भारुण्ड चरा र नेपाललाई दशा

भारुण्ड चरा र नेपाललाई दशा


स्वदेशी ऊर्जावान जनशक्तिको बाध्यात्मक विदेश पलायनको लर्काे घटेको छैन र घट्ने सम्भावना पनि कल्पनातीत भइसकेको छ भने तिनका खाली ठाउँमा विदेशी जनसंख्याको अतिक्रमण तीव्र छ । परापूर्वदेखि ‘कृषिप्रधान देश’ गौरवमय पहिचानप्राप्त यो देशका मलिला फाँटहरू बाँझिने क्रम बढ्दो छ । खाद्यान्न र चूला-चौकाका निम्ति अनिवार्य सामग्री आयातका धन्धा फस्टाउँदै-झाङ्गिँदै गएको छ ।
✍ नकुल काजी

देशबाट दलबिहीन पञ्चायती शासन व्यवस्था अवरोपण गरी संसदीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न २०१७ सालदेखि प्रतिबन्धित राजनीतिक दलहरूले उसै बेलादेखि देख-अदेख संघर्ष गर्दै आएका थिए । त्यस क्रममा २०४६ सालको जन-आन्दोलन निर्णायक बनेको हो । सो आन्दोलनको सफलतामा पञ्चायती शासन-संयन्त्रका भूमिका पनि उल्लेख्य रूपमा महत्वपूर्ण थियो । तिनले मौजुदा पञ्चायती सरकारलाई विभिन्न प्रकारले असहयोग गरेर मात्र होइन, नैतिक दृष्टिमा बिझाउने धोका दिएर, दलहरूको सो आन्दोलनलाई ठूलो सहयोग पु¥याएका थिए । त्यसको ब्याज अहिले प्रकारान्तरले उठाइरहेका छन् ।

नागरिक अवबोधमा पञ्चायतका प्रति अविश्वास, दुत्कृति र नकारात्मकता भर्ने सो आन्दोलनका रणनीतिहरूमध्ये एउटा थियो, जुन काममा तत्कालीन कर्मचारीतन्त्रको भूमिका वास्तवमै महत्वपूर्ण थियो । वर्तमान ‘राजनीति’को समग्रतामा कर्मचारीतन्त्रको त्यस समयको त्यो हैसियतलाई एउटा बलियो उपक्रम मान्न हिच्किचाउन पर्दैन । किनभने, त्यही उपक्रमले खडा गरेको सोपान टेकेर आज देशमा घुसखोरी, कमिशनखोरी, कुशासन, अवाञ्छित तत्वहरूसँगको मिलिभगत जस्ता नीतिगत र व्यक्तिगत चिथोऱ्याइँबाट मुलुक र मुलुकी दुवै आक्रान्त छन् ।

पञ्चायतको अवसानपछिका तीन लामा-छोटा कालखण्ड (प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र)का दर्जनौँ सरकारहरू स्वयम् पनि ठ्याम्मै अनुद्विग्न त अवश्यै नहोलान् । उनीहरूलाई पनि ‘भारीमाथिको सुपारी’ त भइरहेकै हुन पर्दछ- देशको ‘स्थायी सरकार’ मानिने कर्मचारीतन्त्र !

अझ यसले सीमा नाघेर ‘देश’ को परिभाषा अन्तर्राष्ट्रिय सीमारेखाभित्रको माटो (भूगोल) मात्रमा सीमित गर्ने मोड लिएको छ । जसको कैरन छोटो हुँदैन । र, उपर्युक्त विग्रहकारी उपक्रमलाई राज्यशक्तिका नयाँ राजाहरू एवम् तिनका भाइ-भारदारले ‘राम्रा’ (योग्य, इमान्दार, सक्षम र सेवाधर्मी)हरूभन्दा ‘हाम्रा’ (नाता-गोता, कुल-कुटुम्ब, अन्धसमर्थक, व्यावसायिक साझेदार इत्यादि)लाई आ-आफ्ना अधिनस्थ प्रशासनिक-प्राविधिक संयन्त्रमा भर्ति गर्ने दुष्कर्मको संगति दिएर अझ घातक बनाएका छन् ।

स्वदेशी ऊर्जावान जनशक्तिको बाध्यात्मक विदेश पलायनको लर्काे घटेको छैन र घट्ने सम्भावना पनि कल्पनातीत भइसकेको छ भने तिनका खाली ठाउँमा विदेशी जनसंख्याको अतिक्रमण तीव्र छ । परापूर्वदेखि ‘कृषिप्रधान देश’ गौरवमय पहिचानप्राप्त यो देशका मलिला फाँटहरू बाँझिने क्रम बढ्दो छ । खाद्यान्न र चूला-चौकाका निम्ति अनिवार्य सामग्री आयातका धन्धा फस्टाउँदै-झाङ्गिँदै गएको छ । देशको सर्वाेपरि सम्मानित संविधानका अनुसार मृत भएको ‘नागरिकतासम्बन्धी विधेयक’को मुर्दा हालै राष्ट्रपतिबाट जाग्रत गराइएपछि त्यो जागित्र भएर घटीमा २०-२२ लाख सेसन्तरले नेपाली नागरिकताको बिल्ला भिर्ने अनुमान हुँदैछ । स्वदेशी विदेश पलायन हुँदै जाने र विदेशी सेसन्तर भरिँदै जाने क्रममा नेपाल देशको अस्मिता कहिलेसम्म बलात्कारबाट जोगिएला ? भन्ने डरलाग्दो शंकाले देशभक्त नेपाली मन संत्रस्त हुनु अत्यन्त स्वाभाविक भएको छ ।

मौलिक नेपाली जातीय सनातन संस्कार, धर्म-संस्कृति र जीवनशैलीमाथि पश्चिमी र दक्षिणी कालो-बादल मडारिन थालेका छन् । र, २०४६ सालपछिका राज्यसत्ता हत्याउने सौदावादीको प्रतिस्पर्धा चलिरहेका छन् । यस क्रममा लोकतान्त्रिक विधिसँग अनभ्यस्त नागरिक ‘नेपाली’ अब ‘दलका सदस्य’मा अनुदित भइसकेका छन् । नेता-अगुवाको मनोभाव बमोजिम नै उनीहरू पनि राष्ट्रिय अस्मिता, स्वाभिमान र गौरवभन्दा आफू संलग्न दलको सर्वाङ्गीण अस्तित्व स्वीकार्ने अभ्यास (दलन) तर्फ धकेलिएका छन् ।

यसबेला देशको माटो र हावा–पानीका जिजीविषाप्रति सम्वेदनशील एवम्् ताजा राष्ट्रिय परिस्थिति बुझेका देशभक्तहरू दक्षिण–पश्चिम महासागरीय टापु देश फिजी र लगभग बाह्र सय वर्ष पुरानो इतिहास बोकेको हिमाली देश सिक्किम आफूमा बिझाइरहेका छन् । काश्मीरमा शेख अब्दुल्लाह, श्रीलंकामा बर्दराज पेरुमल, माल्दिभ्समा कालुराम मिन्त्री, नेपालमा प्रजातन्त्र पुनस्र्थापनापूर्व गजेन्द्रनायण सिंह जस्तै इण्डियाका दत्तकपुत्रहरू हाल नेपालका कति थान होलान् ? र, तिनीहरूद्वारा इण्डियाबाट हालसाविकमा आयातीत ‘निमित्त मतदाता’हरूको संख्या कति पुगेको छ- त्यसको अभिलेख आजको प्राथमिकता हो भन्ने पनि सचेत देशक्तहरूमा हुनु पर्थ्यो, जसको अभाव खट्किँदो छ ।

अझ पछिल्ला समय-सालमा त सम्भवतः इण्डियाले यूरोप-स्पेनको क्याटालोनिया प्रान्तमा उर्लेको नश्लवादी आन्दोलन र म्यानमार (बर्मा) का रोहिंग्या मुसलमानहरूले चर्काएका जातीय पहिचानको आन्दोलनको नक्कल गर्न नेपालका मधिशे मुखियाहरूलाई उकासेको ताजा विगत चर्चाहरू पनि नेपाली सतर्क हुनै पर्ने सूचीमा दर्ज थिए । चर्चा सेलाए पनि इण्डियन दत्तकपुत्रहरू र तिनका मुन्सी-मुनिमगणका पृथकतावादी स्वरहरूको गुञ्जन कतै बिसाएको थिएन ।

