नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
यस्तै, नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया