आजको पञ्चाङ्ग एवम् राशिफल (१६ श्रावण २०८० मंगलबार, १ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ श्रावण २०८० मंगलबार, १ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १६ गते मंगलबार तद्अनुसार सन् २०२३ अगस्त १ तारिख अधिक श्रावण शुक्लपक्ष पूर्णिमा तिथि उत्तराषाढ़ा नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा मानस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५१ बजे हुनेछ । पूर्णिमा व्रत ।

आजको राशिफल

मेष – धनमाल हराउने र चिन्ता बढ्ने योग रहेको दिन छ । साथै स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नसोचेको ठाउँमा खर्च हुन सक्छ । दायित्व बढ्नेछ भने यात्रा सफल रहला । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – आजको दिन उत्साहजनक समाचारले हर्ष बढे पनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, आफन्तमिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नति होला । विवाद बढ्ने योग रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने समय छ । नयाँ सवारी साधनप्राप्तिको योग पनि छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने सानै प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । व्यापारका साथै यात्रामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । अधुरा काम बन्ने एवम् नोकरी तथा राजनीतिमा सफल भइने योग छ । गुरुजनको विशेष सहयोग जुट्ने र मंगलमय काम सम्पादन हुने समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने दिन छ । प्रेमभाव वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – आजको दिन काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ । आश्वासन दिएर झुक्याउनेहरूले भने सताउन सक्छन्, गोपनीयतामा ध्यान दिएर काम गर्नु हितकर हुनेछ । निश्चय भएको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । विश्वास गरेका व्यक्तिबाटै धोका मिल्न सक्छ । वादविवादको सामना गर्नु परे पनि नयाँकामका योजनाहरु बन्ने सम्भावना छ । रसरागको भाव वृद्धि होला ।

कन्या – व्यापारमा सफलता मिल्ने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने समय छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन भने नियमित काममा पनि हैरानी बढ्न सक्छ । यसका बाबजुद विभिन्न अवसर जुर्नेछ । आगो र मेसिनरी सामग्रीबाट विशेष जोगिने प्रयत्न गर्नु हितकर होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने सानातिना समस्याका बाबजुद दिन मनोरञ्जनपूर्ण रहनेछ । तपाईंका कामबाट अरुलाई पनि फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ भने धन आर्जनमा राम्रो दिन छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – पराक्रम र आरोग्यता बढ्नेछ । नयाँ कामका स्रोत फेला पर्ने तथा नयाँ ज्ञान सिक्न सकिने समय छ । अप्रत्याशित लाभ होला । अध्ययन-अध्यापनमा पनि प्रगति हुनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । विशेष योजनाहरू बन्नेछन् । मनोरञ्जनपूर्ण दिन रहे पनि विशेष सावधान रहनुहोला । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलामा पर्ने योग देखिन्छ । स्वास्थ्यका लागि खानामा सावधान रहनुहोला । इष्टमित्रको सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

मकर – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथापि, पीडा दिनेहरु सक्रिय हुन सक्छन् सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो आर्जनका कारण सुख मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – शुभता र सामर्थ्य वृद्धि होला । अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । आजको मिहेनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । काममा मन जानेछ । सफलताको दर वृद्धि हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ ।