पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा तीन बर्षको सजाय सुनाइएलगत्तै शनिबार लाहोरस्थित उनकै घरबाट पक्राउ गरिएको छ ।

गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफुविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए । शनिबार सजाय सुनाइँदा उनी अदालतमा भने उपस्थित भएका थिएनन् । फैसलालगत्तै प्रहरीले लाहोरस्थित खानको घरमा पसेर उनलाई पक्राउ गरिएको थियो ।

“न्यायाधीश हुमायूँ दिलावरले पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारमा संलग्नता रहेको ठहर भएको आदेश सुनाउनुभएको छ,” पाकिस्तानी टेलिभिजनले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका विशेष सहायक अताउल्लाह तरारले खानको पक्राउबारे पुष्टि गर्दै भनेका छन्, “मैले भर्खरै खानलाई पक्राउ गरिएको जानकारी पाएको छु ।”

गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।

दलको आन्दोलनको दवाबपछि तीन दिन हिरासतमा बसेपछि रिहा भएका पीटीआई अध्यक्षलाई हजारौं पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ । शनिबार उनलाई पक्राउ गरिएको मुद्दा उहाँका सहयोगीमार्फत् उहाँ प्रधानमन्त्री रहेको समयमा भएको लेनदेनमा केन्द्रित छ ।

खानको कानुनी टोलीले तत्काल अपिल दायर गर्ने बताएको छ । टोलीका एक सदस्यले भनेका छन्, “मुद्दामा साक्षीलाई उपस्थित गराउने कुनै मौका दिइएको थिएन, न त बहसका लागि समय दिइएको थियो । हामी फैसलाविरूद्ध पुनरावेदन गर्नेछौँ ।” खानले लामो समयदेखि यस वर्षको अन्त्यअघि हुने निर्वाचनमा भाग लिन नदिन आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताउँदै आएका थिए ।

पाकिस्तानमा आगामी दुई हप्तामा संसद् विघटन हुने सम्भावना छ र नोभेम्बरको मध्य वा त्योभन्दा अघि नै राष्ट्रिय निर्वाचन हुनेछ ।

खान सन् २०१८ मा लोकप्रिय समर्थनको लहर, भ्रष्टाचारविरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा सत्तामा पुगेका थिए ।

गत वर्षको अप्रिलमा उनलाई पदच्युत गर्दा विश्लेषकहरूले उनले शीर्ष जनरलहरूको समर्थन गुमाएका कारण पदच्युत गरिएको बताएका थिए ।