ललिता निवासको जमिन कसको कब्जामा कति ?

ललिता निवासको जमिन कसको कब्जामा कति ?


बालुवाटारस्थित सरकारी स्वामित्वको सबैभन्दा बढी जग्गा (ललिता निवास) कब्जा गर्ने मध्येका एक ब्यक्ति मारवाडी ब्यापारीहरूको संस्थाको प्रमुख भएको जानकारीमा आएको छ । संस्थाको प्रमुख कैलाशचन्द्र गोयलले १६ रोपनी जग्गा आफूसँग राखेको पाइएको छ । गोयल समेतको नाममा रहेको ‘डीएफएल डेभलेपर’ कम्पनीको नाममा उक्त जग्गा राखेको बुझिएको छ ।

यतिबेला कैलाश गोयल र निजका भाइ श्रवण गोयल नेपाल छोडेर बेपत्ता भएका छन् । डिल्लीबजारस्थित मालपोत कार्यालयमा लेखनदासको काम गर्ने रामकुमार सुवेदी दम्पति र मुख्य योजनाकार मध्येका एक शोभाकान्त ढकालको नाममा जम्मा २३ रोपनी जमिन रहेको पाइएको छ । त्यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक समेत रहेका मुख्य योजनाकार मीनबहादुर गुरुङसँग जम्मा ३६ रोपनी जग्गा कब्जामा रहेको छ । निज गुरुङले भाटभटेनीको स्टोरसमेत सोही सरकारी जमिनमा बनाएका छन् ।

ज्ञातब्य छ, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल दुई दशकअगाडि कुमारी बैंकको सञ्चालक समितिमा थिए र, उनिहरूले त्यहीँ रहँदा ललिता निवासको सरकारी जमिनमा नक्कली मोही खडा गरेर कब्जा गर्ने योजना बनाएका थिए । ढकाल र गुरुङले बैंकका तत्कालिन अध्यक्ष नुरप्रताप राणालाई पनि उक्त आपराधिक कार्यमा सामेल गराउन खोजेका थिए, तर राणाले उनिहरूको प्रस्तावलाई अस्वीकार गरेका थिए ।