काठमाडौंमा बैङ्किङ कसुरका सात हजार एक सय एक मुद्दा

काठमाडौंमा बैङ्किङ कसुरका सात हजार एक सय एक मुद्दा


काठमाडौं जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए । ‘आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौंभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताउनुभयो । काठमाडौंमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।