अतः जंगल, भीर–पहरा र लगभग ४ लाख जनसंख्या भरिएको सानो हिमाली देश सिक्किम त सन् १९५० को इण्डो–सिक्किम सन्धिपछि पछौटेपन र प्रमादी शासकको बेवकुफीका कारण नै इण्डियाको ‘कबिला’ नै बनेर २४ वर्ष धानेपछि सन् १९७४ मा इण्डियामा विलय भएको थियो । इण्डियाको दत्तकपुत्र लेण्डुप दोर्जी खाङ्सार्पा थिए भने उनकी बेल्जियन पत्नी (जो बेल्जियममा अमेरिकी सीआइए एजेन्टबाट सोझै लेण्डुपकी पत्नी भएर) सिक्किम पसेकी थिइन् । त्यति मात्र होइन, स्वयम् राजा (छोग्याल) थन्डुप नामग्यालकी रानी (ग्याल्मो) होप नामग्याल नै विवाहपूर्व अमेरिकी नागरिक होप कुक हुन्, जो पनि सीआइएकै तजबीजबाट सिक्किमकी नारी बनाइएकी थिइन् । यिनीहरूको इण्डियासँग पादार्थिक लेनदेन थियो भन्ने इण्डियन अखबारहरूले सन् १९७४-७५ तिर थुप्रै लेखेका अभिलेख छन् । यिनीहरूकै सहयोगमा इण्डियन नङ्ग्रा बलियो भएको मानिन्छ ।

फिजीमा भने इण्डियन प्रभुत्वको कथा यस्तो छ-

फिजीलाई सन् १८७४ मा बृटिश-इण्डियाले उपनिवेश बनाएको हो । ७,०५४ वर्ग किलोमिटर क्षेत्रफल भएको फिजीमा त्यसबेला ८,०३०० कूल जनसंख्या भएको दुई मूलवासी पोलिनेसियन र मालेनेसियन मात्रको बसोबास थियो । महासागर बीचको टापु भएको त्यस देशका सबै क्षेत्रमा पांगो माटो भएकाले उखु र नरिवल खेतीका लागि उपयुक्त हुने बुझेपछि त्यहाँ पुगेका अंग्रेजहरूले त्यसको खेती गर्न जान्ने किसान इण्डियामा पाइन्छन् भन्ने पनि बुझेर इण्डियाबाट १५० जना हट्टाकट्टा मान्छे कमारा (दास) को रुपमा किनेर लगेका थिए । ९६ वर्षपछि सन् १९७० मा फिजी बृटिश-इण्डियाको उपनिवेशबाट मुक्त भइ पुनः स्वतन्त्र देश बन्यो । त्यस अवधिसम्ममा उक्त १५० इण्डियन कमाराहरूले ‘अपना आदमी’हरू हुल्दै लगेर त्यस देशको कूल जनसंख्याको ४९ प्रतिशत पु¥याइसकेका थिए ।

सन् १९८७ मा त्यहाँका राष्ट्रपति कर्णेल स्टीभिनी रोबुकाले फिजी गणराज्यको संविधान निर्माण गराइ १० वर्ष लगाएर जन-अनुमोदन गराएपछि सन् १९९७ बाट सो लागू गरेका थिए । त्यसबेलासम्म इण्डियन मूलका मतदाता-संख्या मनग्गे भइसकेको थियो । त्यति बेला संविधान निर्दिष्ट विधि-पद्धति बमोजिम कार्यकारी प्रधानमन्त्रीको निर्वाचन भयो । त्यस निर्वाचनमा इण्डियाले त्यहाँका रैथाने दुई जाति मालेनेसियन र पोलिनेसियनलाई अनेक षडयान्त्रिक प्रलोभन एवम् भूलभूलैयामा पारेर दुई अलग-अलग उम्मेदवार खडा गराएर इण्डियन मूलको उम्मेदवार महेन्द्र चौधरीलाई विजयी हुने सहज वातावरण बनाइदिएको थियो । त्यसै बिन्दुबाट फिजी औपचारिक रुपमै इण्डियन प्रभुत्वमा फँसेको हो ।

