विगतमा धेरै कुटिलता भोगियो अब पुग्यो ! म आजको ‘माननीय विश्वप्रकाश/महामन्त्री विश्वप्रकाश’ भित्र विधि-विधानका साथ काङ्ग्रेस हाँक्ने र काङ्ग्रेसलाई साँच्चै काङ्ग्रेस बनाउने कुटिलतारहित शालिन विशु खोज्दैछु ! मेरो हराएको विशु कहीँ-कसैले भेट्नुभएमा खबर पाउँ !
✍ ज्ञानमणि भुर्तेल
तिथिमिति ठ्याक्कै थाहा भएन, आलोक साप्ताहिक कार्यालयअघिल्तिर एउटा लजालु फुच्चे देखेपछि मतिर फर्केर भरत दाजुले सोध्नुभो- विशु हैन त्यो ?
‘हो त’ भन्दै पसुँ-नपसुँको दोधारमा रहेको विशुलाई हतेरेर भित्र लगेपछि दाजुले नजिकै राख्दै सोध्नुभो- कताबाट आयौ विशु ?
भर्खरै मेची क्याम्पस आएको फुच्चेलाई सबै मायालु मनले विशु नै सम्बोधन गर्थे । जवाफमा केही नबोली केही लेखिएको एउटा पन्ना दाजुतर्फ तेस्याउँछ विशु ! पढिसकेपछि मुस्कुराउँदै दाजुले सोध्नुभो- यो लेख्ने प्रेरणा चैँ कताबाट पायौ विशु ? कागजको त्यो पन्नामा केही बीपीका शब्द थिए । केही भरतबाबुका ! केही बुद्धवाणी अनि कुनै-कुनै शब्द बेला-बेला आलोकमा प्रकाशित दाजुका शब्दहरू थिए ! दाजुले काँटछाँट गरेर विश्वप्रकाश शर्माका नाममा सम्भवतः पहिलो लेख आलोकमा छापिएको यो गन्थन ‘विश्वप्रकाशले हेक्का राखुन्’ शीर्षकमा लेखिसकेको छु !
विशुले राजनैतिक शिक्षा आमा सावित्री शर्माको गर्भबाटै प्राप्त गरेको भन्दा अत्युक्ति हुँदैन । अभिमन्युले चक्रब्युहको चर्चा आमा सुभद्राको गर्भमै सुनेझैँ विशुले काङ्ग्रेसको चर्चा आमाको गर्भमै सुनिसकेको हो ! पिता पर्शुराम माता सावित्री अनि काङ्ग्रेस किम्बदन्ती काका याम भण्डारीबाट दीक्षित विशु क्याम्पस आउनुअघि नै १३ वर्षको उमेरमा कक्षा ८ अध्ययन गर्दैगर्दा स्कुल युनिटको सभापति हुँदै १४ वर्ष टेक्दा पञ्चायती पुलिसबाट ‘हरामी काङ्ग्रेस’को विभुषण पाउँदै हिरासत भ्रमण गरिसकेको विशु मेची क्याम्पस प्रवेश गरी कमिटी सदस्यभित्र छिरेर ०४३ को स्ववियु निर्वाचनमा सर्वाधिक मत पाउने हरूवा नेवि सङ्घको सदस्य हुन पुग्यो ! त्यो मत विशुले पाएको स्नेह थियोे ! सबैको सद्भाव थियो । सर्वाधिक मत पाएर लोकप्रिय बनेको विशुलाई सोही वर्ष क्याम्पस युनिटको सर्वसम्मत सभापति बनाईयो ! राजनैतिक ग्राफ बढ्ने क्रममा ०४७ मा झापा जिल्ला सभापति/०४९ मा मेची अञ्चलबाट केन्द्रिय सदस्य/महामन्त्री/उप-सभापतिका रूपमा परिस्कृत हुँदै केन्द्रिय सभापतिको बागडोर सम्हाल्न पुग्यो !
केन्द्रिय सभापति भएपछि राजधानी केन्द्रित हुनुपर्ने बाध्यताले विशुलाई केही समय काठमाडौबासी बनायो ! केही वर्षको काठमाडौं बसाइपछि गाउँको आकर्षणले विशुलाई झापा झा¥यो ! झापा फर्केपछि काङ्ग्रेस जिल्ला सभापति लड्न मैदानमा उत्रेपछि आठराईबाट ‘धानको भात’ खान झापा झरेका केही शकुनी र अहिलेका खोरेत काङ्ग्रेसको जत्थाले झापामै जन्मी/हुर्की यहीँबाट राजनैतिक यात्रा सुरुगरेको फुच्चेलाई ‘टुरिष्ट’को पगरी गुथाउँदै झिनो मतले चुनाव हराइदिए !
गर्भमै राजनैतिक संस्कार पढेको बिसुले जिल्ला सभापति हारेको मान्छेले केन्द्रिय सदस्यमा दाबी गर्न नैतिकताले दिँदैन भन्ने तर्क अघिसार्दै केन्द्रिय अधिवेशनमा उम्मेदवारी नदिइ केन्द्रिय सदस्य हुनका लागि ०७२ सालको अधिवेशन सम्म कुऱ्यो ! विशुको यो केन्द्रिय सदस्यरूपी प्रगतिमा झापाली हरामी काङ्ग्रेस मात्र हैन सम्पुर्ण मुलुक खुशी भयो ! विशुसँगै केही आशलाग्दा नेविसंघे केटाले पनि केन्द्रमा प्रवेश पाए ! काङ्ग्रेस सुद्धिकरण उद्घोष साथ युवाहरूको टिम बन्यो ! काङ्ग्रेसभित्रका साँच्चै काङ्ग्रेसको नजर ती युवामा टिक्यो !
टिकेर के गर्नु ?
मष्तिष्कमा खोरेत बोकेर बीपीको नाम भजाउँदै काङ्ग्रेसलाई नगदेवाली बनाउन पल्केका खोरेत काङ्ग्रेसलाई सुद्धिकरण किन पो चाहिन्थ्यो र ? सभापतिको कुर्सीमा विराजमान आरजु खसमलाई त्यो टिम काउछो सावित हुने त्रास थियोे ! टिमभित्रबाट तानेर विशुलाई केन्द्रिय प्रवक्ता बनाइयो ! धेरैले त्यसलाई टिम फोड्ने शकुनी चालअनुसारको षड्यन्त्र भन्ने बुझे ! विशु देउवाको सुसारे हुनेभो भन्दै उसका शुभचिन्तकले चिन्ता व्यक्त गरे ! टिम छोडेर प्रवक्ता नामको ललिपप खाएको आम काङ्ग्रेसीले रुचाएनन् ! धेरैको टिप्पणी थियो- अब विशु देउवाको पुच्छर भयो ! विशु सकियो !’ मलाई समेत चित्त बुझेन ! गृहमन्त्री भएर पहिलोपटक झापा आउँदा देउवा हप्काउने समुहको सदस्य तिमी आज देउवासँगै उभिन पुगेको छौ ! सुधारको प्रयत्न गर्नु है’ भन्दै शुभकामना दिन भ्याएको थिएँ मैले !
विशुले प्रवक्ताको भूमिका कुशलतापुर्वक निभायो ! देउवाको ऱ्याल-सिंगान सबै ब्यवस्थापन ग¥यो ! महाधिवेशनमा महामन्त्रीको आकाङ्क्षी विशु देउवासँगै होला भन्ने आशा त्यसबेला निरासामा बदलियो जब झापाली सकुनीचालबाट देउवाको मष्तिष्कमा खोरेत प्रवेश गऱ्यो र, विवेकशून्य बनाइदियो ! सेवाको बदला तिरस्कार भेट्यो विशुले ! पानीमा डुबेको मान्छेले परालको त्यान्द्रो पनि सखुवाको मुडो देख्छ ! विशुले पनि प्रकाशमान नामकोको परालको त्यान्द्रो सखुवाको मुडो देख्यो र अडेस लाग्न पुग्यो ! चक्रब्युह तोड्ने मन्त्र आमाकै गर्भमा सुनेको थियो कि क्या हो ?! विशु चक्रब्युह तोड्दै ‘निर्वाचित महामन्त्री’ हुन पुग्यो ! नेताको मनोनयन भन्दा शुभचिन्तकको मनोयन दर्बिलो भन्ने सावित भो ! कल्पना भन्दाबाहिरको स्नेह विशुलाई प्राप्त थियोे ! ‘अर्को भोट गगनलाई’को उदारभावले विशुलाई उचाइमा पुऱ्यायो ! खोरेत काङ्ग्रेसपीडित पूर्वकाङ्ग्रेस भक्ति सिटौलाको प्रतिक्रिया थियोे- ‘विशुलाई मेरै हालतमा पुऱ्याउलान् भन्ने त्रास थियोे ! धन्न पुड्के जोगियो !’ भक्ति सिटौलाको यो प्रतिक्रियाभित्र विशुप्रतिको अपार स्नेह लुकेको थियो जो मुटुले मात्रै बुझ्थ्यो थुतुनोले हैन !
