-ब्यङ्ग्योक्ति-
✍ ज्ञानमणि भुर्तेल
‘हेर्नुस् त बा ! को आउनु भो ?’
आमैले बालाई हल्का कोट्याएपछि बा मधुरो आँखा खोल्दै टोलाए, अनि आमैले आगन्तुक चिनाउनुभो- ‘शेरबादुर ! आरजुका खसम !’
बाले हात उठाउँदै सासले बोल्नुभो- ‘जय नेपाल !!’
जवाफमा आरजुका खसमले केही बोल्नुभो ! उहाँको स्वर र काठमाडौको मोमो पसलको स्टोभको स्वर उस्तै भएकोले बुझिएन ! साथमा रहेकी आरजुले प्रष्ट्याउनुभो- ‘के भएको उहाँलाई भनेर सोध्नु भएको हो क्या !’
आमैले कैरन थाल्नुभो-
अलेली बिराम त तनौ हुँदैदेखिको हो ! बेलाबेला अप्ठ्यारो हुन्थ्यो ! काठमाडौं पसेपछि चैँ अलि बढी नै हुनथाल्यो ! अहिले चैँ खै के भो ? एक्कासी मुर्च्छा पर्नुभो !
शेरबहादुरले डाक्टर बोलाउनुभो ! डाक्टरले सबै रिपोर्ट हेरेपछि आमैतिर फर्केर सोधे- बैंसमा खुब कागती खानुहुन्थ्यो कि क्या हो ? आमै सुस्तरी बोल्नुभो- कागतीकै बेपार थ्यो बाको ! बेपार नै कागतीको भएपछि नखाने त कुरै भएन नि !
‘अनि ! छरछिमेकमा बाँड्ने चलन थिएन तपाईंहरूको ?’ डाक्टरको जिज्ञासा आमैले ‘नाइँ’ मा टाउको हल्लाउँदै मेट्नुभो- ‘घर-बेबार चलाउने जिनिस बाँडेर साध्ये हुन्छ त कतै ? त्यै बेचेर त घर चल्थो !’
बाबै खतरा लोभी रैछन् ! डाक्टरले मनमनै सोच्दै फेरि प्रश्न तेर्स्याए- बच्चाबेलामा कसैले कुटेको पनि थियोे ? छातीमा हल्का दाग देखिन्छ !
उहिले पोरपरार सभापर्मुख हुँदा गोल्छे सार्कीले जुत्ताले झटारो हानेको भन्ने सुन्या चैँ हो ! म त उतै गाउँमै केट्केटी स्यारेर बस्याथेँ ! देखेको हैन ! जुत्ता छातिमै बज्रेको थ्यो रे ! बेलाबेला छाती दुख्छ चैँ भन्नुहुन्थ्यो !
त्यसको पनि केही असर देखिन्छ ! डाक्टरले प्रश्नको क्रम जारी नै राखे- ‘कुनै अग्लो ठाउँबाट लडेजस्तो पनि छ ! लड्नुभएको थियो ?’
‘लड्न त बेलाबेला लडिरहनुहुन्थ्यो ! प्रधानमन्त्रीमा चैँ सत्रपल्ट लड्नु भकोथ्यो !’
‘हुँ’.. डाक्टर गम्भीर देखिए ! अनि राष्ट्रपतिमा चैँ लड्नुभएन ?
राष्ट्रपतितमा त एकै खेपमा उक्लिनु भो ! आरजुका खसम, ज्ञानुका बाउ, गायत्रीका मालिक सबै लागेका थिए नि त ! गठबन्धक पनि सँगै थियो ! उताकालाई नागरिकपत्र दिने कुरो मिलेपछि पारिकाले पनि वाके भन्याथे रे ! त्यसैले पास हुनुभो ! मेरा खसम त सारै ट्यालेन्स पो त ! राष्ट्रपतित भएपछि चैँ ठुलै बिराम बोक्नुभो जस्तो लागेर भर्खरै इण्डे लगेर समेत जाँच गराइयो ! पारिका डाग्डरले केही बिराम छैन भनेपछि घर ल्याइयो ! यता आएपछि पनि घरी-घरी मुर्च्छा पर्नुहुन्छ ! बेलाबेला मुटु पनि चस्किन्छ भन्नुहुन्छ ! खै के हो ? के हो ? डिग्री लाएर अलि राम्ररी जाँच गर्दिनु न डाग्डर बाबू ! आमैले पुकारा गर्नुभो !
डाक्टर फिस्स हाँसे ! केही भएको छैन ! प्रधानमन्त्रीमा सत्र पल्ट लडेका बाबै एकैपल्ट राष्ट्रपति हुनुभो ! विश्वासै भएन ! विदेश घुम्ने रहर जाग्यो ! ठुलो पदमा पुगेपछि सबैलाई यस्तै रोग लाग्छ ! उहाँलाई पनि लाग्यो ! के गरौँ के गरौँ भो ! बिरामी भैदिनुभो ! डाक्टरले ब्यंग्यात्मक मुस्कान छोडे !
