‘मसीहा’ उपेन्द्रका लागि खर्चिन मन नलागेका पङ्क्तिहरू

‘मसीहा’ उपेन्द्रका लागि खर्चिन मन नलागेका पङ्क्तिहरू


‘यतिखेर उपेन्द्र चैनहीन हुन पुगेका छन् । उनी कठिन अवस्थामा पुगेको अनुमान गरिँदैछ । म भन्न सक्दिनँ कि यसको कस्तो परिणाम आउने छ ! यद्यपि, उपेन्द्रको भान्सामा पहुँच राख्ने एकजनाले जनाएअनुसार उपेन्द्र सर जीवनको कठिन समयमा छन् ।’
✍ जेपी आनन्द

उपेन्द्र यादव सकसमा छन् अरे ! हिजोआज अखबार तथा सामाजिक संजालहरूमा यस्तो कुरा आइरहेको छ । आजभन्दा १७ वर्षअघि रौतहटको गौर बजारमा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ताहरूका बीच हिंसक भिडन्त भएको थियो । यसमा कयौँ मानिसहरू मारिएका थिए । वर्षौंदेखि चर्चाबाट हराएको यो विषय अहिले एक्कासी उघ्रेको छ । सरकारले यसको छानबिन हुने बताएपछि यसबारे गम्भीर चर्चा शुरू भएको छ ।

फोरम, नेपाल र माओवादीका बीच ठुलो बैमनस्यता थियो, तर यो हराएर गयो । कालान्तरमा उपेन्द्रले माओवादी पार्टीलाई, खासगरी प्रचण्डलाई आफ्ना सबैभन्दा भरपर्दो सहयोगी वा मद्दतगार ठाने । हो पनि ! प्रचण्डले उपेन्द्रलाई ठुलो गुण लगाएकै छन् । यी सबका बाबजुद अहिलेको यो घटनाक्रमले सुन्दैछु उपेन्द्रलाई हल्लाएको छ । भगवान गरोस्- उनलाई केही नहोस् । उनी अभेद्य रहुन् ।

तर, केही तथ्यहरू विचारणीय रहेको छ । गौर घटनाको लगत्तैपछि माओवादीहरूले तत्कालिन फोरमेसँग प्रत्यक्ष सम्बन्ध रहेका र अन्य समेत सय बढी मानिसहरूका विरूद्ध छानबिन तथा कारबाहीका लागि जाहेरी निवेदन दिएका थिए । यसको जवाफमा फोरमले पनि तत्कालिन माओवादी पार्टीका नेता कार्यकर्ताका विरूद्ध जवाफी जाहेरी दर्ता गराए ।

यस घटनाको लगत्तैपछि केही उल्लेखनीय निकायहरूबाट छानबिन समितिहरू गठन भयो । यसमा महत्वपुर्ण हुन्- नेपाल सरकार, गृह मन्त्रालयको समिति । राष्ट्रिय मानव अधिकार आयोगको छानबिन समिति । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बद्ध छानबिन समिति । यसका अतिरिक्त फोरम पार्टी, माओवादी पार्टी, अनमिन लगायत कयौँ अर्धसरकारी, अन्तर्राष्ट्रिय निकायसम्बद्ध, देशीय मानव अधिकारवादीहरू लगायतबाट दर्जनौँ छानबिन समितिहरू बन्यो । सबैले आ-आफ्नो प्रतिवेदनहरू सार्वजनिक गरे ।

यी सबको बाबजुद लामो समय भयो । यस घटनाका बारेमा कुनै छानबिन तथा कारवाहीहरू थालिएन । सबै पक्ष मौन रहे । यदाकदा कुराहरू उठद्थ्यो पनि । यसै क्रममा माओवादी पार्टीको तर्फबाट दिइएको जाहेरीमा उल्लेखित नामहरूलाई नै उल्लेख गरेर सर्वोच्च अदालतमा निवेदन दर्ता भयो । स्थानीय निकायले यस घटनामा कुनै कारवाही गरेन, यसर्थ कारबाहीको आदेश दिइयोस् भनी माग गरियो । तर, अदालतबाट कुनै आदेश भइनसकेको अवस्था छ । स्मरणीय छ, आफताव आलमको मुद्दामा पनि यस्तै अवस्था थियो । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेको थियो । एकदिन अप्रत्याशित रूपमा सर्वोच्च अदालतले छानबिनका लागि आदेश जारी ग¥यो र आज आफताव जेलमा छन् । यही परिदृश्यमा गौरकाण्ड सेलायो । कसैलाई कुनै वास्ता सरोकार रहेको देखिएन ।

अचानक वि.सं. २०७९, पौषको अन्त्यतिर राष्ट्रिय मानवअधिकार आयोगले १६ वर्षपछि नेपाल सरकारलाई कारवाहीका लागि निर्देशन दिएर यस विषयलाई तरंगित बनायो । वि.सं. २०६३ चैत ७ गते भएको घटनामाथि आयोगले तत्काल नै अनुसन्धान गर्न टोली खटाएको थियो । तर, त्यसको प्रतिवेदनलाई भने १६ वर्षसम्म यत्तिकै राखेर कारवाहीको सिफारिस गर्नुले अनेकन् आसन्न आशंकाहरूलाई बल दिएको थियो । यद्यपि यसले उपेन्द्रको सत्तायात्राको एकाग्रतालाई थोरैपनि बिघ्न पु¥याएन ।

यसपछि यस काण्डमा मारिएका माओवादी पक्षका परिवारका मानिसहरूको एक समिति बन्यो । पुरानो माओवादी नेता तथा अहिलेका स्वतन्त्र सांसद प्रभु साहले यसलाई हौस्याएको भनिन्छ । यथार्थ जे होस्…, यो कुराले पुनः चर्चा पाउन थाल्यो । उपेन्द्र यादव समेत मञ्चमा बसेको एक सभामा, करिब २ महिनाअघि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘गौर हत्याकाण्डसमेत सबै हत्या काण्डहरूको छानबिन हुनेछ, कुनै अपराधीलाई उन्मुक्ति दिइने छैन’ भनेपछि टिभी पर्सनहरूले क्यामेराको लेन्स उपेन्द्रतिर घुमाएका थिए । उनी हाँसेको देखियो, तर अनुहार बिग्रियो । छालाको रंग बदरंग भएको टिभीदर्शकहरूले बुझे ।

यसपछि माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एक कडा अभिव्यक्ति दिए । यो एकदमै हालैको कुरा हो । माओवादी पार्टीको शायद केन्द्रीय पदाधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने- ‘ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे दरबार हत्याकाण्ड, सबैको खोजिनीति गर्नुछ ।’ यसले बडो ठुलो सङ्केत दियो । यसै क्रममा अहिले आएर नेपाल सरकार र पीडित परिवारहरूको समितिका बीच छानबिन तथा कारवाही गरिनेबारे अहिले भर्खरै एक सहमति भयो । अब यतिखेर उपेन्द्र चैनहीन हुन पुगेका छन् । उनी कठिन अवस्थामा पुगेको अनुमान गरिँदैछ । म भन्न सक्दिनँ कि यसको कस्तो परिणाम आउने छ ! यद्यपि, उपेन्द्रको भान्सामा पहुँच राख्ने एकजनाले जनाएअनुसार उपेन्द्र सर जीवनको कठिन समयमा छन् । हिजो आफैले डाकेको पत्रकार सम्मेलनमा गएनन् । वास्तवमा म पनि चिन्तित छु !

यद्यपि मलाई यसबारे धेरै लेख्न मन छैन । यसरी लेखाइ सक्दैछु-

मार्टिन निमोलर (सन् १८९२–१९८४) का एक प्रख्यात प्रोटेस्टेन्ट पादरी थिए जो एडोल्फ हिटलरको मुखर सार्वजनिक शत्रुको रूपमा उभिए र आफ्नो प्रखर राष्ट्रवाद सोचको बाबजुद नाजी शासनको अन्तिम सात वर्ष एकाग्रता शिविरमा बिताए । निमोलरलाई यो उद्धरणको लागि आजपर्यन्त संसारभर सम्झिइन्छ-

‘पहिले उनीहरू मेरा सम्मुख समाजवादीको विरोधमा आए, र म बोलिनँ, किनभने म समाजवादी थिइनँ । त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूको विरोधका लागि आए, र पनि मैले बोलिनँ, किनभने म ट्रेड युनियनवादी थिइनँ । त्यसपछि तिनीहरू यहुदीहरूको विरोधमा आए, र म बोलिनँ, किनकि म यहुदी थिइनँ । त्यसपछि तिनीहरू मेरो लागि आए, र यतिखेर मेरो लागि बोल्न कोही बाँकी थिएन ।’