सिर्फ अंकगणितका आधारमा काङ्ग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा आफूहरू संलग्न नभएको’ बताउँदै त्यो ‘समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात’ भन्नुभएको छ । भट्टराईका यी तर्क आफ्नो ठाउँमा ठिक/बेठिक जेसुकै भए पनि मोर्चामा समेटिन नसकेको/नपाएको कारण उत्पन्न हुनपुगेको अरण्य रोदन हो भनिदिँदा अतिरञ्जना नठहरिएला ।

०७२ अघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको विशेष सहमतिमा त्यतिबेला माओवादीकै नेता रहनुभएका डा. भट्टराईले नेपालमा संविधानसभाबाट समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्न/गराउन सफल भएपछि उहाँले नै समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढङ्गको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्ताव अघिसार्नुभएको देखिएको थियो । ०७२ को संविधानमा डा. भट्टराईलगायतले प्रयोग गरेको सङ्घीयता, जातीय समावेशी र समानुपातिक निर्वाचन प्रणाली असफल भइसकेका छन् । त्यसैको जगमा यो समाजवादी मोर्चा गठन भएका कारण यसको हविगत पनि त्यस्तै हुनेवाला छ ।

०६२ मंसिरमा दिल्लीमा १२बुँदे सहमति गरेर तत्कालीन माओवादीको जनयुद्ध बिसर्जन गर्दै संसदीय राजनीतिमा आएका कारण दाहाल र भट्टराईले कम्युनिष्ट पार्टीहरूले भन्नेगरेको वैज्ञानिक समाजवादसम्बन्धी अवधारणाका विरुद्ध समुन्नत समाजवादको परिकल्पना गरेको देखिएको थियो । नेपाली काङ्ग्रेससँग सहकार्यमा रहेका दाहाल र डा. भट्टराईले अगाडि सारेको समाजवाद यसअघि बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादकै अर्को रूप हो भन्ने कुरा पहिले नै स्पष्ट थियो । डा. भट्टराईकाअनुसार माओवादी केन्द्रलगायतका दलहरूले सिर्फ अंकगणितका आधारमा काङ्ग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्नका लागिमात्र सो मोर्चाको घोषणा गरेका हुन् ।

त्यसैगरी जनयुद्ध काल (०५२-०६२) भरी र त्यसपछि केही वर्ष दाहाल र भट्टराईसँगै एकै पार्टीमा रहनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सीपी गजुरेलले पनि माओवादी केन्द्रलगायतका चार दलले बनाएको समाजवादी मोर्चा नेपालमा समाजवाद स्थापना गराउने उद्देश्यबाट प्रेरित भएर नभइ खास समाजवादी राजनीतिलाई बिथोल्नका लागि गठन गरिएको जिकिर गर्नुभएको छ । उहाँले चारदलीय समाजवादी मोर्चाले भन्ने गरेको समाजवाद ‘प्रतिक्रियावादी समाजवाद’ भएको स्पष्ट पार्नुभएको छ । उत्तरकोरियाली नेता किम इल सुङको २९औँ स्मृति दिवस मनाउन गत साता काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले समाजवादी मोर्चाका बारेमा टिप्पणी गर्नुभएको थियो । त्यसक्रममा गजुरेलले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरू सधैं वैज्ञानिक समाजवादको पक्षधर रहेको उल्लेख गर्दै समाजवाद भनेरमात्रै नहुने, समाजवाद त प्रतिक्रियावादी, सामन्तवादी, पूँजीवादी पनि हुने तर्क गर्नुभयो । उहाँले खासमा सर्वहारा श्रमजीवी शोषित उत्पीडित वर्गको हित गर्ने समाजवाद भनेको वैज्ञानिक समाजवाद मात्र भएको विचार व्यक्त गर्नुभएको थियो ।

नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना नै नभएको जिकिर गर्दै उहाँले सो ब्यवस्था स्थापना भएपछि मात्र वैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अगाडि बढ्ने दाबी पनि गर्नुभएको थियो । माओवादी केन्द्रसहितका चार दलको समाजवादी मोर्चा खासमा ‘वर्तमान दलाल संसदीय सत्तामा जाने भऱ्याङका रूपमा’ प्रयोग गर्न खोजिएको रहस्य उहाँले खोलिदिनुभयो । उहाँले सो मोर्चा देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको पक्षमा नरहेको रहस्योद्घाटन पनि गर्नुभएको थियो । चार दलले असार ४ गते समाजवादी मोर्चा गठन गरेलगत्तै नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले वक्तब्य प्रकाशित गरेर आफूहरू उक्त मोर्चामा सहभागी नहुने स्पष्ट गरेका थिए । एकातिर माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा अनि काङ्ग्रेससहितको सत्ता-गठबन्धनमा रहेकाले पनि सो मोर्चाको नौटङ्की छताछुल्ल भएको छ ।

