आजको पञ्चाङ्ग एवम् राशिफल (८ श्रावण २०८० सोमबार, २४ जुलाई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ श्रावण २०८० सोमबार, २४ जुलाई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ८ गते सोमबार तद्अनुसार सन् २०२३ जुलाई २४ तारिख अधिक श्रावणशुक्लपक्ष षष्ठी तिथि ९ः१८ पर सप्तमी तिथि हस्ता नक्षत्र शिव योग गर करण आनन्दादियोगमा बज्रयोग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः२३ बजे भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

आजको राशिफल

मेष – पूर्वसावधानीको अभावले केही चुनौती झेल्नुपर्ला । आज तपाईंको कुरा काट्नेहरू सक्रिय रहलान् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आगो तथा हातहतियारबाट सावधान रहनुपर्ने समय छ । आर्थिक सङ्कटबाट बच्न सावधानी अपनाउनुहोला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । व्यपार–व्यवसायमा पनि उन्नति होला । कला क्षेत्रमा रुचि बढ्नेछ । तथापि, कार्यालयको काममा संलग्न भएकाले अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित हुनसक्ने सम्भावनासमेत छ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – अल्झेको काम बन्नाले मन उल्लसित रहला । प्राविधिक काममा सफलता प्राप्त हुने दिन छ । आत्मविश्वास जाग्नेछ, वैदेशिक क्षेत्रको लगानी खेर नजाला । प्रशन्नता मिल्ने समय छ । आफन्त एवम् मित्रजनसँग भेट होला । पढाइमा भने खासै प्रगति हुने छैन । व्यस्तता बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । विरोधिपक्ष परास्त होलान् । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मनमा शान्ति छाउनेछ ।

सिंह – केही चुनौती सामना गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । तथापि, सहयोगी हातहरू फेला पर्नेछन् । चोटपटकको योग रहेकोले आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या – आरोग्यता र आनन्दपन वृद्धि हुने समय छ । महत्वपूर्ण कामहरू बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । मनमा शान्ति छाउनेछ । परिवार एवम् मित्रजनसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने दिन छ । आर्थिक क्षेत्रमा लाभ हुने संकेत छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, साथै मिष्ठान्न भोजनको योग रहेको छ । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयबलका साथै दायित्व बढ्नेछ । रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ने समय छ । व्यापारमा पनि सुधार आउनेछ । सन्तान पक्षबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ भने काम गर्न जाँगर चल्नेछ । खर्च भने वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दिन मध्यम खालको छ । परिश्रमअनुसार उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् भने खर्चचाहिँ वृद्धि हुने योग छ । प्रतिष्पर्धीहरूको चलखेल बढ्न सक्ने समय भएकोले सावधानीका साथ कदम अघि बढाउनुहोला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दौडधुप वृद्धि हुनेछ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेकोले होसियारी अपनाउनुपर्ने समय छ । तथापि, आज खर्चभन्दा कमाइ नै बढी होला । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – समय शुभकारी छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काममा मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । प्रेमबल वृद्धि हुनेछ । सुखसुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।