अभिनेताबाट निर्देशक बनेका सरोज भन्छन्- ‘म कथावाचक हुँ’

अभिनेताबाट निर्देशक बनेका सरोज भन्छन्- ‘म कथावाचक हुँ’


चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसकेका व्यक्तित्व हुन् अभिनेता सरोज खनाल । तीन दशकको अभिनय यात्रापश्चात् उनी अब त निर्देशकसमेत बनेका छन् । छोटो चलचित्रको निर्देशन गर्ने योजना बनाए पनि विषयवस्तुले उनलाई ठूलो पर्दामै निर्देशक बनायो । त्यही कारण अभिनेता खनालको परिचयमा निर्देशक थपिएको छ । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ गत साता शुक्रबारदेखि नेपालभर प्रदर्शनरत छ । आफू योजना बनाएर नै निर्देशनको यात्रा नउत्रिएको जानकारी दिँदै उनले भने- ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पुऱ्याउनुपर्छ भन्ने लाग्यो, यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।’

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे । किनकि ती कलाकारहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त थिए । तर, वरिष्ठ कलाकारहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन । ‘मैले छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केवल चरित्र र दृश्यलाई सम्झाएँ, र राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए । त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । आफैँसँग धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन् ।

आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ । यद्यपि उनले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए । चलचित्र ‘बगान’मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।