photo: rss
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गरेका छन् ।
वीरगञ्जमा कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’
उनले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत नबढ्ने चिन्ता व्यक्त गरे ।
प्रवक्ता महतले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कैरूपमा प्रस्तुत हुने सम्भावना टरेको जिकिर गर्दै भने, ‘केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ, तर कांग्रेस बैठक सधैँ लाइभ हुँदैन । हामी धेरै कर्मकाण्डी भएका छौँ, सिधै विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागतरूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताबीचमा लिएर जानुपर्छ ।’
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी कांग्रेस मात्र भएको दाबी गर्दै नेता डा. महतले काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताए ।
प्रतिक्रिया