गणेशमानको त्यो सन्दर्भ र पुष्पकमलको यो नियति !

गणेशमानको त्यो सन्दर्भ र पुष्पकमलको यो नियति !


हालै बनाइएको समाजवादी मोर्चा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गराउन नभइ राजनीतिक कलह बढाउन र कम्युनिष्टहरूलाई अलगथलग तुल्याउन सहायक हुने देखिएको छ । ०६३ को परिवर्तनको ‘उपलब्धि’ भनिएका सङ्घीयता, जातीय समावेशी र समानुपातिक निर्वाचन प्रणाली देशका लागि अभिसाप सिद्ध हुँदै गएका छन् ।
✍ डा. केशव देवकोटा

प्रजातन्त्रवादी नेता गणेशमान सिंह चितवनमा कुर्सी दुर्घटनामा परेर असक्त हुनुभएपछि ललितपुरको खुमल्टारमा बस्न थाल्नुभएको थियो । धेरै शुभचिन्तकहरू उहाँलाई त्यहीँ भेट्न जान्थे । पङ्क्तिकार पनि एउटा साप्ताहिक पत्रिकाका लागि अन्तवार्ता लिने र उहाँको स्वास्थ्य अवस्था जान्ने चाहनामा त्यहाँ पुगेको थियो । त्यसक्रममा अन्तवार्ता पनि लिइयो । झण्डै दुई घण्टाको बसाइकाक्रममा उहाँले धेरै अन्तरंग कुरा सुनाउनुभयो । त्यसमध्येको एउटा घटनाको यस आलेखमा स्मरण गर्दैछु ।

०४६ सालको परिवर्तनपछि एकदिन गणेशमान सिंहलाई भेट्न आफ्ना दुईजना शुभचिन्तक आएछन् । उनीहरू प्रायः सधैं आउने र कुरा गरेर फर्कने गर्दथे, तर त्यसदिन उनीहरू भेटवार्तापछि पनि घोरिएर त्यसै बसिरहे । सिंहले ‘किन नगएको, अरु केही भन्नु छ र ?’ भनी सोध्नुभएछ । उनीहरूले गोप्य कुरा बाँकी रहेको बताएछन् । त्यसपछि गोप्य कोठामा गएर वार्ता गर्दा उनीहरूले ‘भन्न पनि असहज लागेको छ’ भन्दै भनेछन्- ‘तपाईंको राजनीतिक उचाइ यतिबेला धेरै माथि पुगेको छ । भोलि काम गर्दै जाँदा त्यो घट्न सक्छ । त्यसैले तपाईं जसरी भएपनि मर्दिनुपऱ्यो !’ यो सुनेपछि सिंह आक्रोशित हुँदै वाहियात कुरा गरेको भनी उनीहरूलाई फट्कार लगाएर गोप्य कोठाबाट बाहिर निस्कनुभएछ । यो ०४७ साल तिरको घटना थियो ।

आफूलाई राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि सिंहले मान्नुभएन । उहाँले पार्टीको संगठनात्मक पद्धतिअनुसार त्यतिबेलाका नेकांका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभएको थियो । त्यसपछि करिव ०५१ मा पुग्दा नपुग्दै नेपाली काङ्ग्रेसमा पदको लुछाचुँडी चरमरूपमा बढ्यो । सरकारमा पुगेका नेताहरूले पञ्चायतकै सिको गर्न थाले । सिंहलगायतका केही नेताहरूले नेकांको अस्तब्यस्तताप्रति असहमति जनाउँदै जगन्नाथ आचार्यको नेतृत्वमा ‘जनकाङ्ग्रेस’ खोलेर अलग हुनुप¥यो । नभन्दै गणेशमान सिंहको त्यो ‘जनआन्दोलनका सर्वोच्च नेता’को स्तरमा पुगेको कद ‘नेकांको सर्वोच्च नेता’हुँदै तल ओर्लियो । चितवनमा भएको कुर्सी दुर्घटनापछि त उहाँसँग भेट्नेहरूको सङ्ख्या नै अत्यन्त सीमित भयो । उहाँले पङ्क्तिकारसँगको त्यो भेटमा भन्नुभएको थियो- ‘पार्टी बिचार र पद्धतिअनुसार नचलेपछि यस्तो हुँदो रहेछ !’ लौहपुरुषका रूपमा समेत चिनिने गणेशमान सिंह जीवनका आखिरी दिनमा नेकांबाट लगभग अलग भएर रहनुप¥यो, तर पनि उहाँले आफ्नो अडान, विचार र पद्धतिका कुराहरू छाड्नुभएन ।

