फरक विधाको चलचित्रमा स्वस्तिमा

फरक विधाको चलचित्रमा स्वस्तिमा


सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताएकी छन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उनको भनाइ छ ।

अभिनेत्री खड्काले भनेकी छन्, ‘मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्त्वपूर्ण छ ।’

निर्देशक कृषा चौलागाईंले आफ्नो लगावकै कारण निर्देशन यात्रा सुरु गरेको जानकारी दिँदै भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिएँ । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऐँचो पैँचो’ मा कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायांङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।