सुन प्रकरणमा थप अनुसन्धानको जिम्मेवारी सिआइबीलाई

सुन प्रकरणमा थप अनुसन्धानको जिम्मेवारी सिआइबीलाई


सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएको छ ।

उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी सिआइबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिएका छन् । ढुंगानाका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सिआइबीले गर्नेछ । विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिइएको उनको भनाइ छ ।

यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । प्रमको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर आज फाइल पठाइएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिएका छन् । विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो ।

उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् ।