अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा, अमेरिकाले भन्यो- ‘क्रेमलिनको क्रूर निर्णय’

अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा, अमेरिकाले भन्यो- ‘क्रेमलिनको क्रूर निर्णय’


क्रेमलिनले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । सोमबार मध्यरातमा समाप्त हुने सम्झौतालाई उसले दिउँसै त्यसको वास्तविक म्याद समाप्त भइसकेको बताएको हो ।

आफूले अघिसारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कन सक्ने पनि मस्कोले स्पष्ट गरेको छ । क्रेमलिनको उक्त घोषणा पछि मस्कोले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्याद विस्तारविरुद्धमा सूचना पठाएको रुसी समाचार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको अरोप लगाउँदै क्रेमलिनले त्यसलाई पालना नगर्ने धम्की दिएको छ ।

‘ब्ल्याक सी सम्झौताको आज वास्तविक समाप्ति भएको छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुनेबित्तिकै मस्को त्यसमा फर्किने उनले स्पष्ट गरेका छन् ।

यसैबीच, अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रूर निर्णय भनेको छ । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाइन् ।

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । विश्वका निर्धन मानिस द्वन्द्वको सिकार हुनुहुँदैन भन्दै जर्मन सरकारका प्रवक्ता क्रिष्टिन होफमानले खाद्यान्नजस्तो संवेदनशील विषयमा क्रेमलिन संवेदनाविहीन हुननहुनेमा जोड दिएकी छन् ।