फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा तेइस जनाको मृत्यु, ६ जना बेपत्ता

फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा तेइस जनाको मृत्यु, ६ जना बेपत्ता


फिलिपिन्सको राजधानी मनिलानजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिलानजिकैको लगुना तालमा दुर्घटना भएको हो ।

सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए । उक्त हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन ।’

यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले बताएका छन् । सिराडोसलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको थियो ।

कोस्ट गार्डले सार्वजनिक गरेको उद्धारको भिडियो फुटेजमा एक व्यक्ति डुङ्गाको छेउमा रहेको डुङ्गाको हुलमा उभिएर ‘यहाँ धेरै मानिसहरू छन्’ भन्दै चिच्याइरहेको देखिन्छ । अर्को क्लिपमा दुई जना उद्धारकर्मीहरू डुङ्गाको छेउबाट झुकेर शान्त पानीबाट अचेत जस्तो देखिने एक व्यक्तिलाई उद्धार गरेको देख्न सकिनछ । भिडियोमा एक युवा डुङ्गा चालकले आफूले एक अशक्त व्यक्ति र एक बालिकासहित चार जनालाई बचाएको दाबी गरेका सुनिन्छ ।

आँधीका कारण दक्षिणपश्चिम मनसुन तीव्र हुँदै गएपछि आँधीबेहरीको चेतावनीका कारण लुजोन र मध्य टापुहरूमा यस हप्ताको सुरुमा काठका डुङ्गाहरू र टापुहरूबीच यातायात प्रदान गर्ने यात्रीहरूलाई तटमा जान आदेश दिइएको थियो ।

सात हजारभन्दा बढी टापुहरूको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूलाठूला दुर्घटना हुने गरेका छन् । यहाँ सामान्यतया माछा मार्न वा मानिसहरूलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुङुगा प्रयोग गरिने गरेको छ । प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनाहरूमा धेरै व्यक्तिको मृत्यु हुने गर्छ ।