सुशासन कायम गर्न खोज्दा संसदमा अवरोध !

सुशासन कायम गर्न खोज्दा संसदमा अवरोध !


photo: rss

प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचारमाथि छानबिन गरी सुशासन कायम गर्न खोज्दा प्रतिपक्षीले संसद् अवरुद्ध गरेर बाधा पुर्‍याएको गुनासो गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तक्रियामा बोल्दै उहाँले ललिता निवास, भुटानी शरणार्थी, सुनकाण्ड सबैमा आफूलाई निरुत्साहित गर्न खोजिएको तर आफू पछि नहट्ने दृढता प्रकट गर्नुभयो ।

एमाले अध्यक्ष केपी ओलीको नाम नलिई उहाँले भन्नुभयो- ‘प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा सहमति हुन्छ, तर बानेश्वर नपुग्दै सहमति तोडिन्छ । बारम्बार संसद् अवरुद्ध हुन्छ, पटक-पटक संसद् अवरुद्ध गर्नु संसद् विघटनकै मानसिकताको उपज हो कि अरु कारण छ मैले बुझ्न सकेको छैन ।’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- ‘ललिता निवासको मुद्दा केपी ओलीसँग एउटै पार्टीमा हुँदै उठेको हो । सुनकाण्डमा कार्वाही अगाडि बढाउँदा विरोध हुनुको अर्थ बुझ्न सकेको छैन । सुनकाण्डमा धन्यवाद पाउँला भनेको त विरोध गरियो । सुन तस्करलाई समातेर सरकारले कहाँ गल्ती गऱ्यो ?’

ललिता निवासलगायतका भ्रष्टाचारका मुद्दामा हात हालेपछि आफूलाई एक हप्ता भन्दा बढीसम्म काम गर्न गाह्रो भएको खुलासा गर्दै उहाँले भन्नुभयो- ‘आठ/दश दिन त धेरै अप्ठ्यारो भयो, सचिवहरूले फायलमा हस्ताक्षर गर्न मानेनन् । मन्त्री र कार्यकारीले पनि निर्णय गर्न सक्ने अवस्था रहेन । खोजी गर्दै जाँदा धेरै कुरा आउन सक्छन्, टी स्टेट छ, धेरै कुरा छन् ।’