नेपालमा आपराधिक तथा अवैध कारोबारमा चिनियाँहरूको बढ्दो संलग्नता

नेपालमा आपराधिक तथा अवैध कारोबारमा चिनियाँहरूको बढ्दो संलग्नता


file fhoto

अवैध रूपमा नेपाल बसेका ८ सय बढी चिनियाँ नागरिक देशनिकालामा परेको पछिल्लो चार वर्षको तथ्याङ्क

  • एसके बैश्य, काठमाडौं

पछिल्लो चार वर्षको तथ्यअनुसार नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ नागरिक देशनिकाला भएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अवैध काममा संलग्न भएको पाइएपछि सन् २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१ मा ३४ जना र २०२२ मा १५० जना देश निकाला भएका हुन् ।

नेपाल प्रहरीका अनुसार चिनियाँहरू पछिल्लो समय नेपालमा अनलाइन ठगीमा सक्रिय देखिएका छन् । यस्तै, एटिएम ठगी, सुन तथा डलर तस्करी, वन्यजन्तु ओसारपसारमा पनि चिनियाँहरू पक्राउ परेका छन् । यसरी हेर्दा चिनियाँ गिरोहले नेपाललाई अपराधको अखडा बनाउने क्रम बढिरहेको छ ।

सात वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधमा संलग्न चिनियाँको संख्या १५ सयभन्दा बढी छ। विशेषगरी उनीहरूले पर्यटन भिसाको दुरूपयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

त्यस्तै, चिनियाँहरू यौन अपराधमा समेत संग्लन हुने गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत चैतमा सामाजिक सञ्जालमार्फत् नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिकालाई पक्राउ गरेपछि यो तथ्यको खुलासा भएको थियो ।

चार वर्षअघि त एकैपटक एक सय २२ जना चिनियाँ पक्राउ परेका थिए । माफिया गिरोहले उनीहरूलाई नेपालमा राखेर अवैध अनलाइन गेमिङ र ठगीको काम गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । भिजिट भिसामा नेपाल आउन‍े र कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको प्रहरी अनुसन्धाले देखाउँछ ।

चिनियाँ नागरिक बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि थप निगरानी बढाएको छ । नेपालमा अन्य व्यवसाय गरेको देखिए पनि चिनियाँहरू भित्रभित्र आपराधिक र अवैध करोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी स्रोतका अनुसार कतिपयले राहदानीसम्म नबोकी चिनियाँ नागरिक नेपाल छिर्ने गरेका छन् ।

नेपालमा चिनीयाँ नागरिकको आपराधिक गतिविधि नौलो भने होइन । विगतका केही वर्षका अपराध शृंखला हेर्ने हो भने कैयौँ चिनियाँ नागरिकहरू नेपालमा दर्जन आपराधिक घटनामा मुछिएका छन् । २०७६ साल वैशाख २६ गते, त्रिभुवन विमानस्थलबाट ४९ वर्षीय वाङ चुन यान चीन जान लागेको बेला एक लाख नेपाली रुपैयाँ, १३ हजार अमेरिकन डलर र ८ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । २०७६ पुष १० गते सीआइबीको टोलीले चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा एकैदिन १ सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौंका विभिन्न ९ वटा घरबाट नियन्त्रणमा लिएको घटना धेरैको मानसपटलमा ताजै होला । चिनियाँ नागरिकले नेपालबाट साइबर क्राइममार्फत चिनियाँ नागरिकलाई नै ठगी गरिरहेको सूचनाका आधारमा चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा उनीहरू पक्राउ परेका थिए । तारकेश्वर, मनमैजु, महाराजगञ्ज, बुढानिलकण्ठका ९ वटा घरमा एकसाथ खोजतलास गर्दा मोबाइल ७ सय ४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान प्रहरीले बरामद गर्‍यो ।

यस्तै, २०७९ साल वैशाख १२ गते काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले फेरि १० जना पुरुष र १२ जना महिलासहित २२ जना चिनियाँलाई पक्राउ गर्‍यो । उनीहरू पर्यटकका रुपमा नेपाल आएर गैरकानुनी काम गरिरहेका थिए । अध्यागमन विभागका अनुसार भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न चिनियाँहरू अहिले जेलमा छन् ।

लगत्तै गत जेष्ठ २४ गते नागढुंगा प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई पक्राउ गर्‍यो। प्रहरीका अनुसार चिनियाँ नागरिक वर्ष ५० वर्षका अङ जाइ किङसहित ४ जना चिनियाँ पर्यटक बी.ए.बी ५७१० नम्बरको गाडीमा उपत्यकाबाहिर सञ्चालित कल सेन्टर तथा अनलाइन जुवा घरमा संकलन भएको स्रोत नखुलेको पैसा लिएर काठमाडौं फर्किरहेका थिए।

file photo

यस्तै, २०७८ साल १ फागुनमा चार केजी आठ सय ४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ लि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । पर्यटकका रुपमा नेपाल आएका ३६ वर्षीय लि विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै जाँच गर्ने क्रममा पक्राउ परेका थिए ।

