सुन प्रकरणमा सिआइबीले अनुसन्धान थाल्ने प्रहरी महानिरीक्षकको भनाइ

सुन प्रकरणमा सिआइबीले अनुसन्धान थाल्ने प्रहरी महानिरीक्षकको भनाइ


एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि सिआइबीले उक्त प्रकरणमा सङ्गठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरका अनुसार राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सिआइबीले अनुसन्धान थाल्नेछ ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैंले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

गत बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सम्बद्ध अधिकारीसँगको छलफलमा उक्त प्रकरणको थप अनुसन्धान सिआइबीबाट गर्न निर्देशन दिएका थिए । उक्त छलफलमा विभागबाट एक चरणको अनुसन्धान गरी निष्कर्षमा पुर्याएको र बाँकी सङ्गठितलगायत आर्थिक अपराधमा थप अनुसन्धान सिआइबीबाट गर्नुपर्ने आवश्यकता औंल्याइएको बताइएको छ ।