बसको ठक्करबाट दश गाईगोरुको मृत्यु

बसको ठक्करबाट दश गाईगोरुको मृत्यु


कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको बा. प्र ०१००६ ख ५१७१ नम्बरको यात्रुबसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको थियो । सोमबार राति अन्दाजी २ बजे भएको घटनाबाट पाँच गाई र पाँच गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए ।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चारवटा गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। बसमा सवार यात्रु सकुशल रहेको बताइएको छ।

गाइगोरुलाई ठक्कर दिने चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ । मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाडिएको छ ।

ज्ञातव्य छ, कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको उच्च जोखिम रहेको छ ।