चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।
खैरहनी नगरपालिका-१२ सहनपुरस्थित केराघारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङको मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । बाघ बस्तीमा छिरेर मान्छेमाथि आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिनका लागि १५ वटा हात्ती परिचालन गरेको छ । बाघ शनिबारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन ।
प्रतिक्रिया