इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु : प्रधानमन्त्री

इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु : प्रधानमन्त्री


photo: rss

प्रधानमन्त्री प्रचण्डले आफ्नो इटाली भ्रमण सफल भएको बताउनुभएको छ । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ ।

‘भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु’, उहाँले भन्नुभयो । सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उहाँले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसङ्घ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका क्रममा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटन समारोहमा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्रको अध्यक्षका हैसियतमा सम्बोधन गर्नुभएको थियो ।

उहाँले सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रका रुपमा लिइएको ‘खाद्य प्रणालीमा रुपान्तरणको अभ्यास, सफलता र आगामी बाटो’ मा नेपालका प्रतिनिधित्व गर्दै मुख्य वक्ताका रुपमा सम्बोधन गरेको बताउनुभयो । ‘सम्मेलनका क्रममा ‘विद्यालय खाजा कार्यक्रमसम्बन्धी सत्र’लाई पनि सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरेँ’, उहाँले भन्नुभयो ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधनका क्रममा आफूले खाद्य सुरक्षा, पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाद्यमा सहज पहुँच, दिगो कृषि विकास, गरिबी निवारण, भोकमरीको अन्त्यलगायत ‘एजेन्डा-२०३०’ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको प्रधानमन्त्रीलेको भनाइ छ । ‘अतिकम विकसित मुलुकका करोडौँको सङ्ख्यामा रहेका जोखिममा परेका नागरिकलाई आशाको दियो सञ्चार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सामूहिक प्रतिबद्धता देखाउनुपर्ने खाँचो पनि प्रस्ट पारेको छु’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि प्रविधि, मल, बजार, पूँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताउनुभयो । उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसङ्घका महासचिव, इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत सम्बोधन गर्नुभएको थियो ।

‘विद्यालय खाजासँग सम्बन्धित सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारबाट भएका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेँ’, उहाँले भन्नुभयो, ‘दिवा खाजा कार्यक्रमसम्बन्धी नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो ।’ नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाखभन्दा बढी बालबालिका लाभान्वित भएका छन् । उक्त कार्यक्रमबाट विद्यार्थीको भर्ना सङ्ख्या, हाजिरी, र उनीको सिकाइको स्तरमा उल्लेख्य परिवर्तन आएको छ । नेपालले गत पाँच वर्षमा दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्मेलनका दौरान औपचारिक कार्यक्रमका अतिरिक्त महत्वपूर्ण द्विपक्षीय भेटवार्ता तथा संवाद भएको जानकारी दिनुभयो । सम्मेलनका क्रममा आफूसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गटुरेसको भेट भएको र सो भेटमा संयुक्त राष्ट्रसङ्घ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पुर्‍याएको योगदान, बहुपक्षीयता, जलवायु परिवर्तन, गरिबी निवारण तथा खाद्य सुरक्षालगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटघाट भएको जानकारी दिँदै उहाँले भेटमा नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बङ्गलादेशबीचको सहकार्यलगायत विषयमा सौहार्द्धपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

‘बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ, आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने सहमति भएको थियो । ‘त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत् निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘बङ्गलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।’

उहाँले भ्रमणका क्रममा गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायसँग विभिन्न विषयमा छलफल गरेको जानकारी दिनुभयो । सातदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीनेतृत्वको भ्रमण दलमा उहाँका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।