गायक अरुण थापा स्मृति साँझ आयोजना हुँदै

गायक अरुण थापा स्मृति साँझ आयोजना हुँदै


‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध….।’

अजर अमर कालजयी गीत गाउने गायक अरुण थापाको २४औँ स्मृति दिवस भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । भक्तपुरलाई गीत, सङ्गीतका क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौँ फन भ्यालीमा ‘अरुण थापा स्मृति साँझ-२०८०’ को आयोजना गर्ने भएको छ ।

प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्व. गायक अरुण थापाको २४औँ स्मृति दिवसको दिन पारेर यही साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँझ, २०८०’ को आयोजना गर्ने जानकारी दिएका हुन् ।

जिल्लामा केही वर्षयता भक्तपुर साङ्गीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँझ गर्दै आएकामा यस वर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेन्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्षसमेत रहनुभएका प्रालिका कार्यकारी निर्देशक कसपालले बताए ।

उनले भने, ‘अरुण थापा देशकै गहना हुन्, देशकै सम्पत्ति हुन्, त्यसमाथि पनि अरुण थापा हामी गीत, सङ्गीतका क्षेत्रमा लाग्नेको मनमनमा रहनुहुन्छ, म भक्तपुर सांस्कृतिक समाजको उपाध्यक्ष पनि हुँ, यो वर्ष समाज र प्रालिले संयुक्तरूपमा कार्यक्रम गरौँ भनेर प्रस्ताव पनि राखेको हो, तर समाजले नगर्ने भएपछि प्रालिले कार्यक्रम गर्ने भएको हो ।’

कार्यक्रम संयोजकसमेत रहेका कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायक, गायिका अजर जङ्गम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँ धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रवीण पलिखेल, श्रेया अवस्थीलगायतले स्व. अरुण थापाको गीतहरू गाउने भएका छन् । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले साङ्गीतिक कार्यक्रममा सहभागी हुन आउने दर्शकलाई निःशुल्क पासको व्यवस्था गरिएको जानकारी दिँदै भने, ‘अरुण थापा साँझ हेर्न आउनेहरूका लागि कुनै शुल्क लाग्दैन, निःशुल्क पासको व्यवस्था गरेका छौँ, तर फन भ्यालीको स्वीमिङ पुल र अन्य गेम खेल्नेका लागि त्यस दिन प्रवेश शुल्कमा २० प्रतिशत छुट गरेका छौँ ।’