प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा नयाँ मापदण्ड

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा नयाँ मापदण्ड


परम्परागत शैली/प्रणालीमा समयानुकुल नवीनता अपनाउँदै लामो समयदेखि रोकिएको प्रहरी निरीक्षकहरूको सरुवा भएको छ । मंगलबार ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरणअनुकुलको मापदण्ड कार्यान्वयनमा आएको छ भने सरुवासम्बन्धमा गृहप्रशासनले यसपटक अपनाएको मापदण्डको प्रहरीवृत्तबाटै प्रशंसा गरिएको छ ।

तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ भने ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् ।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थितिलगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको गृह स्रोतको भनाइ छ ।

स्रोतका अनुसार पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दाचाहिँ अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । त्यस्तै, यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ । यसरी श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयको जिकिर छ । पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो ।

ज्ञातव्य छ, स्वच्छ एवम् इमानदार छविका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको कार्यभार सम्हाल्नुभएदेखि नै सुशासन र पारदर्शितालाई महत्व दिँदै आउनुभएको छ ।