उपचारको बिल आफैं तिर्छु भनेर फेरि अर्को उपद्रो बोल्नुभो बाले ! जोसमा बोलिहाल्नुभो ! कागती समेत बाँडेर खान नजान्नेले साँच्चै यत्रो रकम तिर्नुपर्दा मुटु त चस्किहाल्छ नि ! साँच्चै भन्नुपर्दा बाबैको रोग भनेकै लोभ हो ! अब सरकारले पैसा तिर्दिने भनेको छ क्यारे ! बिस्तारै ठिक हुन्छ !
अनि बेलाबेला तर्सिने र मुर्छा पर्ने चैँ के हो नि डाग्डर बाबू ?
बाबैको उपद्रो नि ! अरु के हुनु ? अदालतले समेत ज्यानमारा भनेर सजाय तोकेकालाई माफी मिनाहा दिएपछि टिकापुरका प्रहरी आत्माले तर्साएर यस्तो भएको हो ! पिण्ड खाने बेलामा लिण्ड खाएपछि यस्तै त हुन्छ नि ! जतासुकै सही नधस्काउने र आफ्नो विवेक प्रयोग गर्ने हो भने बाबैले सेन्चुरी हान्छन् !
०००
कोठाको अर्को बिरामीतिर फर्केर सोधे डाक्टरले- अनि तपाईंलाई चैँ के भएको नि बाजे ?
डाक्टरको बोली भुइँमा झरिसक्दा बाजे डाँको छोडेर रुन थाल्नुभो ! वरिपरिका सबै आत्तिए ! डाँको सिथिल भएपछि आँखा र नाक सँगसँगै पुछ्दै बर्बराउन थाल्नुभो- म ज्ञानुको बाउ ! प्राचीनकालमा प्रितम सिंहको बसमा खलासी थिएँ ! म यसैपनि भावुक मान्छे ! त्यसमाथि बेलाबेला सेन्टिमेन्टल समेत भैदिन्छु ! भावुक र सेन्टिमेन्टको फ्युजनबाट कहिलेकाहीँ मेरो चुकुल खुस्किन्छ ! घरपरिवार पाल्नुपर्ने जिम्मेवारीले थिचेपछि भावुकतामा बग्दा यात्रुबाट उठाएको पैसा हिनामिना गर्नेदेखि बसका नटबल्टु कवाडीलाई बेच्नेसम्म गर्न भ्याइयो ! एकपटक त प्रितमको पगडी नै चोरेर सितेलाई सारी बनाइदिएको सम्म छ ! मेरो कर्तुत थाहा पाएपछि प्रितमले घोक्रेठ्याक लाइदियो ! अनि मैले उसलाई प्रितम सिंह हैन खत्तम सिंह भन्न थालेँ !
खलासीबाट निष्कासनमा परेपछि केही समय मास्टरी समेत गर्न भ्याएँ ! मास्टरी पनि खासै जमेन ! बेहोरा खलासीकै थियो ! कसरी जमोस् ? निकै सोचचिार गरेर चाँडै फस्टाउने ब्यापार राजनीतिमा हात हालेँ ! हात त हालियो तर कहिल्यै माथि पुग्नै सकिएन ! बेहोरा खलासीको भएपनि म सारै धुर्त ! सय स्याल एउटै पार्टी खोलेर आएपनि धुर्त्याइँमा मलाई कसैले नभेट्ने ! माथि पुग्नका लागि जनयुद्ध नामको बुटि बोकेर जङ्गल पस्ने निधो गरेँ ! गाउँका सोझासाझा दलितका भान्सामा पसेर उनिहरूकै थालमा भात खाँदै जनयुद्धको बुटी सुँघाइदिएपछि सबै मेरो पछि लागे ! सिंहदरबार तिमीहरूकै हुन्छ भन्दिएँ ! राजा खेदेपछि तिमीहरू नै राजा हुन्छौ भन्ने गफ दिएँ ! मलाई प्रचण्ड देखे ! बिचराहरूलाई के थाहा ? नाम प्रचण्ड भएपनि काम मुर्खण्ड छ भन्ने ! मेरो पछि लागेर बन्दुक बोके ! निर्दोष मान्छे मारे ! बैंक लुटे ! सर्वसाधारण निरीह लुटे ! कर्मकुकर्म सबै गरे ! यता सबै उचालेर आफू सपरिवार इण्डिया पसे !
