बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्री दुलालका अनुसार, ऐनअनुसार सो तह प्रदेशसचिवसरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ । यो निर्णयसँगै प्रदेश सरकारमा चार जना सचिव नियुक्त भएका छन् ।
बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया