पछिल्ला केही वर्षदेखि गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गुको सङ्क्रमण फैलिन्छ । आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् । इम्युनिटी पावर कमजोर रहेको व्यक्तिलाई डेङ्गुले नराम्रोसँग सताउँछ र ज्यानैसमेत लिन सक्छ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । यस वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सो महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जानेछ । वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको छ । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको थियो भने भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भइ देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।
‘बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ, निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ’, डा. मरासिनी घन्छन् । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।
महाशाखाका अनुसार गत असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुग्यो । यो क्रमले यतिबेला झनै तीव्रता पाएको छ । महाशाखाका निर्देशक डा. मरासिनीले एकवर्षे कार्ययोजनाअनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकिएको छ ।
कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ । यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ । वर्षायामसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेङ्गु पहिचानका लागि आवश्यक डेङ्गु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ ।
पछिल्लो समय पूर्वका लगभग दर्जन जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण फैलिएको छ । झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु फैलिएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईंका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन् । यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ । डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।
सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ । पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेङ्गुका बिरामीको दुईतिहाइ सङ्ख्या सुनसरीमा नै छन् ।
ज्ञातव्य छ, गत वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो । डेङ्गुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ । मृत्यु भएका व्यक्तिमा डेङ्गुसँगै निमोनिया, स्क्रवटाइफसलगायतका सङ्क्रमणसमेत पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्ययोजनामा डेङ्गु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट-स्पट पहिचान गर्ने, डेङ्गु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनामा उल्लेख छ ।
प्रतिक्रिया