आजको पञ्चाङ्ग एवम् राशिफल (३० आषाढ २०८० शनिबार, १५ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० आषाढ २०८० शनिबार, १५ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ३० गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ १५ तारिख शुद्ध श्रावणकृष्णपक्ष त्रयोदशी तिथि मृगशिरा नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा बज्र योग चन्द्रमा वृष राशिमा १२ः३२ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १९ः०० बजेमा हुनेछ । शनिप्रदोषव्रत, घण्टाकर्ण चतुर्दशी ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी छ । काममा साथ दिनेहरू बढ्नेछन् भने मान-प्रतिष्ठा प्राप्तिको योग छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने इच्छाशक्ति बढ्ने समय छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिएला । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । अप्ठ्यारा चुनौतीहरूसँग भने परिस्थितिले सम्झौता गराउन सक्छ । परिणाम तपाईंकै पक्षमा रहला । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तथापि समुदायको हकहित हुने काम गर्न सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । कार्यबल बढ्नुका साथै आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहला ।

सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । टाढाको यात्रा हुन सक्छ र यात्र उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ । कर्मबल बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । साझेदारीको काम बन्नेछ । रसरागको भाव वृद्धि होला । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – समय खास अनुकुल नरहेकोले महत्वाकांक्षी योजना गोप्य राखेर काम गर्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ, तर बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन्, तथापि व्यवसायमा विशेष लाभ लिने समय छ । जोखिम बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव चाहिँ राम्रै रहला ।

वृश्चिक – समय राम्रो छ । आरोग्यता रहला । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा त्रास रहे पनि आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । यश वृद्धि हुनेछ ।

धनु – कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । धेरैको मन लोभ्याउन सकिनेछ । तथापि, केही अवसर फुत्कन सक्ने योग रहेकोले सावधानीको आवश्यकता छ । साझेदारीको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । तर गल्तीबिनै आरोप लाग्न सक्ने योग रहेकोले सावधान रहनुहोला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, ध्यान राख्नुहोस् । आफन्तजनको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । आजको दिन आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । शुभ समाचार प्राप्त हुने योग छ । वार्तामा सफलता मिल्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा-समारोहमा भाग लिने मौका मिल्ला । तार्किक क्षमता बढ्नेछ भने लगनशीलताले यश दिलाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आनन्द वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।