सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउन लागेकी अनितादेवी को हुन् ?

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउन लागेकी अनितादेवी को हुन् ?


सोमबार बिहान सपथ लिँदै

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्रिमण्डलमा समावेश गराउने भएका छन् । सोमबार (२९ साउन) बिहान अनिता साहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने तय भएको बताइएको छ ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् । “हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ, भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सपथका लागि खबर आएको छु, उनले भनेका छन् ।

जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । उनले जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएकी थिइन् । साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् भने जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशनको आयोजक समिति अध्यक्षको जिम्मेवारी पनि उनले लिएकी थिइन् ।

विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी अनितादेवीले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् । उनले ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर महिलाअधिकारको लागि काम गरेकी थिइन् ।