पेसाले सैनिक, फिल्म निर्देशनमा अब्बल !

पेसाले सैनिक, फिल्म निर्देशनमा अब्बल !


निकेश लिम्बू, पेसाले सैनिक रहे पनि नेपाली चलचित्र निर्माणमा सक्रियता दर्शाउँदै निर्देशक बन्न पुगेका छन् । रोयल एअर फोर्समा मेडिया विभागमा रहेर काम गर्ने नेपाली मूलको पहिलो व्यक्ति हुन् उनी । बेलायतस्थित लन्डन फिल्म एकेडेमीमा चलचित्र निर्माणसम्बन्धी ६ महिनाको पाठ्यक्रम सकाएर उनले निर्देशन गरेको छोटो चलचित्र ‘अ सोल्जर’ अन्तर्राष्ट्रिय महोत्सवमा अब्बल साबित भइदियो ।

एघार मिनेट लामो उक्त चलचित्रले ‘लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन्स २०२३’ लन्डनमा फाइनालिस्ट हुनाका साथै अडियन्स च्वाइस अवार्ड जितेको थियो भने फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेसनल फिल्म अवार्ड २०२३’मा अडियन्स च्वाइस अवार्ड र संयुक्तराज्य अमेरिकाको लस एञ्जल्समा सम्पन्न ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा यो छनोट भएको थियो ।

‘मैले यसमा सैनिकको कथालाई देखाएको छु । म आफैँ सैनिक भएकाले पनि मैले यसलाई त्यहीँ मर्मअनुरुप तयार गरेको छु । सायद यसलाई सैनिकसँग नजिक पाएर पनि होला, महोत्सवमा सहभागी हुनाका साथै पुरस्कृत पनि भइरहेको छ, यसमा सैनिकको पारिवारिक जिम्मेवारी, देशप्रतिको कर्तव्य र युद्ध भूमिको मनोविज्ञानलाई देखाएको छु’– निर्देशक लिम्बूले भने ।

सागर सुब्बा र ममता देवान सुब्बा मुख्य भूमिकामा प्रस्तुत भएको छोटो चलचित्र ‘अ सोल्जर’मा आफ्नो कर्तव्य पूरा गर्न परिवारभन्दा टाढा रहेको सैनिकको माध्यमले कथा भनिएको छ । उक्त सैनिकको श्रीमती गर्भवती छिन्, यद्यपि जिम्मेवारी पूरा गर्न परिवार र जन्मथलोलाई मनमा सँगाल्दै युद्धको मैदानमा आफूलाई बलियो बनाएको छ । आफू सैनिक भएकाले पनि नजिकबाट कथा भन्न सकेको निर्देशक लिम्बूको भनाइ छ ।

‘यसमा अन्य चलचित्रजस्तो देखाइएको छैन । त्यसैले महोत्सवमा सहभागिता जनाइरहेको छ’ भन्छन् उनी । निर्देशक लिम्बूले निर्माताका रूपमा निर्माण गरेको चलचित्र ‘रातो घर’मा नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने दोस्रो चलचित्र ‘ब्लाइन्ड रक्स’मा आँखाको ज्योति गुमाएकी दृष्टिविहीन सृष्टि केसीको जीवनीलाई प्रस्तुत गरिएको थियो । चलचित्रमार्फत सामाजिक कथालाई प्रस्तुत गर्नु सर्जकको दायित्व रहेको बताउँछन् निकेश ।