त्यसैगरी म शैलेन्द्रकुमार उपाध्यायलाई सम्झन्छु । जो कम्युनिष्ट पार्टीमा लामो समय काम गरेर केन्द्रिय तहको नेतृत्वमा पुगेपछि पञ्चायतमा प्रवेश गर्नुभयो । सो घटनाका कारण उहाँले कम्युनिष्ट नेताका रूपमा आर्जन गर्नुभएको साख हराएर गयो । पञ्चायतमा पनि उहाँ यति सक्रिय हुनुभयो कि लामो समयसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । कैयन पटक उहाँको नाम भावी प्रधानमन्त्रीको रूपमा पनि चर्चामा आएको थियो । ०४६ सालको परिवर्तनले पञ्चायत ढल्यो । उहाँले पञ्चायतकालमा आर्जन गर्नुभएको साख पनि बिलाएर गयो । जीवनका आखिरी दिनमा उहाँलाई मैले काठमाडौंका विभिन्न स्थानमा एक्लै भौँतारिँदै गरेको धेरैपटक भेटेँ । अर्थात्, उहाँको राजनीतिक संलग्नता र सक्रियता समाप्तप्रायः भएको थियो । एकदिन मैले सुनेँ उपाध्याय हिमाल चढ्न जाँदैहुनुहुन्छ । मनमा लागेको थियो- उहाँका आखिरी दिन आएछन् । नभन्दै उहाँ हिमालको फेदीमा पुग्दानपुग्दै यो संसारबाट बिदा हुनुभयो । उपरोक्त दुई प्रसङ्ग केवल उदाहारण हुन् । नेपालका नेताहरूका यस्ता किस्सा अनेक छन् ।

आजका दिनमा म माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहालका सन्दर्भमा चर्चा हुँदा होस् अथवा विभिन्न लेख र टिकाटिप्पणी हुँदा होस्, गणेशमान सिंहको त्यो घटना र भनाइलाई सम्झन्छु । जनयुद्धका नेतृत्वकर्ता, तत्कालीन जनमुक्ति सेनाका सुप्रिम कमाण्डर, पार्टीभित्र प्रचण्डको उपनाम पाउनुभएका र प्रचण्डपथको रचनासमेत गरिसक्नुभएका दाहाल आज देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको पदमा रहेर पनि हरक्षेत्रमा आलोचनाको पात्र हुनुभएको छ । उहाँका हरेक कामहरू आलोचित हुने गरेका छन् । हिजो जनयुद्ध शुरु गर्नुअघिदेखि नै पार्टीले नेपाली काङ्ग्रेसलाई प्रधान शत्रु करार गरेको थियो । विस्तारवाद र साम्राज्यवादको निरन्तर तीव्र विरोध थियो । कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शका बारेमा बहसहरू हुन्थे । कुनैबेला दाहाललाई पार्टीभित्र नेपालको स्टालिनका रूपमा पनि चर्चा गरिन्थ्यो । ०४६ सालको परिवर्तनपछि बहुदलीय संसदीय ब्यवस्था पुनस्र्थापना भएर पार्टी गतिविधि गर्न पाइने भएपछि सबैलाई आ-आफ्नो पार्टीको संगठन बिस्तार गर्ने पर्याप्त अवसरहरू प्राप्त भएका थिए । पार्टी संयुक्त जनमोर्चामार्फत उल्लेख्य संङ्ख्यासहित संसद्मा थियो । जनमोर्चाका कुरामा सबैको ध्यानाकर्षण हुन्थ्यो । त्यतिबेला नै जनयुद्धजस्तो आन्दोलनको उच्चतम रूप अपनाउनुपर्ने कुनै आवश्यकता नै थिएन । बस्तुगत आधारबिना गरिएको काम उग्रवाद हुन्थ्यो । उहाँले त्यही बाटो रोज्नुभयो ।

०५२ को असोजतिर भारतको केरलाका एकजना आफूलाई कम्युनिष्ट नेता बताउने ब्यक्ति काठमाडौं आउनुभयो । उहाँले काठमाडौंमा कृष्णदास श्रेष्ठ, डा. बाबुराम भट्टराई, मोहनचन्द्र अधिकारी र मोहनविक्रम सिंहलाई भेटेको कुरा सुन्नमा आयो । सो भेटघाटको अर्को हप्ता तत्कालीन नेकपा (एकता केन्द्र मसाल) बाट डा. भट्टराई र दाहाललगायतका नेताहरू अलग भएर नेकपा (माओवादी) गठन गर्नुभयो । सो पार्टीले ०५२ को माधमा पुग्दानपुग्दै संयुक्त जनमोर्चामार्फत तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० सूत्रीय माग पेश ग¥यो । ती मागबारे एक चरण छलफलसमेत हुन नपाउँदै बन्दुक बटुल्नतिर लाग्यो ।

