बैंकमा थुप्रिएको भए सर्वसाधारणलाई खै त कर्जा ?

बैंकमा थुप्रिएको भए सर्वसाधारणलाई खै त कर्जा ?


✍ अनुसा थापा

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा कुनै समस्या नभएको ठोकुवा गर्दै आएका छन् । उनी भन्छन्, ‘बैंकमा पैसा थुप्रियो । अर्थतन्त्र चलायमान भइसकेको छ । सहज गतिमा अघि बढिरहेको छ ।’ महाप्रसाद मुलुकको उच्च जिम्मेवारीको पदमा छन्, तथापि उनलाई बजारमा के भइरहेको छ भन्ने जानकारी नभएको आभास हुन्छ ।

बैंकमा त्यति नै पैसा थुप्रिएको भए अहिले पनि कर्जा किन ठप्प छ ? बैंकले त भटाभट कर्जा प्रवाह गर्नुपर्ने हो । हिजो घरजग्गा, गाडी र शेयरमा आँखा चिम्लेर लगानी गर्ने बैंक आज किन कर्जा बन्द गरेर बसेको छ त ? करोडौंको धितो राखेर लाख कर्जा लिन खोज्दा पनि बैंकले दिँदैन । पैसा छैन भनेर रित्तोहात फर्काइदिन्छ । बैंकले कर्जा दिएन् भनेर सर्वसाधारणहरू व्यापक गुनासो गरिरहेका छन् । यता, बैंकले कर्जा उठाउनका लागि रातदिन ‘टर्चर’ दिइरहेको छ ।

कर्जा चुक्ता गरिदिन भनेर बैंकले बारम्बार फोन गरेर तनाव दिएका कुरा धमाधम बाहिर आइरहेका छन् । अनि राष्ट्र बैंकका गर्भनर अधिकारीले के आधारले बैंकमा पैसा थुप्रियो भनिरहेका छन् त ? कर्जा नपाएर यहाँ सर्वसाधारणलाई ‘मर्नु न बाँच्नु’ भएको छ । एउटा बैंकबाट लिएको कर्जा अर्कोमा सार्छु भन्दा पनि सर्वसाधारणले पाएका छैनन् । यदि बैंकमा त्यति नै पैसा थुप्रिएको भए भकाभक कर्जा दिन थाले हुन्छ, बैंकको ढुकुटीमा थुपारेर त पैसा बढ्ने होइन !

ऋणीहरुको रातको निद्रा र दिनको भोक हराएको छ । बैंकले कर्जा चुक्ता गरिदिन भनेर ऋणीलाई च्यापेको च्यापै छ । चिठी काट्ने, फोन गर्ने, पत्रपत्रिकामा निकाल्नेलगायतका काम बैंकले गरिरहेको छ । ऋण चुक्ता गर्न सक्ने अवस्था अहिले कसैको पनि छैन । वास्तवमा भन्ने हो भने मान्छेसँग पैसा नै छैन । व्यापार व्यवसाय सबै सुकेको छ । बजारमा मन्दी छ । ऋण तिर्न सास्ती भएको अवस्था छ । यतिबेला ऋण पत्याउने पनि कोही छैनन् । व्यक्तिसँग ऋण लिएर चुक्ता गर्छु भनेर कल्पना नगर्दा पनि हुन्छ । सबै उही अवस्थाबाट गुज्रिरहेका छन् । एउटा बैंकको धितो अर्को बैंकमा सारेर ऋण चुक्ता गर्छु भन्दा पनि सम्भव छैन । अर्को बैंकले कर्जा नै दिँदैन । सबै बैंकले कर्जा उठाउन खोजेको छ । तर, कसैले पनि ऋण दिँदैन । धितो बेच्न किन्ने कोही छैनन् । कर्जा तिर्न गोजीमा सुको छैन । ऋणीहरू ‘पानी बिनाको माछा’ जस्तै भएका छन् । यद्यपि, गर्भनर अधिकारी यो कुरा बुझ्दैनन् । जतिबेला पनि पैसा थुप्रियो भनेर भाषण मात्र ठोकिरहेका हुन्छन् ।

सबैभन्दा धेरै भीड हुने मालपोत कार्यालय अहिले सुनसान छ । सरकारले सबैभन्दा धेरै राजश्व घरजग्गाबाटै उठाउँदै आएको थियो । तर, घरजग्गाको कारोबारमा मन्दी आएसँगै राज्यको ढुकुटीमा पनि सुख्खाराम लागेको छ । यता, गाडी खरिदबिक्रीमा पनि कमी आएको छ । यातायात कार्यालयहरू पनि सामसुम छन् । बजारमा घरजग्गा, गाडी र शेयर बेच्ने यत्तिकै छन्, किन्नेको संख्या शुन्य छ । पसलहरू पनि सुनसान देखिन्छ । अर्थमन्त्री महत भनिरहेका छन्- ‘गर्भनरको कारणले अर्थतन्त्र सुधार भएन्, झन डामाडोल बन्यो ।’ सरकारले लामो सोच राखेन । हतारोको निर्णयको प्रतिफल त अहिले सबैले भोगिरहेका छन् । छिटो नाफा कमाउनका लागि बैंक तथा वित्तिय संस्थाले घरजग्गा, शेयरमा लगानी गरे ।

बैंक तथा वित्तिय संस्थामा जम्मा भएका बचत सबै कर्जाका रूपमा घरजग्गामा गएर ‘फ्रिज’ भएको छ । उद्योग खोल्नुको साटो सबै जग्गा किनेर घर बनाउनतिर लागे । खेतीयोग्य जमिन सबै मासिँदा देश परनिर्भर बनेको छ । दैनिक उपभोग्य बस्तुसमेत आयात गर्नुपरेको छ । व्यापारघाटा दिनहुँ बढिरहेको छ । उद्योग खोलिदिएको भए, नेपालकै रोजगारीको अवसर सिर्जना हुन्थ्यो । रातारात धन समेट्न खोज्दा पूरा सहकारी क्षेत्रमाथि नै संकट आइलागेको छ । सहकारीहरू भागेर बचतकर्ताहरू सडकमा ओइरिएका छन् । ऋणीहरुले ऋण तिर्न सक्दैनौं भनेर हात उठाइसकेका छन् । निजी गाडीमा चढ्नेहरू सार्वजनिक यातायात चढ्न थाले । ‘ऋण भनेको घिन हो’ भन्ने कुरा जनताले भर्खर थाहा पाएका छन् । सरकारसँग विवेक छ भने जनहितमा केही कदम चाल्ने हो कि ?