✍ श्यामकृष्ण लम्साल
विद्वानहरूले भनेका छन्, राजनीति राज्य सञ्चालन गर्ने मूल नीति हो, जसले राज्यका तमाम नीतिहरूलाई मार्गनिर्देश एवम् नेतृत्व प्रदान गर्दछ । यसको अर्थ यो हुन आउँछ कि असल राजनीतिविना अरु कुनै नीतिले मात्र राज्यलाई सुसंस्कृत, सुसभ्य एवम् समृद्ध बनाउन सक्दैन, राष्ट्रको सम्पुर्ण कुराको जिम्मेवारी राजनीतिक दल, तिनका नीति, नेता र कार्यदिशामा निर्भर हुने हुँदा सर्वप्रथम त नीति, नेता, संगठन र अर्थको सही व्यवस्थापन हुनैपर्छ । यसको अभावमा राजनीतिले सही दिशानिर्देश गर्न सक्दैन ।
नेपाली भूमिमा राजनीतिक शासन व्यवस्था लोकतान्त्रिक पद्धतिको माध्यमबाट सञ्चालन गर्नुपर्छ भन्ने राजनेता थिए विश्वश्वरप्रसाद कोइराला, जसले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने लडाइँ लडी सफलता प्राप्त गरेका थिए । उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद दुनियाँकै उत्कृष्ट सिद्धान्तमा पर्छ भनी विद्वान्हरूले भन्दै आएका छन् । तर त्यसको ब्यवहारिक कार्यान्वयन कहाँ पुग्या ? शायद उनले जन्माएर हुर्काएको पार्टी नेपाली काङ्ग्रेसका ठूला हुँ भन्ने नेताहरूलाई नै थाहा छैन होला ! बीपीले कहिल्यै पनि ठूलो हुने कुरामा जोड दिनुभएन, असल बन्ने कुरामा मात्र प्रशिक्षित गर्नुहुन्थ्यो । मलाई मेरो पिताजी (प्रजातन्त्र सेनानी तीर्थराज लम्साल) ले बताएको कुरा हो कि बीपी पार्टीका सबै कार्यकर्ताहरूलाई साथी ठान्नुहुन्थ्यो, आफ्नो विचार र लक्ष्यका सहयात्री, सहकर्मी, साथ दिने साथी ठान्नु्हुन्थ्यो, अर्काको इज्जत गर्न जान्नुहुन्थ्यो र त उहाँ जननायक राजनेता महामानव बन्नुभयो ।
जनतालाई देखाउने नीति सिद्धान्त जति नै राम्रो भए पनि सामन्तवादी सोच र कार्यकर्तामा दास मात्र उत्पादन गर्ने मनोभावनाबाट ग्रसित नेतृत्वबाट भोलिको मुलुक हाँक्न सक्ने नेतृत्व कसरी जन्मेला ?
अर्का राजनेता थिए मदन भण्डारी जसले जनताको बहुदलिय जनवाद नामको सिद्धान्त प्रतिपादन गरी टाउको टेकेर हिँड्ने कम्युनिष्ट जमातलाई खुट्टा टेकेर हिँड्न सिकाए । बीपी मदनले प्रतिपादन गरेका सिद्धान्तहरू प्रजातान्त्रिक समाजवाद र ज.ब.ज. दुवैको मूलबाटो प्रजातन्त्र र समाजवादको सही कार्यान्वयनका माध्यमबाट मुलुक समृद्ध बनाउने नै हो । तर दुर्भाग्य ! उनीहरूलाई खोपीका देउता बनाइयो । राष्ट्रिय पूँजीको विकास गरी त्यसको गर्भबाट समाजवाद कोरल्नुपर्नेमा सामन्तवादतिरै राजनीति धकेले राष्ट्रिय पूँजीवाद (नीति)बाट कसरी समाजवादको लक्ष्य हासिल हुन सक्ला ?
जनतालाई देखाउने नीति सिद्धान्त जति नै राम्रो भए पनि सामन्तवादी सोच र कार्यकर्तामा दास मात्र उत्पादन गर्ने मनोभावनाबाट ग्रसित नेतृत्वबाट भोलिको मुलुक हाँक्न सक्ने नेतृत्व कसरी जन्मेला ? बीपी-मदनहरूको सान्निध्य पाएकाहरूले बनाउन नसकेको या नचाहेको थिति कुन पुस्तामा कुन नेपालआमाको सपुत जन्मिएर थामिदेला ?
नेपालका प्रजातान्त्रिक आन्दोलन लडेका दलहरूमा अहिले आन्तरिक प्रजातन्त्र छैन । नेताहरूसँग विज्ञ, त्यागी, निष्ठावान्, स्वाभिमानी र इमान बोकेका साथीहरू टाढिएका छन् । तिनका ठाँउमा अयोग्य, लोभिपापी, खुराफाती जमातको थुप्रो मात्र लाग्यो र, त्यही जमातले मुलुक हाँक्नुपर्ने अवस्था आइलाग्यो भने मुलुकको भाग्य र भविष्य कता जाला ? बीपी र मदनको सान्निध्यता पाएकाहरूले सोच्नुपर्ने कि नपर्ने ? हरेक पार्टीका महाधिवेशन, भेला, बैठकका साथै नेताहरूका जन्मदिन र तिथिमा फोटोमा फूल अविर चढाउनचाहिँ तँछाडमछाड गर्दै उनले देखाएको बाटोको उल्टो बाटो हिँड्दा कहाँ पुगिएला ? अयोग्य भिडले नेतृत्व गरेको गन्तव्य कहाँ कस्तो ठाउँमा हुने हो ? तसर्थ, अब हाम्रो राजनीति कस्तो बनाउने ? यसतर्फ जिम्मेवार नागरिकहरूको ध्यान पुग्न ढिलो भयो कि ?
(लेखक बीपी चिन्तन प्रतिष्ठानका केन्द्रिय सदस्य हुन् ।)
प्रतिक्रिया