सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा पुऱ्याइएको छ ।
राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि आइतबार साँझ सिआइबीमा लगिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन् । सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्ने एआईजी कडायतको भनाइ छ ।
यसअघि बिहीबार प्रधानमन्त्री प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुऱ्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् ।
प्रतिक्रिया