सम्भवतः फिजीमा आर्जित आफ्नो विस्तारवादी सफलताबाट हौसिएको इण्डियाले सन् २००१-०२ देखि नै सीमावर्ती नेपाली मधेश भूभागमा उसका दत्तकपुत्रहरूबाट विखण्डन र पृथकतामार्गी गतिविधि सक्रिय गराएको थियो । र, यूरोपको क्याटालोनिया र दक्षिण एसियामा म्यान्मारको लगभग समान लक्ष्यका आन्दोलन-शैली समेत अनुकरण गर्न नेपालमा रहेका उसका ‘अपना आदमी’लाई इण्डियाले नै प्रशिक्षित गरेको अनेक अभिलेख जीवन्त छन् । यसैकारण नेपाली मधेशका जमिन्दार-सामन्त नेता-अगुवाहरू र तिनका हजुरी-मतियारहरूलाई समग्रमा ‘इण्डियन दत्तकपुत्र वा उसका मुन्सी-मुनिमहरू’ भनेर भनिएको हुनुपर्छ ।

अतः अहिले यस्ता र कतिपय राष्ट्रिय चासोमा पर्नैपर्ने उम्दा घरेलु विषयका घातदायी प्रकरणहरूले देश दुखिरहेको अवस्था छ । तर, व्यक्तिगत र गिरोहरूपी दलसँग सम्बन्धित स्वार्थपूर्ति गर्नु परे बेशरम भएर भारुण्ड चराको अवतार फेर्ने, अन्य सार्वजनिक उत्तरदायित्व र कत्र्तव्यको सट्टामा सदैव आपसी शत्रुताको भ्रमपूर्ण वैमनस्यता छर्दै मुलुक र मुलुकी अल्मल्याइराख्न नेता-नायकहरू रमाइरहेछन् । र, नागरिक जीवन तिनीहरूप्रति अब किञ्चित विश्वस्त र आशान्वित छैनन् । यही नै वर्तमान नेपाल देशको परिवर्तन-असम्भाव्य यथार्थ हो !

पञ्चतन्त्रमा लेखिएको कथा यस्तो छ : शरीर एउटै, तर टाउको २ वटा भएर जन्मे-हुर्केका चरा कुनै एउटा विशाल नदी किनारामा बस्दा रहेछन् । त्यसरी जन्मदै पेट एउटै भएर जन्मे, हुर्के, बढेर लामो जीवनसम्म अभिन्न भइ बाँचेका भारुण्ड नामको चराका अघि एक दिन कतैबाट एउटा फल बग्दै आएछ । त्यो फल एउटा मुखले लिएर एक्लै खाँदै गरेको अर्काे टाउकोले देखेछ ।
त्यसपछि फल खाँदै गरेको अर्काे मुखलाई उसले भनेछ- ‘हेर ! तिमीले निकै मीठो मानेर त्यति ठूलो फल एक्लै खाइरहेका छौ । अलिकति मलाई पनि देऊ न !’

खाइरहेको टाउकोवालाले भनेछ- ‘आखिर मैले खाए पनि र तिमीले खाए पनि जाने एउटै पेटमा त हों ! बरु निकै मीठो रहेछ, मेरो पोथीलाई निकै मन पर्ने हुँदा अलिकति बचाएर उनैलाई लगिदिन्छु ।’

त्यसपछि ती दुई टाउकाबीच रिसइबी र वैरभाव बढ्दै गएछ । शत्रुता बढ्दै जाँदा अन्त्यमा सर्वनाश हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यो मीठो फलको स्वाद चाख्न नपाएको टाउकोले अर्काेसँग प्रतिशोध लिएरै छाड्ने सोच बनाएछ । संयोगले केही समयपछि त्यही किनारमा एउटा विष फल त्यसरी नै बग्दै आएर किनारमा आएछ । त्यो फल लिएर उसले हाकाहाकी ‘तिमीले पहिले मीठो फल खाँदा जसरी मैले माग्दामाग्दै नदिइ एक्लै खायौ । बरु आफ्नो पोथी र बचेराहरूलाई भनेर साँच्यौ, मलाई दिएनौ । त्यसैले अब म पनि एक्लै यो विषफल खान्छु’ भनेर खाएछ ।

त्यसपछि त एउटै पेटभित्र पुगेपछि शरीरभरि विष फैलियो र दुई टाउके-एक शरीर भएको भारुण्ड चराको मृत्यु भएछ ।

हो… यस कथाले परिवार र समाजलाई मात्र होइन; राज्य सञ्चालकहरूका टाउका जति वटा भए पनि एउटै पेट अर्थात् एउटै मातृभूमिका खातिर एकापसमा इबी, द्वेष र शत्रुता साँध्दा कस्तो परिणाम भोग्नुपर्छ भन्ने गूढ सन्देश दिएको छ ।

  • भद्रपुर-८ (झापा)