भोलि कसले देखेको छ र ?

भोलि कसले देखेको छ र ?


हामी खुशी भए पनि समय बित्ने हो, दुःखी भए पनि बित्ने हो । फरक यति हो कि दुःखका दिन र रातहरू लामा र, सुखका छोटा लाग्छन् । घामको प्रकाश र न्यानोपन त उही हो तर आपतविपदको समयमा आङमा न्यायो घाम लागेको महसूस हुँदैन ।
✍ बबिता बस्नेत

हामीमध्ये धेरैले भोलि राम्रो बनाउनका लागि आज राम्ररी बाँच्न पाएका छैनौँ । भविष्यमा यस्तो होला, उस्तो होला… दुःखमा हुनेहरूले भोलिका दिनमा सुख होला भनेर र सुखमा हुनेहरूले भोलि दुःख पाइएला कि… के हुन्छ हुन्छ… भन्ने सोच्दासोच्दै र गर्दागर्दै सहज वर्तमान बाँच्न पाइएको हुँदैन । यसो हुनुमा भोलि केही भयो भने स्वास्थ्य उपचार कसले गर्ला ? रेखदेख कसले गर्ला ? साथमा सम्पत्ति भएन भने हालत के होला ? भन्ने नै मुख्य हो जस्तो लाग्छ ।

हामी आफ्नो भविष्यको बारेमा जति चिन्ता गर्छौं विकसित मुलुकका मानिसहरू त्यति गर्दैनन् । त्यसको प्रमुख कारण उनीहरूलाई राज्यले बुढेसकालमा गर्ने रेखदेख र दिने स्वास्थ्य उपचारलगायतका आवश्यक सुविधा हुन् । त्यसैले त उनीहरू साताभरी काम गर्छन्, छुट्टीमा रमाइलो गर्छन् । वर्षभरि कमाएको पैसाले डुल्छन्, घुम्छन्, विभिन्न अनुभव हासिल गर्छन् । हामी बिहानदेखि बेलुकासम्म काम गर्छौं, छुट्टीमा घरमा बस्छौँ अनि फेरि काममा लाग्छौँ । कतिले त त्यही काम पनि गर्न नपाएर यसै समय गुजार्नुपर्ने अवस्था छ । करिब २२ लाख नेपालीहरू भविष्य राम्रो बनाउनकै लागि विदेशमा रात-दिन नभनी आफूलाई पैसासँग साटिरहेका छन् । कति सिर्जनशील मानिसहरूले कालजयी सिर्जना गर्नुपर्ने आफ्नो अमूल्य समय दुई-चार पैसा कमाउनमा खर्च गरिरहेका छन् । ‘भोलि’ यस्तो समय हो जसलाई अहिलेसम्म कसैले उपभोग या अनुभव गर्न पाएको छैन । कसैले नदेखेको ‘भोलि’ आउने समयका लागि हामी बढी नै चिन्तित हुने गरेका छौँ र, गर्न हुने/नहुने अनेकौँ काम भोलि सहज जीवन बाँच्नकै लागि आज भइरहेका छन् ।

समयका बारेमा धेरैले धेरै कुरा भनेका छन्, त्यसमध्ये अल्बर्ट आइन्सटाइनको विचारमा समय ‘भ्रम’ हो । उनले भविष्य भन्ने कहिल्यै आउँदैन पनि भनेका छन् । त्यसो त धेरैजसो भनाइ परिस्थितिजन्य हुन्छन् । ‘लाइफ इज ब्युटीफुल’ भन्ने भनाइ जिन्दगीमा ठुलो आँधी चलेको महसूस गरिरहेको मानिसमा लागु हुँदैन । तर, समयका बारेमा आइन्सटाइनले भनेको ‘भविष्य कहिल्यै आउँदैन’ भन्ने कुराचाहिँ अहिलेसम्म लागु भइरहेको छ । यही कहिल्यै नआउने कुराको नाममा मानिसहरू तँछाडमछाड गरिरहेका छन् ।

