पर्यटकीय शहर पोखरामा पाँच दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो ।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौदेखिको ल्याण्डफिल साइटमा फोहर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रूपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो ।
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् । महानगरले ६ महिनाभित्रमा फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।
पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको छ । वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रूपमा फोहर लैजान छलफल भइरहेको बताएका छन् । ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीको भनाइ छ । आज आइतबारसम्म सहमति हुने उनको अपैक्षा छ ।
महानगर प्रमुख धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयसँग सम्वाद भइरहेको जानकारी दिँदै भनेका छन्- ‘हामी सम्वादमा छौँ, डेङ्गु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ, फोहर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु ।’
पोखरा महानगरले यसअघि गत पुसमा ६ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहर व्यवस्थापन सुरु गरेको हो । महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया