पशुपतिमा धीरेन्द्र शास्त्रीको ‘अलौकिक प्रवचन’ !

पशुपतिमा धीरेन्द्र शास्त्रीको ‘अलौकिक प्रवचन’ !


बागेश्वर धाम सरकारका नामले परिचित हनुमानजीका अनन्य भक्त धीरेन्द्र शास्त्री नेपाल आउनहुने भएको छ । उहाँ आगामी भदौ १ गते बिहान नयाँ दिल्लीबाट काठमाडौं आउने कार्यक्रम रहेको छ ।

प्राप्त जानकारीअनुसार उहाँ नवलपरासीस्थित शाश्वत धामका लागि बरुण चौधरीको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । भदौ १ गते शुक्रबार साँझ ६ बजे उहाँले पशुपतिनाथमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । सम्भवतः उहाँ साँझको आरतीमा सरिक हुनुहुनेछ, साथमा दिब्य दर्शन र ‘अलौकिक प्रवचन’को कार्यक्रम रहेको बताइएको छ ।

भदौ २, ३ र ४ गते नवलपरासीस्थित शाश्वत धाममा उहाँले हनुमन्त कथा बाचन गर्नुहुनेछ । उहाँको कथा सुन्न तथा दर्शनका लागि शाश्वत धामले आफ्नो वेबसाइट र फेसबुकमा राखेको फर्ममा रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन फर्ममा कथावाचन कार्यक्रममा भाग लिन चाहने ब्यक्तिको नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर, इमेल र फोटोसहितको परिचयपत्र राख्नुपर्नेछ । सुरक्षाका लागि सहभागीको दर्ता अनिवार्य गरिएको शाश्वत धामले जनाएको छ । तीन दिनसम्म उहाँ शाश्वत धाममा रहेको होटेल मिरायामा रहनुहुनेछ ।

लामो समयदेखि भारत लगायत विभिन्न देशमा रहँदा अति ब्यस्त भएकाले नेपालमा रहँदा उहाँले कथा वाचन र भेटघाटसँगै आराम गर्ने बताइएको छ । उहाँसँग बागेश्वर धामसँग सम्बन्धित २५ जनाको समूह रहनेछ । भगवान हनुमानजीका भक्त धीरेन्द्र शास्त्रीको ‘अलौकिक शक्ति’ले भारत तथा विभिन्न मुलुकका मानिसहरूलाई आश्र्चाचकित बनाउने गरेको छ । कुनै पनि मानिस अगाडि आएपछि पारिवारिक पृष्ठभूमिसहित उ किन आएको हो भनेर पहिल्यै लेखिदिने उहाँका चमत्कारिक शक्तिलाई सबैले अनौठो मान्ने गरेका छन् । नेपालमा उहाँको दर्शन गर्न र कथा वाचन सुन्नका लागि हजारौँले नाम दर्ता गरिसकेको बुझिएको छ । नेपालबाट मात्र नभइ भारतको सिमाबाट समेत मानिसहरूले शाश्वत धाममा आउनका लागि रजिष्ट्रेशन गरेका छन् ।

हिन्दु धर्ममा जिन्दगीका फरक अवस्थामा विभिन्न भूमिका निर्वाह गर्ने भगवानहरूको परिकल्पना गरिएको छ । त्यसमध्ये हनुमानजीलाई आदर, सम्मान र शक्तिको प्रतीकका रूपमा मानिन्छ । हनुमानजीको भगवान् रामप्रतिको समर्पण अवर्णनीय छ । रामसँग जोडिएका प्रत्येक पात्रसँग उहाँको भक्तिभाव थियो । सीतालाई रावणले हरण गरी लङ्का पुऱ्याएपछि हनुमानजीले लङ्का जलाएर उहाँलाई फर्काएको सम्पूर्ण कथामा मानिसको जीवनमा आइपर्न सक्ने कठिनाइहरूको बारेमा सजग गराइएको छ । रामायणमा हनुमानजीको समर्पण, आदर र शक्तिको भूमिका रहेको छ ।

१६औं शताब्दीमा कवि तुलसी दासले हनुमानलाई समर्पण गरेर हनुमान चालिसा लेख्नुभएको थियो । भनिन्छ, त्यतिबेला उहाँ जेलमा हुनुहुन्थ्यो । हनुमान चालिसा एकै ‘सिटिङ’मा लेखिएको थियो । जेल परेको ४० दिनका दिन तरलसी दासले हनुमान चालिसा लेखिसकेपछि चमत्कारिक रूपमा उहाँ जेल मुक्त हुनुभएको थियो । तुलसी दासले आफूले हनुमानजीलाई सशरीर भेटेपछि हनुमान चालिसा लेखेको र उक्त भेटमा उहाँले आफू हरेक युगमा हुने र कलियुगमा मानिसको शरीरमा हुने बताउनुभएको विभिन्न धार्मिक दस्ताबेजमा उल्लेख छ । हनुमान चालिसा विश्वप्रसिद्ध छ ।

सन् २०१६ मा अमेरिकाका तात्कालिन राष्ट्रपति बाराक ओबामाले हनुमान चालिसाको सानो किताब साथमा राख्ने गर्नुभएको भनी मिडियामा ब्यापक चर्चाको विषय बनेको थियो । विभिन्न भारतीय मिडियाले यो कुरालाई महत्वपूर्ण स्थान दिएर प्रचारप्रसार गरेपछि तथ्य जाँच (फ्क्याक्ट चेकिङ) गर्ने संस्थाहरूले केलाउँदा ओबामाले हनुमान चालिसा होइन हनुमानजीको सानो प्रतिमा लिएर हिँड्ने गरेको बताउनुभएको तथ्य पत्ता लागेको थियो । सन् २०१६ को जनवरी १६ मा राष्ट्रपति ओवामाले दिनुभएको एउटा भिडियो अन्तवार्तामा ‘म अन्धविश्वासी होइन तर म हनुमान र बुद्धको प्रतिमा साथमा राख्छु, जब म थकित र हतोत्साही महसूस गर्छु त्यस्तो बेलामा म पकेटमा भएको हनुमानको प्रतिमा हेर्छु र ‘ओभर कम’ हुन्छु’ भन्दै साथमा रहेको पित्तलको झैँ लाग्ने हनुमानजीको सानो प्रतिमा देखाउनुभएको छ । उक्त भिडियो क्लिप अहिले पनि इन्डिया टुडेको अर्काइभमा भेट्न सकिन्छ ।

हिन्दु मात्र नभइ विभिन्न धर्मावलम्बीहरूले हनुमानजीलाई श्रद्धाभावका साथ हेर्ने गर्छन् । सम्मान, आदर, समर्पण, इमान र शक्तिका प्रतीकको रूपमा रहेका हनुमानको गाथालाई धीरेन्द्र शास्त्रीले प्रवचनमार्फत बिश्वब्यापी बनाइरहेका छन् । भारतको मध्यप्रदेशनिवासी धीरेन्द्र शास्त्रीले बागेश्वर धाममा प्रत्येक दिन दुखीहरूलाई खानाको ब्यवस्था गर्ने गरेका छन् भने प्रत्येक वर्ष विवाह पञ्चमीको दिन विपन्न बाबुआमाका छोरीहरूको सामूहिक विवाह गरिदिँदैआएका छन् ।