भविष्यमा यस्तो गर्ने, उस्तो गर्ने भनेर सोच्दासोच्दै सहज वर्तमान बाँच्नै नपाइ मानिसको समय बितिरहेको हुन्छ । वर्षौंदेखि भविष्यका लागि देखेको सपना पूरा भएपनि, नभएपनि वर्तमानमै समय सकिन्छ । जब कुनै मानिसको मृत्यु हुन्छ अनि हामी भन्छौँ- यति नै समय लिएर आएको रहेछ ! या, उसको समय सकियो !! आएको पनि समय, गएको पनि समय । आउँदैछ जस्तो लाग्ने पनि समय, जाँदैछ जस्तो लाग्ने पनि समय । जन्मिँदाको पनि समय, मर्दाको पनि समय । यही समय हो जहाँ हामी जन्मन्छौँ, यही समय हो जहाँ हामी हुर्किन्छौँ र आफ्नो जीवनका विविध पाटा बिताउछौँ, यही समय हो हामी मर्छौं, अनि यही समय हो हामी बाँचिरहेका छौँ ।

समयलाई संस्कृतमा ‘काल’ भनिन्छ । कालको अर्थ अँध्यारो र मृत्यु पनि हो । कसैको मृत्युपछि हामी कालले लग्यो या कालगतिले म¥यो पनि भन्ने गर्छौं । कालगतिको अर्थ समयको गति हो । काल तीन प्रकारका हुन्छन् भनेर त हामीले सानो छँदै पढेको हो, भुतकाल, वर्तमान काल र भविष्य काल । समयलाई विभाजित गर्ने क्रममा विगत, वर्तमान र भविष्य भनिएको हो । समयका बारेमा बुझ्न ब्रम्हाण्डलाई बुझ्ने कोशिस गर्नुपर्ने हुन्छ । जुन कुरा एउटै जुनीमा गर्न कठिन छ, कोशिससम्म गर्ने हो । समयको विभाजनलाई बुझ्न ‘अहिले कति बज्यो’ भन्ने कुरा धेरै सतही हुन्छ तर वर्तमानलाई ब्यवस्थापन गर्न घडीले सहयोग भने गरेको छ । केलाई कति समय भन्ने, कहिलेदेखि गणना गर्ने ? युग, शताब्दी, वर्ष, महिना, हप्ता, दिन, रात, साँझ, बिहान, घण्टा, मिनेट, सेकेण्ड कसरी हेर्ने ?

पूर्वीय दर्शनले समयलाई चार युगमा विभाजित गरेको छ, सत्य, त्रेता, द्वापर र कली युग । सत्य युग १७ लाख २८ हजार वर्षको थियो भन्ने छ । त्रेता युग १२ लाख ९६ हजार, द्वापर युग ८ लाख ६४ हजार र कली युग ४ लाख ३२ हजार वर्षको । श्रीमद्भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्तावेज मानिन्छ । जसमा समयलाई विभिन्न पक्षबाट विश्लेषण गरिएको छ । ‘संभवामी युगे युगे’ भनेर कृष्णले हरेक युगमा म हुन्छु भनेका छन् । गीतामा कृष्णले म नै सर्वोपरि हुँ भनेको कुरालाई लिएर कतिपय आलोचकहरूले हिन्दु धर्मका देवताले आफूबाहेक अरु कोही छैन भन्छन्, धर्ममा मपाइँ मात्रै हुन्छ ? भनेर आलोचना गरेको पनि पाइन्छ, तर कृष्णको ‘म’को अर्थ मपाइँ नभइ समय हो भनेर बुझ्नुपर्ने हुन्छ । ‘यदा यदा ही धर्मस्य’देखि ‘संभवामी युगे युगे’सम्मको श्लोकले जब-जब अन्याय हुन्छ त्यहाँ म हुन्छु भनेको छ । हुन पनि हाम्रै देशमा पनि अहिलेसम्म जति पनि परिवर्तनहरू भएका छन् तिनलाई ‘यदा यदा ही धर्मस्य’सँग जोडेर हेर्न सकिन्छ, हेर्न मिल्छ । समय न हिजोका दिनमा उस्तै थियो न आज छ र न भोलि रहनेछ । त्यसैले भोलि राम्रो गर्नका लागि आज राम्रो गर्ने हो न कि भोलिका लागि भन्दै जे पनि गर्ने ।