कम्युनिष्ट पार्टी विचारमा आधारित हुने भएकाले विचारको प्रचारद्वारा संगठन गर्नुपर्नेमा आरम्भमै बन्दूकबाट पार्टी संगठन शुरु गरियो । भन्दा जनयुद्ध भनिएपनि त्यो ‘जन’बिनाको ‘युद्ध’मात्र थियो । करिव १० वर्षको अवधिमा १७ हजार नागरिकको ज्यान गयो । देशको ठूलो भौतिक क्षति भयो । ०६२ मा डा. भट्टराई र दाहालले दिल्लीमा १२ बुँदे सहमति गरेर जनयुद्ध परित्याग गरिदिनुभयो । ०६३ मा शान्तिसम्झौताका नाममा जनयुद्धको अन्त्य गरिएको लिखित घोषणा गरियो । हुँदाहुँदै डा. भट्टराई कम्युनिष्ट पार्टी नै परित्याग गरेर काङ्ग्रेसको साथ-सहयोगमा दक्षिणपन्थी राजनीतिमा पुग्नुभयो । अध्यक्ष दाहाल पनि ०६३ देखि नै देशभित्र नेपाली काङ्ग्रेस र देशबाहिर भारत र अमेरिकासँगको सहकार्यमा रहनुभएको छ । उहाँहरू दुई जना गरेर चार पटक देशको प्रधानमन्त्री हुँदा पनि ०५२ सालमा अगाडि सारिएका माओवादीका ४० सूत्रीयमध्ये एउटा माग पनि पूरा भएनन् । आज आएर त्यसको सम्झना पनि हुन छाड्यो ।

पार्टीको नाम माओवादी भएपनि अधिकांश गतिविधिहरू चरम अवसरवादी देखिएका छन् । जनयुद्धका माग पूरा नगर्ने तर अझै पनि जनयुद्धको नाम भजाएर विभिन्न अवसर प्राप्त गर्ने काम भइरहेको छ । जनयुद्धका कारण माथि पुगेको साख संसदीय राजनीतिमा आएपछि अत्यधिक गिरेको छ । सरकारमा जान ‘सत्ता गठबन्धन’ र पार्टीमा अस्तित्व बचाइराख्न विभिन्न ‘मोर्चा’ बनाउने कामहरू भएका छन् ।

हालै बनाइएको समाजवादी मोर्चा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गराउन नभइ राजनीतिक कलह बढाउन र कम्युनिष्टहरूलाई अलगथलग तुल्याउन सहायक हुने देखिएको छ । ०६३ को परिवर्तनको ‘उपलब्धि’ भनिएका सङ्घीयता, जातीय समावेशी र समानुपातिक निर्वाचन प्रणाली देशका लागि अभिसाप सिद्ध हुँदै गएका छन् । हिजो प्रचण्डपथको रचना गर्ने दाहालले आज बोलेका सामान्य कुरा पनि आलोचित हुने अवस्था सिर्जना भएको छ । आफ्नो पार्टीको संगठन नगर्ने, तर अरुको पार्टीमा खेल्दै हिँड्ने बानीले पार्टीको संगठनसमेत अलगथलग भयो । पार्टीको नाम माओवादी तर राजनीतिचाहिँ नव-काङ्ग्रेसी भएकाले समाजमा अनेक अन्योलहरू सिर्जना भएका छन् । संसदीय राजनीतिमा ओत लाग्ने तर त्यसलाई पूर्णरूपले आत्मसात गर्न नसक्ने ! कम्युनिष्ट पार्टीमा रहने तर कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य-मान्यता र आदर्श कायम राख्न नसक्ने जस्ता कामहरू भइरहेका छन् । जनयुद्धमा आर्जित साख गिरेको छ । नयाँ राजनीतिमा शाख बढाउने खालका कामहरू हुनसकेका छैनन् । आफनै अस्थिर गतिविधिले उहाँको शाख गिरेको देखिन्छ ।

राजनीतिमा लाग्नेहरूले आफूलाई आफ्नो राजनीतिक मूल्य-मान्यता र आदर्शअनुसार दृढ भएर सञ्चालन गर्न/गराउन नसकेपछि यस्तो अवस्था आउँदोरहेछ । बाघको घोडा चड्न सबैलाई रहर हुन्छ, तर त्यसलाई सन्तुलन गरेर निश्चित गन्तब्यमा पुऱ्याउने कला सबैमा हुँदैन । राजनीतिमा देखिएका कैयन नेताहरूको उत्थान र पतनको कथा यसैमा आधारित हो । जीवनमा राजनीति गर्न चाहाने बर्तमान तथा भावी पुस्ताले आफ्नो विचारमा अडिग रहने र देशभक्तिलाई हरदम आत्मसात गर्ने कुरालाई पाठको रूपमा लिनुपर्दछ भन्ने कुरा उपरोक्त उदाहरणले स्पष्ट गरेको छ ।