सँस्था नै हार्ने, व्यवस्था नै हार्ने, राष्ट्र र राज्य हार्ने नीति र रणनीति जसले अवलम्बन गरे पनि त्यो न देशभक्ति हो न राष्ट्रभक्ति !
✍ केशवप्रसाद भट्टराई
आन्तरिक राजनीतिमा आदर्शको अवलम्बन जति पनि गर्न सकिन्छ तर विदेशनीति र कूटनीतिमा त्यसो हुन्न । त्यो यथार्थवादी र व्यवहारिक नै हुन्छ अनि, त्यसको सरकार र दलहरू मात्रै नभएर मिडिया, आम जनता र वौद्धिक समुदायको योगदानबारे पनि मुलुकले उत्तिकै अपेक्षा गरेको हुन्छ । विदेश नीति र कूटनीतिमा त्यसो हुन नसकेरै गएको सात दशकदेखि निरन्तरको अस्थिरता र अराजकता ब्यहोरिरहेका छौँ ।
यसलाई यसरी बुझौँ- भारत हाम्रो चुनौती र अवसर दुवै हो । भारतको हेपाइ-पेलाइ/बलमिच्याइँ हामीले भोगेका छौँ, अनुभव गरेका छौँ ।
त्यो अनुभव र भोगाइ आमजनतासँग पनि छ र सरकारसँग पनि छ । त्यो चुनौतीलाई सामना गर्ने सवालमा हामी दशकौँदेखि भारतको निन्दा गरिरहेका छौँ, अति विरोध गरिरहेका छौँ । नेपालमा राष्ट्रवादी हुन, देशभक्त हुन आवश्यक पहिलो योग्यता भारतको निन्दा र विरोध !
र अर्को, हाम्रा राजनीतिक आस्था र राजनीतिक स्वार्थले अर्थात् राजनीतिक लाभ-हानीका लागि पनि भारतको विरोध वा अति निन्दा हुने गरेको छ ।
भारतको विरोध र निन्दा गर्दागर्दै हामी चीनको र अझ पाकिस्तानको अति प्रशंसक र समर्थक हुन लाग्यौँ । राजा महेन्द्र, बीपी, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्र, मरिचमान, केपी ओली सबैले भारतविरोधी राजनीति, कूटनीति र रणनीति अवलम्बन गरे ।
भारतलाई बिझ्ने गरी चीन र अन्य भारतसँग निकटता नराख्ने मुलुकसँग निकटता बढाए । त्यसो गर्दा उनीहरू राष्ट्रवादी देखिए होलान्, इमान्दार र देशभक्त पनि थिए होलान् ।
तर त्यसले राष्ट्र बलियो भयो ? समृद्ध भयो ? राजनीतिक स्थिरता आयो ? जनताको सुख, खुशी, हित र कल्याणमा वृद्धि भयो ? हामीलाई हाम्रो मुलुकमा हाम्रा सन्तानको भविष्य सुरक्षित छः भन्ने विश्वास छ त ? हाम्रो राष्ट्रवाद, हाम्रो देशभक्तिले मुलुक बलियो भएन, समृद्ध र सुरक्षित भएन भने त्यो राष्ट्रवाद हो ?