संसदीय निर्वाचनको रौनक सुरुसँगै विशुको तेस्रो टिकटयात्रा अनि खोरेत काङ्ग्रेस समुहको विशु–हराउ अभियानको ह्याट्रीक तयारीका लागि सल्बलाउनु खोरेत शास्त्रीय धर्म नै थियो ! त्यो धर्मग्रन्थ बर्णनतिर लाग्दा निकै ठूलो काव्य नै तयार हुन्छ ! विशेषतः एमालेभित्रको घात-अन्तर्घात थाँती राख्ने हो भने विशुको यसपटकको विजययात्रामा सहानुभूति मत प्रमुख रह्यो ! दक्षिणी भाइरससँग लड्दै सामान्य मतदातादेखि आफ्नो क्षेत्रका घाँसपराल/ढुङ्गामाटो/गाईगोरु/राँगाभैँसी सबैलाई सालिनतापूर्वक ढोग्दै हिँडेको विशुलाई अकल्पनीय स्नेही मतप्राप्तिले हारको ह्याट्रीकबाट जोगाउँदै विजयमाला पहिऱ्यायो !
अब… कक्षा ८ बाट स्कुल सभापतिको पदीय राजनैतिक यात्रा सुरु गरेको फुच्चे विशु मुलुकको संसदीय सर्वोच्च थलो संसद् भवन प्रवेश गर्ने ‘माननीय विश्वप्रकाश शर्मा’ हुनुभो ! अगाध स्नेह पाएको विशु ‘माननीय विश्वप्रकाश’ भएपछि विशु हराएको अनुभूति धेरैलाई हुन थालेको छ ! विशुले पाएको मायालु मत पछाडि मेची नगर मात्र हैन देश विदेशमा रहेका लाखौँ मन सामेल छन् भन्ने कुरा गत महाधिवेशन र संसदीय निर्वाचनमा प्रत्यक्ष देखिएको कुरो माननीय महामन्त्री तथा माननीय विश्वप्रकाशले महसूस नगरेको गुनासो बढ्दैछ !
फुच्चे विशु बयस्क विश्वप्रकाश भएपछि मेचीनगरको घेराबाट निस्कन नसकेको हो या नचाहेको हो ? अन्योल छ ! विश्वप्रकाशको घेरा साँघुरिने क्रम उहाँलाई मुलुकभरिको महामन्त्री मान्ने शुभचिन्तक काङ्ग्रेसका लागि चिन्तको विषय बन्दैछ ! कर्फोक कलेजमा भेटिनुभएका भेषराज गड्तौलाको ‘हाम्रो आशाको दियो त्यै गगन र विशु हुन् ! जसरी पनि जोगाउनुपर्छ है’ भन्ने आत्मीय आग्रहरूपी चिन्ता एउटा आँशुको थोपो हो ! दुई ट्राक्टर बोल्डर बाटोमा खन्याउँदा होस् या केही रकम निकासा गराउँदा ‘विश्वप्रकाशको पहलमा’ लेख्ने चम्चाको स्टाटसमा रमाइलो मान्ने घातक रोगबाट माननीय टाढा बस्नुपर्छ भन्ने आम आग्रहसमेत छ । हल्दारले चोर समाउदा माला लाइदिनु र नेताले विकाशका काम गर्दा जयजयकार चिच्याउनु एकै प्रकृतिका नाटक हुन् !