अर्कातिर उनीहरूले नै सडक सङ्घर्षमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाएका छन् । यस्तै, चन्द समूह पनि अन्य दुई पार्टीसँग मिलेर देशभक्त समाजवादी नामक अर्को मोर्चामा समेत रहेको छ । त्यसअघि सो समूह क्रान्तिकारी माओवादीसहितको रणनीतिक मोर्चामा रहेको थियो । चन्द समूह हरेक मोर्चामा सहभागी हुने र चाँडै सो मोर्चाबाट पलायन हुने गर्दै आएको छ । सो समूहका झण्डै ५० जना नेता तथा कार्यकर्ता हालसम्म पनि विभिन्न जेलमा बन्दी अवस्थामा रहेका छन् भने अधिकांशलाई विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको मुद्धा लगाइएको छ । सो समूहले हालसम्म पनि ब्यक्तिको घरजग्गा कब्जा गर्ने कर्म पनि छाडेको छैन । यस्तोमा विप्लव हिजो आफैंले घोर आलोचना गरेका पात्र प्रचण्डको ‘आज्ञाकारी’ बनेर मोर्चामा समेटिनुको तात्पर्य आफ्ना बन्दी साथीहरूलाई रिहा गराउने उपाय खोज्नु, आफूहरूविरुद्धका मुद्दाहरू फिर्ता गराउने प्रयत्न गर्नु र राजनीतिको सहज मार्ग पहिल्याउन खोज्नु ने होलान् भन्न सकिन्छ ।

समाजवादी मोर्चा गठन भएको २० दिनसम्म नेतृत्वसमेत छनोट हुन नसकेको अवस्था एकतिर छ । शुरुमै सो मोर्चा नेतृत्वको खिचलोमा फसेका कारण हाल आएर ६ महिने आलापालो नेतृत्वको रचना गरिएको छ, जसका लागि शुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मोर्चाको अध्यक्ष बनाइएको छ । अब सो मोर्चाको देशब्यापी (सम्भव भएका जिल्लाहरूमा) संरचना आलोपालो प्रणालीमै जाने भएकाले यसले देशमा राजनीतिक अस्थिरता बढाउन काफी हदसम्मको भूमिका निर्वाह गर्ने देखिएको छ । सो मोर्चामा वैज्ञानिक समाजवाद पक्षधर नेकपा र वैज्ञानिक समाजवादविरोधी जसपा रहेका छन् । जसले गर्दा उक्त दुई पार्टीलाई जुधाएर आफू नेता हुन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई बल मिलेको छ ।

एमाले मोर्चाको राजनीतिमा रहेको छैन भने नेपाली काङ्ग्रेस पनि गठबन्धनको राजनीतिबाट वाक्कदिक्क भएको अवस्था छ । सो पार्टीका महामन्त्रीहरूद्वारा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा ब्यक्त भनाइले उपरोक्त कुराको पुष्टि गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल) सहकार्यमा रहेका छन् भने नेकपा (मशाल) राष्ट्रिय क्रान्तिकारी मोर्चामा समेत आवद्ध भएको स्थिति छ । जसमा लोकनारायण सुवेदी नेतृत्वको नेकपालगायतका करिव आधा दर्जन कम्युनिष्ट पार्टी र विभिन्न कम्युनिष्ट ब्यक्ति/ब्यक्तित्वहरू सहभागी भएको अवस्था छ ।

सो मोर्चाले पनि माओवादी केन्द्रलगायतका चार पार्टीको समाजवादी मोर्चाको विरोध गरेको छ । माओवादीका पूर्वनेता नारायण शर्मा संयोजक रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चाले देशको ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अराजक, अनियमित, अस्वाभाविक र अप्रिय गतिविधिले देश, जनता र लोकतन्त्र नै अपूर्व सङ्कटमा परेको भन्दै यसले विदेशी शक्तिलाई थप हस्तक्षेपको निम्ति मूलबाटो खोल्ने र नेपाल र नेपाली जनतामाथि थप बोझ र सङ्कट थोपर्ने टड्कारो स्थिति देखापरेको ठहर गरेको छ । उसले यस्तो संगीन स्थितिमा सम्पूर्ण राष्ट्रप्रेमी कम्युनिष्ट, क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलगायत आम नेपाली जनसमुदायका सबै सचेत तह र तप्काहरू एकजुट भएर संघर्ष गर्नुपर्ने चुनौती थपिएको भन्दै संघर्षमा जुट्न र डट्न सम्पूर्ण न्यायप्रेमी शक्ति (व्यक्ति, संघसंस्था र अभियान, आन्दोलनहरू एवम् आम जनसमूदाय) लाई आह्वानसमेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नौदलीय सत्ता गठबन्धनको भर नभएको ठहर गर्दै चारदलीय उप-गठबन्धन (समाजवादी मोर्चा) बनाएको देखिएको छ भने साथसाथै उहाँले तत्कालीन एमालेसहितको नेकपा ब्युँताउने कुरा पनि अगाडि सारिसक्नुभएको छ । तर एमालेले भने प्रम दाहालको प्रस्तावलाई इन्कार गरेको छ । एमालेलाई तर्साउन काङ्ग्रेससहितको सत्ता गठबन्धन, सत्ता गठबन्धनमा काङ्ग्रेसलाई तर्साउन चार दलीय उप-गठबन्धन (समाजवादी मोर्चा), त्यसमा पनि एकीकृत समाजवादीलाई तर्साउन एमालेसहितको तत्कालीन नेकपा ब्युँताउने अभिव्यक्तिलगायतका कुरा अगाडि सारिएका छन् । यो सबै राजनीतिक गोलचक्करको ध्येय नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरूपमा अस्तब्यस्त बनाएर सकेसम्म विघटनको अवस्थामा पुऱ्याउने र नेपालका कम्युनिष्टहरूलाई छरप्रष्ट बनाउने रहेको देखिन्छ । आखिर विचारसुन्य भएका नेताहरूले आफूलाई सत्ता र शक्तिमा टिकाइराख्नका लागि खेल्ने खेल यस्तै ढाँट-छल र शक्तिको प्रदर्शन हो भन्ने त स्पष्टै छ । यतिबेला यो सबैले बुझ्नु र मनन गर्नुपर्ने प्रमुख विषय भएको छ ।