सत्ताको लागि भीमसेन थापाले ब्रिटिश शासनविरुद्ध युद्ध लडे- एक तिहाई भूभाग गुमाए । जङ्गबहादुरले पनि सत्ताको निरन्तरताकै लागि ब्रिटिश भारत र ब्रिटिश सरकारसँग निकट सम्बन्ध राखे र, नेपाल-अङ्ग्रेज युद्धमा गुमेको ठूलो भूभाग फिर्ता गराए ।
सिन्धुलीगढीको युद्धमा क्याप्टेन किनलोकलाई पराजित गरेलगत्तै पृथ्वीनारायण शाहले अङ्ग्रेज सरकारसमक्ष आफ्ना दुत पठाए, सम्बन्ध सुधारे मित्रता बढाए र राज्यको एकीकरणलाई निरन्तर जारी राखे- अङ्ग्रेज सरकारले कुनै व्यवधान खडा गरेन । पृथ्वीनारायण शाहलाई के थाहा थियो भने सात समुद्रपारीबाट आएर भारतका त्यत्रा शक्तिशाली राष्ट्रहरूलाई कब्जामा लिन सक्ने अङ्ग्रेज सरकार ठूलो फौज लिएर आयो भने भिड्न सकिन्न र राष्ट्रको एकीकरणको लक्ष्य सफल हुन्न ।
त्यसैले यता किनलोक सिन्धुलीमा हारेर हालको मधेश प्रदेशको केही भागमा आफ्नो नियन्त्रण जमाएर बसिरहेकै अवस्थामा, किनलोकले आफ्ना उच्चाधिकारीसमक्ष रिपोर्ट पेश गर्न नपाउँदै, पृथ्वीनारायण शाहले किनलोकका उच्चाधिकारीहरूलाई विश्वासमा लिइसकेका थिए र उल्टै किनलोकमाथि कारवाही गराए ।
बहादुर शाहले पृथ्वीनारायण शाहकै नीति अवलम्वन गरे विशाल नेपाल निर्माण गरे । भीमसेन थापाले त्यो गरेनन् देशको ठूलो भाग गुमाए । जङ्गबहादुरले पृथ्वीनारायण शाह र बहादुर शाहको कूटनीति हृदयङ्गम् गरे, अवलम्बन गरे, भीमसेन थापाको गल्तीबाट सिके ।
हामीले सात वटा संविधान ल्यायौँ । बारम्बार राजनीतिक व्यवस्था परिवर्तन गऱ्यौँ। के पायौँ ? स्वयम् आफैँले लेखाएको, आफ्नो इच्छाअनुरूप घोषणा भएको संविधानलाई स्वयं राजा महेन्द्रले फालिदिए । २०१९ को संविधान राजाले दिए र, राजाले नै फाले ।
२०४७ सालको संविधान राजालाई दबाबमा राखेर काङ्ग्रेसले एमालेको सहमतिमा घोषणा भएको थियो- समग्र रूपमा त्यो संविधान काङ्ग्रेस र एमालेको संविधान थियो ।
राजा वीरेन्द्र, दरबार र सेना त्यो संविधानसँग असन्तुष्ट थिए । भारत पनि असन्तुष्ट थियो त्यो संविधानसँग । माओवादी विद्रोहमा ती सब असन्तुष्टि समेत मिसिएको ज्ञात नै छ । त्यो सबै असन्तुष्टिले संविधान मात्रै गएन- राजसँस्था नै गयो ।
अनि, मुलुक आजको स्थितिमा छ ।
हामीले अब कतिवटा संविधान ल्याउने ? कति पटक राजनीतिक व्यवस्थामा परिवर्तन ल्याउने ? यो अस्थिरता, सङ्कट, गरीवी र अभावको पीडा बोकेर कति बस्ने ? कति वर्ष कायरतापूर्वक नारामा रमाएर भूराजनीतिक यथार्थतालाई स्वीकार गर्ने साहस नगरेर देशलाई यही स्थितिमा राख्ने ?
उत्तर हो- हाम्रो परराष्ट्र नीति र कूटनीति असन्तुलित, अव्यवहारिक र अयथार्थवादी छ र नेपालको अस्थिरता, अराजकता र राजनीतिक सङ्कटको समाधान परराष्ट्र नीति र रक्षानीतिमा खोज्नु पर्दछ ।
राष्ट्रको लागि शक्ति आर्जन नगर्ने, गराउने सवल, अचूक रणनीति निर्माण नगर्ने अति निन्दा, घृणा र विरोधको मात्रै राजनीतिक खेती मात्र गर्ने अभ्यास हामीले निरन्तर गरिरह्यौँ अनि यो स्थितिमा छौँ ! सँस्था नै हार्ने, व्यवस्था नै हार्ने, राष्ट्र र राज्य हार्ने नीति र रणनीति जसले अवलम्बन गरे पनि त्यो न देशभक्ति हो न राष्ट्रभक्ति !
प्रतिक्रिया