नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीत-सङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीत-सङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत-सङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रमा गीत-सङ्गीत झै कथावस्तुले चर्चा पाउन सकेन ।
प्रचारप्रसारको सशक्त माध्यम मानिए पनि केही समययता भने गीत-सङ्गीतमा उल्लेख लगानी भएको पाइँदैन । गीत-सङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलले बताउँछन् । ‘चलचित्रमा हुने गीत-सङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन’, सङ्गीतकार पोखरेलको धारणा छ ।
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने तर्क गर्दै भने- ‘चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलर लगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ ।’ उनले आफूनिर्देशित पहिलो चलचित्र ‘संरक्षण’को गीतको लागि होलीको माहोल सिर्जना गरेको स्मरण गरे ।
निर्देशक प्रदीप भट्टराई पनि गीत-सङ्गीतलाई महत्त्वका साथ चयन गर्छन् । उनीनिर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’को सफलताको श्रेय गीत-सङ्गीतलाई पनि जान्छ । उल्लेखित चलचित्रको सङ्गीत कर्ण प्रिय बनेका थिए । ‘हामीले कथाअनुसार नै गीत राख्ने गरेका छौँ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीत-सङ्गीतलाई समेट्ने गरेका छौँ’, निर्देशक भट्टराईले भने । गीत-सङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफलसमेत भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीत-सङ्गीतको आवश्यकता देखिएको छैन ।
प्रतिक्रिया