यो संसार जति बुझ्यो त्यति अनौठो छ । यावत कुरालाई थाँती राखेर समयलाई मात्रै हेर्दा दिन-रातको विभाजन किन र कसरी भयो होला ? भनेर अचम्म लाग्छ । यस्ता कुराहरू जति बुझ्न खोज्यो झन रहस्यमयी लाग्छन् । बुझ्नै नखोजी अघि बढ्दा पनि जिन्दगी एकदिन सकिन्छ नै, जसरी हामीले फेरि रहेको सास अक्सिजन हो भनेर थाहै नपाइ कतिले यो संसार छोडेर गए, त्यसको कुनै हिसाबकिताब छैन । ब्रम्हाण्ड, शरीर र समयका बीच ठुलो तालमेल छ । ६० मिनेटको एक घण्टा हुन्छ, हाम्रो मुटुको धड्कन पनि एक मिनेटमा ६० पटक धड्किन्छ भन्ने छ । ब्रम्हाण्डको समयको गति र मानिसको शरीरका अङ्गहरूको गतिबीचको तालमेल अनौठो छ । घाम झुल्किएर कहाँ पुग्यो बादल लागेको बेला हामीलाई थाहा नहुन सक्छ, साथमा घडी नभएका बेला कति बज्यो भनेर हामीलाई जानकारी नहुन सक्छ । तर, कति बेला खाना खाने, कतिबेला पानी खाने, कतिबेला सुत्ने, कतिबेला दिशा-पिसाब लगायतका कुराको समय हाम्रो शरीरले थाहा पाइरहेको हुन्छ । साथमा घडी नभएर हामीलाई अरु कुरामा फरक पर्ला तर हाम्रो शरीरलाई फरक पर्दैन । शरीर आफैले घडीको रूपमा सबै काम गरिरहेको हुन्छ ।

कहिलेकाहीँ आफू बिहान चाँडै या नियमित भन्दा बाहिरको समयमा उठ्नु छ भने ठ्याक्क त्यही समयमा बिउँझिइन्छ, जुन समयमा विगतमा कहिल्यै बिउँझने गरिएको थिएन । यसको अर्थ माइण्ड र शरीरको सम्बन्ध पनि वैज्ञानिक छ, जसको बारेमा हामीले खासै सोचेका हँुदैनौँ । माइण्ड र शरीरको सम्बन्धका बारेमा कहिलेकाहीँ हामीले ठान्ने बिरामीलाई लिएर पनि अन्दाज गर्न सकिन्छ । आज मलाई गाह्रो भइरहेको छ भनी अल्छी गऱ्यो भने शरीर पनि आलस्य हुँदै जान्छ र, साँच्चैको बिरामी झैँ भइन्छ । तर त्यस्तै अवस्थामा ‘होइन… मलाई के भएको छ र ? यो सानोतिनो कुरा हो’ भनेर सोच्यो भने त्यो आफै हराएर जान्छ । यसको अर्थ माइण्डले निर्देशन गरेको कुरालाई शरीरले साथ दिन्छ भनेर बुझ्नुपर्ने हुन्छ । ब्रम्हाण्डमा औशी पुर्णिमा, दिन रात भए झै मानिसको जीवनमा पनि हाँसो, खुशी, दुःख सुख, पीडा हुन्छन् । हामी खुशी भए पनि समय बित्ने हो, दुःखी भए पनि बित्ने हो । फरक यति हो कि दुःखका दिन र रातहरू लामा र, सुखका छोटा लाग्छन् । घामको प्रकाश र न्यानोपन त उही हो तर आपतविपदको समयमा आङमा न्यायो घाम लागेको महसूस हुँदैन ।

समय बलवान छ, कृष्णदेखि प्लेटो, आइन्स्टाइन हुँदै आफ्नै बुबा-आमासम्मले भनेको कुरा यही हो । भविष्य भन्ने कुरा यो जुनीमा आउँदैन तर विगतको रिफ्लेक्सन नै वर्तमान हुने हुँदा वर्तमान राम्रो बनाइरहन सधैं राम्रो काम गर्नुपर्ने हुन्छ । राम्रोको अर्थ आफू सन्तुष्ट हुने मात्र होइन अरुलाई दुःख नहोस् भन्ने पनि हो । आज राम्रो गरे भोलि राम्रो हुने हो । आज नराम्रो गरेर राम्रो भोलिको कामना गर्न मिल्दैन । जिन्दगीमा ‘आज’ सबैभन्दा महत्वपूर्ण छ, मानिसको जीवनमा आज नै विगत हो र आज नै भोलि पनि हो । वास्तविकता चाहिँ के हो भने हामीले चाहेर पनि सबै आज एकनाश हुँदैनन् । हामीले समय बदलियो भन्ने गरेपनि समय एकनास छ, घटना क्रम र पात्रहरू चलायमान छन् । भोलिका लागि भनेर जति ठुलो तयारी गरेपनि हाम्रो जीवनमा भोलि कहिल्यै आउँदैन ।