छोरीलाई जबर्जस्ती करणी गरी गर्भवती तुल्याउने बाबु पक्राउ

छोरीलाई जबर्जस्ती करणी गरी गर्भवती तुल्याउने बाबु पक्राउ


मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।

ती पुरुष धादिङको धुनिवेशी नगरपालिका-१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी गरिएको पीडित नाबालिकाको जाहेरीमा उल्लेख भएको छ ।

पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ ।

धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबर्जस्ती कसुरमा धादिङ अदालतले तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारको भनाइ छ ।