दर्शकको रोजाइमा आधुनिक चलचित्र भवन

दर्शकको रोजाइमा आधुनिक चलचित्र भवन


आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधासम्पन्न भवन पर्न थालेका छन् ।

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभइ गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् ।

प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताए । “अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्, त्यसैले पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन्”, उनको भनाइ छ । उनका अनुसार दशैँअगाडि नै काठमाडौं र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् ।

नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भन्दै महासचिव महर्जनले विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पुर्‍याउनेतर्फ हामी केन्द्रित छौँ”, उनले भने ।

ग्रामीण क्षेत्रमा नयाँ चलचित्र भवन बने पनि सहर केन्द्रित सुविधा भने अझै नभएको र प्रदर्शन डिजिटल प्रविधिमा भए पनि आधुनिक सुविधा नहुँदा धेरै चलचित्र भवनले राम्रो आयआर्जन गर्न नसकेको उनको भनाइ छ ।

भदौदेखि आश गरिएका चलचित्र प्रदर्शन हुने मिति तय भएका छन् । “दर्शक नयाँ विषयवस्तुका चलचित्र सुविधासम्पन्न तरिकाले हेर्न रुचाउछन्, चलचित्रको चर्चा नभए दर्शक हलसम्म पुग्ने परिपाटी नै सकिएको छ ।”

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको उल्लेख गर्दै अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन् भन्दा फरक पर्दैन, दर्शक त्यस्ता हलमा जानै छोड्नु भएको छ, उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ भन्ने अभिव्यक्ति दिए ।