२०७८ साल कार्तिक १२ गते संखुवासभा प्रहरीले ग्रामीण क्षेत्रमा भेटिएका चीनको सिचुआन निवासी वु छिङ लिङ र सान्दोङ निवासी जाङ फुहेनलाई पक्राउ गर्‍यो। उनीहरू रुद्राक्षको फलमा कृतिम आकार सिर्जना गर्ने उपकरण तथा औषधीसहित संखुवासभा पुगेका थिए । उनीहरूले उपकरण र औषधी प्रयोग गरेर लामो समयदेखि एकमुखे अथवा बहुमुखे रुद्राक्ष श्रृजना गर्ने र सोही दाना देखाएर ठग्ने धन्दा गर्दै आएको पुष्टि भयो।

२०७८ फागुन १० गते काठमाडौको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परे। उनीहरू अनलाइनबाट अवैध कारोबार, कल बाइपास र जुवातास सट्टेबाजी धन्दामा संलग्न थिए । लगत्तै सोही दिन प्रहरीले भक्तपुरको सानोठिमीमा छापा मार्‍यो । त्यतिबेला चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परे। उनीहरू पनि अनलाइन ठगी तथा कल बाइपास धन्दामा संलग्न थिए।

२०७८ असार २३ गते प्रहरीको टोलीले काठमाडौंको ज्याठा गल्लीमा चीनका नागरिकले सञ्चालन गरेको एउटा होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारको खपटा पक्राउ गर्‍यो । होटलमा छापा मार्दा जुवातास र सट्टाबाजी खेलाइरहेको अवस्थामा थप चार जना चिनियाँ पक्राउ परे । निजहरूको साथबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाइको छालाजस्तो देखिने वस्तु १ थान, कस्तूरीको बिनाजस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद भएको थियो । निजहरूको साथबाट राहदानी २ थान, चिनियाँ बैकका एटीएम कार्ड ३५ थान, भौचर पाना ९लेखिएका० २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान सोही होटलमा फेला परेको थियो । २०७८ साउन १५ गते काठमाडौँ प्रहरीले चीनको जि-याङ्-सु प्रान्तका ५६ वर्षीय शी झिवीलाई अवैध रूपमा मदिरा उत्पादन गरिरहेको अवस्थामा ठमेलबाट पक्राउ गर्‍यो।

त्यस्तै, गत मंसिरमा काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भयो । बिहान साढे ११ बजे चक्कु प्रहार गर्ने चिनियाँ नागरिक नै थिए । उनले धारिलो चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएका थिए । ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन् । उनीहरू नेपालमा घुम्न आएका हुन् । तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको थियो । दुई वर्ष उनीहरू जाम्बियामा सँगै बसेका थिए । २९ वर्षीय गान साउजिङको ट्रमा सेन्टरमा उपचारको क्रममा भोलिपल्ट निधन भयो । चक्कु प्रहार गरी साउजिङको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो । यता चुआनको पनि पेटमा गहिरो चोट लागेको थियो ।

चिनियाँ नागरिकले नेपालमा गर्ने अर्को अपराध अवैध सुनको कारोबार हो । नेपालमा भित्र्याइने अवैध सुनमा चिनियाँको संलग्नता हुने गरेको छ । २०७४ सालमा एउटा घटनाले चिनियाँले नेपाललाई सुन तस्करीको मुख्य थलो नै बनाएको देखिएको थियो ।

केही दिन अघिमात्र पनि त्रिभुवन विमानस्थलबाट सय किलो सुन बरामद भएको घटनामा चिनियाँ पक्राउ परेका छन् । उनी सुन तस्करीमा लामो समयदेखि संलग्न रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । गाडीको चक्कामा लाग्ने ब्रेक शुभित्र सुन हालेर यसअघि नै १८ पटकसम्म सुन तस्करी भएको आशंका गरिएको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले त्यतिबेला राति २ बजे क्षेत्रपाटीबाट ८८ केजी अवैध सुन बरामद गरेको थियो । यसबेला भने राजश्व अनुसन्धान विभागले भन्सार कटेर सिनामंगल पुगेको १०० किलो सुन समातेको हो ।

सुनको मुख्य तस्कर चिनियाँ नागरिक थिए । बरामद सुन नेपाल(चीनको केरूङ नाका हुँदै नेपाल भित्रिएको र यो तस्करीमा चिनियाँ नागरिक वान मिङको मुख्य भूमिका थियो । त्यसअघि र पछि पनि नेपालमा पटक पटक चिनियाँ नागरिक संलग्न हुने गरेको अवैध सुन बरामद गरिएको थियो ।

२०६० सालताका भारतीय र चिनियाँ तस्कर मिल्दै रक्तचन्दनको अवैध कारोबार गर्न नेपाली भूमि प्रयोग गर्थे । सिन्धुपाल्चोकको तातोपानी तथा रसुवा नाकाबाट करोबार हुन्थ्यो । तस्करले भन्सार कर्मचारी मिलाउनेदेखि जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकारी र केन्द्रीय नेतासम्म पहुँच बनाउँथे । चिनियाँ धनाढ्यले प्रयोग गर्ने फर्निचरका लागि रक्तचन्दको प्रयोग हुने गरेको थियो ।

रक्तचन्दसँगै अन्य गैरकानुनी काममा चिनियाँ संलग्न हुने काममा डलर, सुन, वन्यजन्तुका अंग, जडीबुटीको अवैध ओसारपसार छन् । नेपालमा अन्य व्यवसाय गरेको देखिए पनि चिनियाँहरू भित्रभित्र आपराधिक र अवैध करोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।