फोन नउठाउने उहाँको खतरनाक रोग सबैका लागि चिन्ताजनक छ ! विशुको बानी नै त्यस्तै छ भनेर अब किन चित्त बुझाउन सकिन्न भने- बालक विशुले कुनैबेला काखमा गथ्र्यो भनेर बयस्क विश्वप्रकाशलाई छोप्न सकिन्न ! जिल्ला कोषाध्यक्ष नियुक्तिमा विश्वप्रकाशले काङ्ग्रेस विधानमाथि ‘सु’ गरेको चर्चा अहिले व्यापक छ ! मनोनित महामन्त्रीले विगतमा गरेको काङ्ग्रेस दुर्गतिबाट आक्रान्त झापा काङ्ग्रेस निर्वाचित महामन्त्रीबाट भएको त्रुटिपूर्ण कार्यबाट झनै आक्रान्त भएको धेरैको गुनासो छ ! निर्वाचित महामन्त्रीको फोटोको आशमा रहेका झापाली काङ्ग्रेस मनोनित महामन्त्रीको फोटोकपी पो पाइयो कि ? भन्ने चिन्तामा छन् !
कोषाध्यक्ष नियुक्तिमा विधान मिचिएको सम्बन्धमा जिल्लाका वरिष्ठ काङ्ग्रेसको आक्रोश थियो- ‘तपाईंकै विशेले विधान मिचेर नियुक्तिका लागि थेवे उचाल्यो ! अस्ति केन्द्रिय बैठकमा बुढाथोकीले हप्काउँदा केही बोलेन… मुसुमुसु हाँसेर बस्यो ! सुधार्ने नै हो भने मेचीनगर सुधार्नुस् ! सबै सुध्रिन्छ ! ‘वरिष्ठको तर्क सही होला तर महामन्त्रीले उचाल्दैमा उचालिने कस्तो सभापति ?’
तर पनि उनको शब्दबाण ‘तपाईंको बिशे’ चसक्क भो ! जसरी कुनै समय ‘तेरो किस्ने’ सुन्दा हुन्थ्यो ! हामी झापालीले गर्व गर्ने कुरा काङ्ग्रेस इतिहासमा दुई महामन्त्री पाएका छौँ ! तर यहाँका खोरेत काङ्ग्रेसले त्यो मौका कहिल्यै दिएनन् ! K+ र B+ को पर्खाल बोकेर बसेका छन् ! K+ भनेको कृष्ण सिटौला र B+ भनेको विश्वप्रकाश रे ! पार्टी हितका काम गर्दा कृष्णका पनि हुन्छन् विशुका पनि हुन्छन् ! पार्टी हितविपरीत गर्दा दुवैका हुन्नन् केवल पार्टीका हुन्छ्न भन्ने कुरो गुटको भाइरस बोकेर बसेका खोरेत काङ्ग्रेसले कसरी बुझुन् ? कुनै गुट-उपगुट नहेरी निष्ठा बोकेर गुणदोषका आधारमा आलोचनाको पानीका साथ सुद्वताको आग्रह बोकेर चिच्याउने काङ्ग्रेस पनि छन् भन्ने कुरा काङ्ग्रेसलाई नगदेवाली बनाउँदै नेतालाई खोयोले मलद्वार पुछ्ने सल्लाह दिने खोरेत काङ्ग्रेसलाई के थाहा ?
कुनै समय आलोक कार्यालयअघि उभिएको र भित्र पस्न लजाउने लजालु विशु ! घर–परिवारको राजनैतिक संस्कार र शिष्टताबाट दीक्षित अनि लाखौँको मन मष्तिष्कमा बस्दै राजनैतिक उँचाई चढ्दै गरेको विशु ‘माननीय विश्वप्रकाश’ भएपछि कतै नहराओस् भन्ने आम भावनाको प्रतिनिधि पात्र भएर यति आग्रह गर्दैछु कि- जबर्जस्ती ‘विश्वप्रकाशको मान्छे’ बनाइदिएका छन् खोरेत काङ्ग्रेसले ! B+ को ट्याग भिराइदिएका छन् ! ‘तेरो विशे’ भन्दा चसक्क हुने मौका नआओस् ! ‘तेरो विशे’ भन्दा मुसुक्क हुने सौभाग्य प्राप्त होस् !
विगतमा धेरै कुटिलता भोगियो अब पुग्यो ! म आजको ‘माननीय विश्वप्रकाश/महामन्त्री विश्वप्रकाश’ भित्र विधि-विधानका साथ काङ्ग्रेस हाँक्ने र काङ्ग्रेसलाई साँच्चै काङ्ग्रेस बनाउने कुटिलतारहित शालिन विशु खोज्दैछु ! मेरो हराएको विशु कहीँ-कसैले भेट्नुभएमा खबर पाउँ ! भेटको ब्यग्र प्रतीक्षामा छु !
प्रतिक्रिया