सिंचाई विभागमा खुट्टा तानातान चलेपछि ओलीलाई ‘महानिर्देशक’को चिट्ठा !

सिंचाई विभागमा खुट्टा तानातान चलेपछि ओलीलाई ‘महानिर्देशक’को चिट्ठा !


सिंचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको नियमित सरुवा भएसँगै उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले ‘हाइड्रो जियोलोजिष्ट’ समूहका सिभिल इन्जिनियर चुर्णबहादुर ओलीलाई विभागको जिम्मेवारीमा सरुवा गरेको छ ।

सिंचाई विभागमा सिभिल इन्जिनियरको बाहुल्यता भए पनि एकआपसमा खुट्टा तान्ने प्रवृत्तिले छुट्टै समूहकाले अवसर पाएको चर्चा चलेको छ ।

एक नम्बरमा रहेका शिशिर कोइरालालाई वाइपास गर्दै विभागीय मन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रोजियोलोजिष्ट ओलीलाई महानिर्देशकको रूपमा सरुवा गरेका छन् । सिंचाईको इतिहासमा यो समूहबाट महानिर्देशक बन्ने ओली तेस्रो भाग्यमानी अधिकृत बन्न पुगेका छन् । यसअघि यादवलाल वैद्य र जितेन्द्र घिमिरे मात्रै ‘हाइड्रो जियोलोजिष्ट’बाट महानिर्देशक बनेका थिए ।

महानिर्देशक ओहदाको निम्ति अर्का प्रतिस्पर्धी संजिव बराल ‘माओवादी’ बन्न नसकेका र माओवादीनिकट कर्मचारीको सदस्यता पनि नलिएका कारण उनी महानिर्देशक बन्नबाट वञ्चिचत भएको चर्चा यतिबेला सम्बन्धित वृत्तमा चलेको छ ।

मन्त्री बस्नेतले सर्प पनि मर्ने लौरो पनि नभाँचिने गरी विभागको नेतृत्व जुन पृष्ठभूमिका पात्रलाई सुम्पिए, यसले उनी देशहित भन्दा निजी स्वार्थबाट प्रेरित रहेको आरोपसहितको चर्चा मन्त्रालयमा शुरु भएको छ । चुर्णबहादुर ओली सिंचाईसम्बन्धित नभइ अर्कै विषयका विज्ञ भएर पनि सिंचाई महानिर्देशकको जिम्मेवारी प्राप्त हुनुमा माओवादी पार्टीको विशेष कृपा रहेको बुझिएको छ ।