इण्डिया बस्दा उतैकाले पाले पोसे ! मलाई इण्डियनले उचाले ! मैले सोझा नेपाली उचालेँ ! पारिको खेसरीको दाल खाँदा-खाँदा वाक्क भइसकेको बेला गिरिजाले फुत्त सिटौला पठाए त्यो पनि हेलिकप्टर लिएर ! छेउमै राखे ! इण्डियनले बनाइदिएको कागज तयार थियो ! जता भने उतै सही धस्काइदिएँ ! गिरिजाले निकै माया गरेर एमाले बराबरकै सिट दिए संसद्मा ! नदिउन् पनि कसरी ? राष्ट्रपतिको ललिपप देखाइदिएको थिएँ मैले !
संविधानसभाको चुनावमा कतिले आसले त कतिले त्रासले भोट दिए ! सोच्दै नसोचेको रिजल्ट आयो ! म फ्याट्टै प्रधानमन्त्री हुनपुगेँ ! बोकाको मुखमा कुभिण्डो भो मलाई ! फेरि खलासी बेहोरा अगाडि आयो ! कटुवालसँग जोरी खोज्न पुगेँ ! हिन्दीमा चारोखाने चित् भन्छन् नि ! कटुवालले त्यस्तै बनाइदियो मलाई ! बिछिप्त भएँ ! फेरि चुकुल खुस्कियो- सात हजार लडाकु पैँतिस हजार बनाएँ भनेर कुर्लिएँ ! पन्ध्र हजारमध्ये पाँच हजारको जिम्मेवारी लिन्छु समेत बकेँ ! तर मैले जे बके पनि जे गरे पनि सय स्यालले समेत नसक्ने म कोहीबेला आरजुको पोइ कोहीबेला राधिकाका पोइलाई उल्लु बनाउँदै घरी-घरी प्रधानमन्त्री पड्काउँदैछु !
प्रितमको गुह्य कुरो चैँ के हो भने- पारि बस्दा एकपटक प्रितम सारै बिरामी भयो ! मेरो परिवारले उसको खुब सेवा गऱ्यो ! मैले त उसको डाइपर फेराउने सम्मको कर्म गरेको छु ! मेरो सेवाबाट प्रितम सारै खुशी भएर विगतको तितो बिर्सेर मलाई प्रधानमन्त्री बनाउन दौडधुपमा लाग्यो ! नगरबधुले ठमेलमा बर नभेटे रत्नपार्कमा, रत्नपार्कमा नभेटे ठमेलमा भनेझैँ भो ! म त झन् राष्ट्रिय वधु ! नभेट्ने कुरै भएन !! बुढानिलकण्ठबाट निस्केपछि बालकोटमा वधु भेटेकै हो ! हरेक रात सुहागरात जस्तो थियो ! किलकिले नभको मुर्खण्ड फ्याट्टै प्रितमको कुरो ओकल्न पुगेँ ! उखानजीले च्यापु समाइहाले ! नओकलेको भए नि हुन्थ्यो ! ज्ञानुको बाउ भएर भावुक हुनपुगेँ ! म पनि सुपर छट्टु ! बालकोट पुगेर उखानजीको सेवा गरेँ ! डाइपर फेराइदिएँ ! चरणामृत पिएँ ! एकपटकलाई फेरि उल्लु बनाउन सफल भएँ ! कुर्सी जोगियो !
अहिले म शोकमा छु ! इण्डिया गएर मोदिको आदेश मान्दै घुँडा मारेर निधारभरी चन्दन घस्ने, पशुपति पुगेर पुजाको स्वाङ गर्दै फोटो खिच्ने अनि स्वास्नीको कृयाकर्म चैँ गरेन भनेर स्यालहुइयाँ मच्चिएको छ जसको म कुनै तुक देख्दिनँ ! युद्धका बेला गाई काट्दै हिँडेकै हो ! मन्दिर भत्काउँदै हिँडेकै हो ! भैंसीपुजनको नाटक यति छिटो बिर्सिने तपाईंहरूनै उल्लु हो नि !
अब के गर्नुहुन्छ त ? मुर्खण्डलाई प्रचण्डको भ्रम पालेर बस्ने तपाईंहरूकै कर्म खोटो ! यस्तैको फेलापर्नुभो त ! भोग्नुस् !! कतिन्जेल भोग्नुपर्ने हो ?
डाक्टर ट्वाल्ल परे ! कोठा नम्बर ४२० का दुवै बिरामीलाई पालैपालो हेरे ! बाथरुम पसे ! आँखामा पानी छ्यापे ! बाहिर आएर बिस्तारै पेन टिपेर रेफर प्रेस्किप्सन लेखे- यी र यस्ता मष्तिष्कमा खोरेत बोकेका लोभिपापी बिरामी रहुन्जेल मुलुकको दुर्गती निश्चित छ ! यहाँ सम्भव नभएकाले कुनै राम्रो भेटनेरी खोजेर उपचार गर्न सिफारिस गरिएको छ !
प्रतिक्रिया