सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन

सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन


photo: rss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशप्रमुख देवराज जोशीले बुधबार साँझ मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन गरेका छन् ।

प्रदेशप्रमुख जोशीले नेपालको संविधानबमोजिम गरेको नियुक्ति र कार्यविभाजनअनुसार बैतडी जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा र कैलाली जिल्लाको प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् ।

यसैगरी कैलालीको प्रदेशसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेशप्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।

सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । गत माघ २७ गते गठन भएको सुदूरपश्चिम प्रदेशको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम देहायअनुसार नियुक्ति र कार्यविभाजन गरिएको छ ।

१. कमलबहादुर शाह– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ।
२. प्रकाशबहादुर देउवा– मन्त्री, भौतिक पूर्वाधार विकास ।
३. नरेशकुमार शाही– मन्त्री, आर्थिक मामिला ।
४. शिवराज भट्ट– मन्त्री, आन्तरिक मामिला तथा कानून ।
५. झपटबहादुर साउद– मन्त्री, सामाजिक विकास ।
६. रमेशसिंह धामी– मन्त्री,उद्योग पर्यटन, वन तथा वातावरण ।
७. रामेश्वर चौधरी– मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।
८. गीतादेवी माल– राज्यमन्त्री,उद्योग, पर्यटन, वन तथा वातावरण ।
९. कैलाश चौधरी– राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।

मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि गत माघ २७ गते कांग्रेससहितका सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए ।