शिखा सरिको बनोस् यो देश !

शिखा सरिको बनोस् यो देश !


✍ शोभा काफ्ले खतिवडा

गगन झैँ सुकिला हुन मेरो देशका पाटा
पवन झैँ उज्याला हुन मेरो देशका बाटा
सघन हुन है भूमिका अक्कर, भीर-पाखा
मनमगन होस् देखेर देशको हरेक शाखा

घाम झैँ बनुन् हामी नेपालीका शुभकर्म
मानवीयताले मनमोहक बनुन् हाम्रा धर्म
कला-संस्कृति, मठमन्दिर बनुन् समुज्वल
ज्ञानका विद्यालय खुलुन् जताततै अनुकुल

बनुन् राष्ट्र समृद्ध काली र कर्णालीसम्म !
हिमाल पहाड़ तराइ ढाकी फलुन् है अन्न !!
नहोस यहाँ असुरक्षा कुनै वर्गलाई बाँच्न !
नपरोस् कसैले दुःखले रुन सुख होस् बाँच्न !!

जलशक्ति आयआर्जनको मूलस्रोत बनोस् !
पर्यटनमा मेरो देश विश्व मै पहिलो होस् !!
माटो मगमगाओस् यो धर्तीको सँधै मगमग !
नेपालको सुवास चलोस् विश्वभरी पग पग !!

अब शक्तिशाली हामी सब पो बन्नुपर्छ !
एकताको माला त सद्भावले नै बुन्नुपर्छ
देश रहे पो रहन्छौँ हामी नेपाली सुखी बनेर
यो बलियो विकसित बने रहन सक्छौँ रमेर ।