माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि


सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले बताए ।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको बताइएको छ । बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन बिहान माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।