ऐतिहासिक ‘भद्रपुर पुस्तकालय’ पुनः सञ्चालन अभियान

ऐतिहासिक ‘भद्रपुर पुस्तकालय’ पुनः सञ्चालन अभियान


७५ वर्षअघि स्थापित झापाको सदरमुकाम भद्रपुर-५ स्थित ‘भद्रपुर पुस्तकालय’को जीर्णोद्धार, पुनरुत्थान र पुनःसञ्चालनका लागि यहाँ नागरिकस्तरबाट अभियान शुरु गरिएको छ ।

भद्रपुर बजारस्थित आफ्नै जग्गा र भवनमा करीब ४० वर्ष अघिसम्म सञ्चालनमा रहेको पुस्तकालय त्यसपछि विभिन्न समितिहरू बने पनि सञ्चालन हुन नसक्दा पुस्तकालय बेस्याहार र भवन जीर्ण हुन पुगेको छ । अब सो पुस्तकालयको पुनर्निर्माण गरी समयसापेक्ष आवश्यकता अनुरुप पुस्तकालय बनाउने योजना सहित अभियान शुरु गरिएको हो ।

सो ऐतिहासिक पुस्तकालयलाई पुनर्जीवन दिन आवश्यक रहेको बोध गर्दै प्रेस क्लब-भद्रपुरले नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न यही असार २७ गते भद्रपुर-८, सगरमाथा चोकस्थित होटल डे-ग्लोको सभागारमा ‘भद्रपुर पुस्तकालयको जीर्णोद्धार, पुनरुत्थान तथा सुसञ्चालनका लागि सार्वजनिक विमर्श’ कार्यक्रम आयोजना गरेको हो ।

नगर क्षेत्रका सचेत नागरिक र विभिन्न संघ-संस्थाको प्रतिनिधित्व गर्दै सो विमर्शमा सहभागी वक्ताहरूले २००७ सालमा स्थापित भद्रपुर पुस्तकालय नगरको ऐतिहासिक धरोहर रहेको बताउँदै त्यसको संरक्षण गर्न आवश्यक रहेको र समयानुकूल स्तरीकरण गरी पुस्तकालय सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

विमर्शमा सहभागी प्रमुख अतिथि नगर-प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेटमै पुस्तकालय पुनः सञ्चालनका लागि केही रकम विनियोजन गरेको उल्लेख गर्दै भद्रपुरको ऐतिहासिक पहिचान गाँसिएको भद्रपुर पुस्तकालयको पुनर्जीवन अभियानलाई नगरपालिकाले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

पहिलो चरणमा जीर्ण भवन हटाउने, पुस्तकालयमा रहेका पुस्तकहरू र ऐतिहासिक दस्तावेजको संरक्षण गरिने र त्यसपछि भवनको पुनर्निमाण गरी पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै भविष्यमा ई-लाइब्रेरी समेतमा स्तरीकरण गर्ने तर्फ नवगठित समितिसँग सहकार्य गर्दै आवश्यक पहल गर्न नगरपालिका तत्पर रहेको उनको कथन थियो ।

‘सञ्चारकर्मीहरू समाचार–लेखनमा मात्रै नभएर सार्वजनिक धरोहरहरूको संरक्षणका खातिर समेत उत्तिकै चिन्तित र जागरुक रहनु सकारात्मक हो र यस कुरालाई प्रेस क्लब-भद्रपुरले प्रमाणित गरेको छ’ भन्दै नगर-प्रमुख पोखरेलले सार्वजनिक सरोकारको भद्रपुर पुस्तकालयको विषय केही समय यता निकै चासोका साथ उठाउँदै नागरिक समाजको भेला आयोजना गरेर थप सामाजिक उत्तरदायित्व वहन गरेकोमा प्रेस क्लबलाई धन्यवाद ज्ञापन गर्दछु’ भनेका थिए ।

सार्वजनिक विमर्श कार्यक्रममा उपप्रमुख राधा कार्की, वडा न. ५ का अध्यक्ष बन्धु कार्की, ८ न.का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’, ७ न.का वडाध्यक्ष अभिषेक ढुंगानाले पनि ऐतिहासिक महत्व बोकेको भद्रपुर पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आफूहरू र सिंगो नगर कार्यपालिका पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै यो विषय प्राथमिकताका साथ उठान गर्दै नगरपालिकालाई झक्झकाएकोमा प्रेस क्लबको प्रशंसा गरेका थिए ।

भेलामा झापा उद्योग संघका अध्यक्ष एवम् पुस्तकालयका लागि १० धुर जग्गादाता परिवारका प्रतिनिधि शिवकुमार गुप्ता, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, उद्योग संघका निवर्तमान अध्यक्ष यामबहादुर श्रेष्ठ, तत्कालीन चन्द्रगढी गाविस अध्यक्ष तथा समाजसेवी दुर्गाप्रसाद भट्टराई, प्राडा. पृथ्वीबिक्रम राई, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव राजु पाठक, गुरुकुलकी अध्यक्ष शान्ता बराल, पुस्तकालयका पूर्वअध्यक्ष हुलासचन्द्र सरिया र पूर्वउप-प्राध्यापक एवम् पुस्तकालयका पूर्वकर्मचारी रमेश भूर्तेल, सत्मिलन महिला समूह-चन्द्रगढीकी अध्यक्ष यशोदा कोइराला लगायतले ऐतिहासिक पुस्तकालयको पुनर्संरचना र नियमित सञ्चालन अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

भेलामा भद्रपुर पुस्तकालय पुनः सञ्चालन भएर ई-लाइब्रेरीको स्थापना गर्ने अवस्थामा कम्प्युटर लगायतका प्रविधिजन्य उपकरणका लागि सहयोग प्रदान गर्न सकिने भनी रोटरी क्लब अफ् बिर्तामोड मिडटाउनका तर्फबाट सञ्चारकर्मी समेत रहेका सन्तोष अग्रवालले जनाएको प्रतिबद्धता-सन्देश सुनाइएको थियो ।

सोही विमर्श भेलामा नगर-प्रमुख पोखरेलबाटै प्रस्ताव गरिएअनुरुप सेवानिवृत्त सह–प्राध्यापक एवम् स्थानीय नागरिक एफएम.का ब्यूरो-चिफ चिन्तामणि दाहालको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । नवनियुक्त संयोजक दाहालले अब बढीमा ९ सदस्यीय भद्रपुर पुस्तकालयको कार्यसमिति गठन गर्ने र समितिले आवश्यकता अनुसार सल्लाहकार मनोनयन गर्न सक्ने जानकारी दिएका छन् ।

प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरको सभापतित्वमा सम्पन्न सार्वजनिक विमर्श भेलामा क्लबका सचिव द्रोण अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने क्लबका सल्लाहकार गोपाल गिरी र निवर्तमान महासचिव डिल्लीरमण नेपालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।